विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले शिक्षा संकायतर्फ स्नातक तह (बीएड) मा विशेष आवश्यकता शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
दक्षिण कोरियाली सरकारको लुपिक परियोजनाको सहयोगमा सञ्चालित विशेष आवश्यकता शिक्षा (एसएनई) का विद्यार्थीहरुलाई क्याम्पसले प्रत्येक वर्षको छात्रवृत्ति रकम एकमुष्ठ वितरण गरेको हो ।
लुपिक परियोजनाका प्रमुख प्राध्यापक डाक्टर जोङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकहरुसँग अन्तरक्रिया समेत गरेका छन् ।
अन्तरक्रियामा प्राध्यापक जोङले विशेष आवश्यकता शिक्षा कार्यक्रम चार वर्षसम्म सफलतापूर्वक सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै क्याम्पसलाई बधाई ज्ञापन गरे ।
विद्यार्थी तथा प्राध्यापकहरुको पृष्ठपोषणका आधारमा कार्यक्रमलाई निरन्तरता दिने या नदिने विषयमा लुपिक परियोजनाले निर्णय गर्ने प्राध्यापक जोङले जानकारी दिए ।
पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायका डीन प्राध्यापक रामप्रसाद ढकालले विशेष आवश्यकता शिक्षालाई व्यवहारिक र अभ्यासमा आधारित शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
क्याम्पस प्रमुख तथा निर्देशक यज्ञप्रसाद जमरकट्टेलले परियोजनालाई निरन्तता दिनुपर्नेमा जोड दिए ।
पूर्व क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौलाले कोरियामा उच्च प्रविधि र उपकरणबाट विशेष आवश्यकता शिक्षा दिने गरेको बताउदै विशेष आवश्यकता शिक्षाको अध्यापन उच्चप्रविधि र उपकरणले मात्र प्रभावकारी हुने उल्लेख गरे ।
पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका सहायक प्रधानाध्यापक तथा विशेष आवश्यकता शिक्षामा अध्ययनरत भूपाल खवासले सिकाइलाई प्रभावकारी बनाउन उपकरण तथा प्रविधिको व्यवस्था गर्न विश्वविद्यालय र क्याम्पस प्रशासन समक्ष माग गरे ।
अर्की विद्यार्थी नितु मेहताले कोरिया भ्रमणमा धेरै कुरा सिक्न पाएको भन्दै लुपिक परियोजना र क्याम्पसलाई धन्यवाद दिइन् ।
पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले शिक्षा शास्त्र अन्तर्गत स्नातक तहमा विशेष आवश्यकता शिक्षा अध्यापन गर्दै आएको छ ।
क्याम्पसले शिक्षा शास्त्रका अतिरिक्तकला संकाय अन्तर्गत स्नातक सामाजिक कार्य (बीएसडब्लू) र स्नातकोत्तर तह (एमएसडब्लू) को अध्यापन गराउँदै आएको छ ।
यसका साथै एक वर्षे मनोविज्ञान परमर्श र एक वर्षे बीएडसमेत क्याम्पसले अध्यापन गराउँदै आएको छ । जनसंख्या तथा विकास केन्द्र अन्तर्गत स्नातकोत्तर तहको जनसंख्या तथा स्वास्थ्य अनुसन्धानको अध्यापन गराउँदै आएको छ ।
View : 9
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved