फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमनले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्वक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरू भए त्यसलाई फुकाइ सरलीकृत गर्नसमेत सरोकारवालाहरूलाई सुझाव दिएको थियो ।
सो समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरूसँग अन्तरक्रिया गरी राय लिएको र सबैले केबलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
यसै विषयमा केन्द्रित रहेर शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ऊक्त केबलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरूसँग अन्तरत्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबलकार बन्ने चर्चामात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए ।
उनीहरूले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवासीहरूले प्रत्यक्ष लाभ लिन सक्ने यस आयोजना तत्कालै अघि बढाउनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए ।
सो अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य लीलादेवी बोखिमले आफ्ना घरआँगनमै यति ठूलो लगानीको आयोजना आउँदा स्थानीय नागरिक नै अघि सरेर आयोजनालाई सफल बनाउनुपर्ने भन्दै केबलकार निर्माणको काममा अब ढिला गर्न नहुने बताए ।
उनले राज्य आफैले अर्थात् तीनै तहको सरकारले लगानी गरेर केबलकार परियोजना निर्माण गर्न नसक्ने बताउँदै लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने मात्र नभई आवश्यक सहयोग गर्नुपर्ने धारणा राखे ।
ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताए । उनले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताए ।
त्यसैगरी, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताए । व्यक्तिगत स्वार्थ र पुराना सोच राखेर अहिले विकास निर्माणका कामलाई कसैले पनि अवरोध गर्न नहुने उनको भनाइ थियो ।
त्यसैगरी, नेपाली कांग्र्रेसका जिल्ला सभापति गजेन्द्र तम्याङ, नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सदस्य बमबहादुर भट्टराई, फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझालगायतले स्थानीयका माग र उनीहरूका सुझावहरूलाई समेटेर एक साझा सहमति बनाई आयोजना निर्माणको काममा ढिला गर्न नहुने धारणा राखे ।
उता पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने केबलकार निर्माणको काम सुरु भएपछि १३ महिनाभित्रै परियोजना सम्पन्न गरिसक्ने बताए ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालको दाबी थियो ।
।
पाथीभरा केबलकार कोशी प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ ताप्लेजुङवासीलाई लाभ हुने भए पनि यो आयोजनाले कोशी प्रदेशलाई नै लाभ पुग्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकास लगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने दाबी पनि गरे ।
केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबलकार निर्माण गर्न नहुने बताउँदै आएको छ । समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताए ।
कस्तो बन्दै छ केबलकार ?
कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काˆलेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्ने छ ।
मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए ।
मुख्य स्टेसनबाट १० मिनेट २० सेकेण्डमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिनेसमेत पौडेलले जानकारी दिए । केबलकारका लागि १३ वटा टावर निर्माण हुने र सो केबलकारमा ४५ वटा डब्बा रहने पौडेलले बताए ।
View : 235
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved