Biratnagar, Morang, Nepal
१५ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

१५ दिनभित्र औद्योगिक ग्राम सञ्चालनको खाका ल्याउन निर्देशन

धनकुटा औद्योगिक ग्रामका अध्यक्षलाई कारवाही गर्ने मुख्यमन्त्री कार्कीको चेतावनी

१३ चैत २०८०, मङ्गलवार

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटा औद्योगिक ग्रामका अध्यक्षलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार औद्योगिक ग्रामको अवलोकनका लागि पुगेका मुख्यमन्त्री कार्कीले आगामी ६ महिनाभित्र औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन समेत निर्देशन दिएका हुन् । उनले खाका नल्याए अध्यक्ष तिलक महतलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको उनले बताएका छन् । 

औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा हाल लघु उद्योग सञ्चालनमा रहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार ती लघु उद्योगमा स्यानिटरी प्याड र खाद्यान्न सामग्रीहरू उत्पादन भएपनि कम परिमाणमा उत्पादन भइरहेको जानकारी दिएका छन् ।

मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजिविकामा सहजता हुने बताए । उनले औद्योगिक सञ्चालनका लागि सम्बन्धित सरोकारवालालाई आवश्यक निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री कार्कीले भने, ‘स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’

ग्राम स्थापनाको ५ वर्ष बितिसक्दा समेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने जनाइएको छ ।

View : 71

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved