Biratnagar, Morang, Nepal
१० असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मृतक सहायक हवल्दारको परिवारलाई सशस्त्रका सहकर्मीको सहयोग

उद्‌घोष संवाददाता
९ असोज २०८३, शुक्रवार

मृतक खड्काको परिवारलाई सहयोग गर्दै सहकर्मी । तस्वीर : उद्घोष

Advertisement

विराटनगर । सडक दुर्घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका सहायक हवल्दार सुदीपकुमार खड्काका छोराछोरीको शिक्षादीक्षाका लागि उनका सहकर्मीले आर्थिक सहयोग गरेका छन् ।

मोरङको बूढीगंगा गाउँपालिका–४ प्रगतिटोल निवासी खड्का सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण हेडक्वार्टर सिन्धुपाल्चोकमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) स्वर्णपट्टि, सप्तरीमा कार्यरत रहेका बेला तीजका दिन सडक दुर्घटनामा परेका थिए । 

उनका छोराछोरीका लागि सहकर्मीले २ लाख ८८ हजार ८ सय ९९ रुपैया नगद सहयोग गरेका छन् ।

खड्कासँगै २०६६ फागुन १८ गते सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका २१९ ब्याचका सहकर्मी तथा अन्य सशस्त्र प्रहरी कर्मचारीले आपसमा रकम संकलन गरी खड्काको परिवारलाई हस्तान्तरण गरेका छन् ।

संकलित रकम खड्काकी श्रीमती सपना खड्कालाई हस्तान्तरण गरिएको सहकर्मी सहायक हवल्दार दिपेन्द्र खड्काले बताए ।

सहकर्मीहरूले खड्काको निधनपछि उनका छोराछोरीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरेका थिए । 

खड्काका छोरी सन्दीपा र छोरा बेनिस छन् । उनीहरूको शिक्षादीक्षा तथा भविष्यका लागि उक्त रकम उपयोग गर्ने जनाइएको छ ।

तीजका दिन साझ कार्यालयको कामका लागि सप्तरीबाट मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गर्दा बूढीगंगा–४ नेमुवा चोकस्थित कोशी लोकमार्गमा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले खड्कालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका खड्काको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

View : 27

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved