Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

संघीय शिक्षा ऐन चाँडो आउनुपर्छ : मुख्यमन्त्री

उद्‌घोष सम्वाददाता
१४ पुष २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय शिक्षा ऐन चाँडो आउनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको शिक्षा व्यवस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले संघीय सरकारले कानुन छिटो नबनाउँदा शिक्षा क्षेत्रलाई अघि बढाउन कठिनाई भइरहेको बताए ।

‘प्रदेशले कानुन बनाउनु पर्दा सात दिनमा बनाउन सक्छ तर संघले सात बर्षमा पनि सक्दैन, किन हो ? म छक्क पर्छु’ मुख्यमन्त्री कार्कीले भने– ‘संघले चाँडै कानुन बनाउ लाग्नुपर्छ, व्यवधानलाई हटाउन पहल होस् ।’

मुख्यमन्त्री कार्कीले राजनीतिक नेतृत्वले ‘सबै हुन्छ’ भन्ने गरेको तर कर्मचारीले विभिन्न बहाना देखाएर पन्छिने प्रवृत्तिले प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो गरे । जसका कारण सरकारले काम गरेपनि समयमा परिणाम आउन नसकेको बताए ।

कतिपय अवस्थामा सरकार र कर्मचारीको विषय अदालतमा पुग्ने र ती मुद्दा मामिला अदालतमा लामो समय अड्किने गरेको उनले बताए । 

सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधारमा सवैले गम्भीर भएर काम गर्नुपर्ने बताए । मुख्यमन्त्री कार्कीले विद्यालयहरू मर्जर गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘विद्यालय मर्जरको नीतिको लागि राजनीतिक क्षेत्रले बोल्नु पर्छ, किनकी कतिपय ठाउँमा राजनीतिक क्षेत्र नै बाधक छ’ मुख्यमन्त्री कार्कीले– ‘अब राजीनीतिक क्षेत्र लागौं बोलौं ।’

कार्यक्रममा संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्नसके शिक्षामा सुधार गर्न सकिने बताइन् । उनले अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिने बताइन् ।

मन्त्री भट्टराईले संघीय शिक्षा ऐन छलफलको प्रक्रियामा अघि बढी सकेको जानकारी दिंदै आगामी अधिवेशनबाट ऐन आउनेमा आशावादी हुन आग्रह गरिन् । उनले शिक्षा क्षेत्र समस्याग्रस्त भएकोले कानुन आवश्यक रहेको र त्यसैका लागि कानुन बनाउन खोजिएको बताइन् । 

कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई र शिक्षा सचिव दिपक काफ्ले, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा लगायतले संघीय शिक्षा ऐन निर्माणको सन्दर्भमा आफ्ना धारणा राखेका थिए ।

View : 62

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved