विराटनगर । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला समिति मोरङ तथा महानगर समिति विराटनगरले संस्थागत रूपमा उपभोक्ताका ज्वलन्त समस्याहरू र तिनको समाधानका लागि जिल्लाका विभिन्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ।
मञ्चको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिकाका प्रमुख तथा उपप्रमुख र अन्य सम्बन्धित कार्यालयका प्रमुखहरूले उठाइएका कतिपय विषयहरू पहिल्यैदेखि कार्यान्वयनको क्रममा रहेको र बाँकी समस्याहरू पनि चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
विशेष गरी नजिकिँदै गरेका चाडपर्वको मुखमा हुन सक्ने उपभोक्ता हित विपरीतका गतिविधिहरूलाई निरुत्साहित गर्न बजार अनुगमन र कारबाहीलाई थप प्रभावकारी बनाउने तथा अनुगमन कार्यमा मञ्चसँग सहकार्य गरेर अघि बढ्ने विषयमा समेत सकारात्मक छलफल भएको छ।
सो कार्यक्रम उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष मेघराज श्रेष्ठ र पूर्व उपाध्यक्ष केदार कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो। ध्यानाकर्षण पत्र हस्तान्तरण तथा छलफलमा जिल्ला अध्यक्ष तारानाथ भट्टराई, उपाध्यक्ष नन्दराज गिरी, जिल्ला सचिव डिल्लीप्रसाद धिमाल, कोषाध्यक्ष अन्जुश्री श्रेष्ठ, महानगर अध्यक्ष बोधराज घिमिरे र नगर कोषाध्यक्ष सुधा अर्यालको सक्रिय संलग्नता थियो।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved