Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

दशकपछि विराटनगरमा ग्याङ फाइट

ठेक्का कब्जा गर्ने वा कर छली गर्ने ब्यापारीलाई धम्याउने समूह (ग्याङ) हरु बीच ठूला झडप हुन छाडेको विराटनगरमा धेरै भएको थियो । दस वर्षपछि सोमबार राति विराटनगरमा ग्याङ फाइट हुँदा रातभर भयो । दुई ग्याङमा संलग्नहरुको खोजीका क्रममा राति १८ जना प्रहरीको नियन्त्रणमा आएका थिए ।
कमल रिमाल
८ जेठ २०८१, मङ्गलवार

ग्याङले राती फुटाएको ढोका बाहिर साह दम्पती । तस्वीर: उद्घोष

Advertisement

विराटनगर । विभिन्न भोजहरुमा खाना र टेण्ट व्यवस्थापन गर्ने बब्लु साहको परिवार बस्ने घरको कोठाको ढोकामा एक समूहले बलपूर्वक प्रहार गर्‍यो । ६ र ८ वर्षका दुई छोरी र श्रीमतीका साथमा रहेका साहले ज्यान बचाउंन होहल्ला गरे । दुई छोरी कपडाले जीउ छोपेर लुके भनें श्रीमानश्रीमती ढोका भित्रबाट ठेल्न नसकेर गह्रौ  वस्तु थुपार्न थाले ।

२० जना जतिको संख्यामा आएको समूहका केहीले उनी बसेको विराटनगर–७ हाटखोलास्थित एक घरको कोठामा सोमबार राति पौने १२ बजे वल प्रयोग गरेर भित्र प्रवेश गर्ने प्रयास गरेका थिए । जोडिएको घर वडा सदस्य गीता विश्वकर्माको भएकाले उनले माथिल्लो तलाबाट ग्याङलाई मोबाइल फोनमा रेकर्ड गरिन् । समूहले उपद्रो मचाई रहँदा प्रहरीको भ्यानसँगै रहेको देखिए पनि प्रहरीको भूमिका देखिएको छैन ।

ठेक्का कब्जा गर्ने वा कर छली गर्ने ब्यापारीलाई धम्याउने समूह (ग्याङ) हरु बीच ठूला झडप हुन छाडेको विराटनगरमा धेरै भएको थियो । दस वर्षपछि सोमबार राति विराटनगरमा ग्याङ फाइट हुँदा रातभर भयो । दुई ग्याङमा संलग्नहरुको खोजीका क्रममा राति १८ जना प्रहरीको नियन्त्रणमा आएका थिए । घटनामा संलग्न नभएको प्रमाणित भएपछि मंगलबार १४ जना छुटेका छन् । 

नेपाल प्रहरीको सादा पोशाकमा रहेर १५ वर्ष विराटनगरमा बसेका एक पूर्व प्रहरीले भने–‘यस्तो ग्याङ फाइट विराटनगरमा रोकिएको १०, १२ वर्ष भएको थियो ।’ उनले प्रहरीको कमजोरीका कारण टोले गुण्डाहरु झुण्ड बनाएर अपराध गर्न थालेको स्विकार गरे । नाम उल्लेख नगर्ने सर्तमा उने भने– ‘गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरे पनि कारवाही नगरी छाड्न थालिएकाले उनीहरु डन बन्न थालेका छन् ।’

होटलले उब्जाएको बिवाद

सोमबार बेलुका एक समूह विराटनगर–४ एयरपोर्ट लाइनको सिंहासन होटल हातामा पुगेर बिवाद गरेको थियो । होटलका कर्मचारी राहुल सहनीलाई हाटखोलामा रहेको दिब्यरत्न होटलका अंकित लिम्बू नाम गरेका युवाले पेस्तोल देखाएको हल्ला फैलिएपछि एक समूह राति लिम्बूको खोजीमा हिंडेको समूहले अरुको घरमा प्रवेश गरेर तोडफोड गर्यो । 

पेस्तोल देखाएको आरोप लागेका लिम्बूले प्रयोग गर्ने मोटरसाइकल नाला किनारमा रोकिएको पाइएकाले समूहले एउटा घरमा प्रवेश गरेर तोडफोड गरेको थियो । करिव १० वटा मोटरसाइकलमा आएको २० जना जतिको समूह प्रहरीको भ्यानसहित हाटखोला पुगेर लिम्बूको खोजी गर्ने क्रममा उपद्रो गरेको बताइएको छ । 

समूहले कांशी अग्रवालको घरमा बस्ने बब्लु साहको परिवार सुतेको कोठाको ढोका फुटाउने क्रममा भित्रको चुकुल भत्कियो ।

‘मलाई मार्न आएका रहेछन् भनेर श्रीमान श्रीमती मिलेर ठूलो बाकस र अरु सामान ढोकाभित्र राखेर ठेलेका थियौं, छोरीहरु कपडा ओढेर लुकेका थिए’ साहले भने–‘माओवादीको आन्दोलन देखियो, मधेशको आन्दोलन भोगियो, खुकुरी तरवार, बन्दुक बोकेर आएको यस्तो घटना मेरो परिवारमा भयो, मेरो हातखुट्टा चलेको छैन ।’ उनले ढोका फुटेको भए सो समूहले आफ्नो परिवारलाई नै मार्ने अवस्था रहेको बताए ।

प्रहरीकै सामुन्ने हतियार बोकेको समूहले तनाव गरे पनि सुरक्षाकर्मीप्रति कुनै विश्वास नभएको उनको भनाई छ । जोडिएको वडा सदस्य विश्वकर्माको घरमा रहेको सुनौलो यातायात सेवा प्रालीको कार्यालयमा पनि तोडफोड गरेको थियो । सो यातायातका इञ्चार्ज प्रकाश कार्कीले आफू र यातायात सेवाप्रति कसैको बिवाद नभएपछि ढोका फुटाइएको बताए । 

‘विराटनगरमा ग्याङ फाइट बन्द भएको थियो, धेरै पछि यस्तो घटना भयो’ विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारीले भने–‘परिवारसहित घर बाहिर हिंड्न असुरक्षित हुने अवस्था आयो, अवस्था धेरै पहिलोको जस्तो डर लाग्दो देखियो ।’ प्रहरीकै अगाडि ठूलो समूह आएर वडा सदस्यको घरमा आक्रमण हुँदा पनि सुरक्षाकर्मीले तत्काल कारवाही गर्न नसकेको उनले बताए ।

वडा सदस्य विश्वकर्माको घर अगाडि लिम्बूले मोटरसाइकल रोकेर भागेकाले सोही घरमा लुकेको भन्दै ग्याङले ढोकाहरु फुटाएका थिए । सिंहासन होटलका संरक्षक कर्ण रायामाझीले उधारो खाएको रकम माग गर्ने कर्मचारीलाई एक समूहले खुकुरी प्रहारको प्रयास गर्दै पेस्तोल देखाएपछि बिवाद भएको थियो । प्रहरीका अनुसार दिब्यरत्न होटल र सिंहासन होटल दुबैतर्फबाट ग्याङ फाइट गर्ने सात जना बिरुद्ध मुद्धा चल्दैछ ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले दुई समूह बीच भएको बिवादमा संलग्नको खोजीका क्रममा १८ जनालाई नियन्त्रणमा लिएर संलग्न बाहेक १४ जनालाई छाडिएको बताए ।

पक्राउ पर्नेमा छिरिङ शेर्पासहित चार जना छन् भनें लिम्बूसहित तीन जनाको प्रहरीले खोजी गरिरहेको छ । दुई समूहबीच पुरानो रिसिईवीका कारण झडप भएको उपरीक्षक कार्कीको भनाइ छ ।

View : 14226

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved