विराटनगर । महिला जनप्रतिनिधिहरूले पालिका तथा वडामा आफूहरूको गन्ती नै नहुने गुनासो गरेका छन् ।
दलित महिला केन्द्र नेपालद्वारा आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै महिला जनप्रतिनिधिहरूले त्यस्तो गुनासो गरेका हुन् । कार्यक्षेत्रमा पुरुष प्रतिनिधिको प्रभाव रहेको भन्दै उनीहरूले जनताको विश्वास जितेर पनि निर्वाचित महिला जनप्रतिनिधि ओझेलमा परेको गुनासो गरे ।
सि लिड्स नेतृत्व कार्यक्रमद्वारा आयोजित महिला जनप्रतिनिधि र पक्रकारहरूबीच अन्तर्त्रियामा बोल्दै दुहवी वडा नं १२ की वडा सदस्य ललिता चौधरीले आफूहरू चुनावमा जितेर आएपछि वडा सदस्यको जिम्मेवारी के हो भन्नेबारे राम्रोसँग ज्ञान भएपनि महिलाले जिम्मेवारी बहन गर्न सक्दैनन् भन्ने परम्परागत सोचले वडाबाट नै जिम्मेवारी नदिएका कारण आफूहरूले काम गर्न नपाएको गुनासो पोखिन् ।
‘वडामा हामी वडा सदस्यको जिम्मेवारी के हो, काम के हो त्यो हामीलाई राम्रोसँग थाहा छ,’ चौधरीले भनिन्, ‘तर महिला सदस्य भएकै कारण अरुले गरेको निर्णयमा हस्ताक्षर गर्नबाहेक अरु कुनै भूमिका नै देखिदैन ।’ महिला भएकै कारण गरिने त्यस्ता ब्यवहारले आफूलाई काम गर्न निकै हतोत्साहित बनाएको उनले बताइन् ।
आफू कार्यकक्षमै रहँदा अध्यक्ष र प्रमुख प्रशासकीयलगायत पुरुष प्रतिनिधिहरूको बैठक हुने तर आफूलाई जानकारी नै नहुने उनले गुनासो गरिन् । खोटाड हलेसी तुवाचुङ नगरपालिकाकी सदस्य गमिता राईले आफूहरूको पहलमा भएका हरेक कार्यक्रमहरू सफल बनाउनका लागि सहयोग गर्नुको सट्टा जहिले पनि रोक्न खोज्ने प्रवृति भएको बताइन् ।
पालिकामा प्रमुख र उपप्रमुख अलग पार्टीबाट निर्वाचित भएका कारण समेत एक अर्काबीचको तालमेल नहुने र काम गर्न गाह्रो हुने गरेको अनुभव उनले सुनाइन् । कार्यक्रममा सहभागी अधिकांश महिलाहरूले सि लिड्स कार्यक्रमले महिला जनप्रतिनिधिहरूलाई बोल्न सक्ने बनाएको बताएका थिए ।
उनीहरूले सोही परियोजनाले सञ्चालन गरेको तालिमका कारणबाट आफूहरूले वडा कार्यालय तथा नगरपालिकामा आफ्नो अधिकार खोज्न तथा आफ्नो कर्तव्य पूरा गर्न सक्ने भएको साथै आफनो अधिकार नपाएको खण्डमा विद्रोह गरेर समेत अधिकार पाएको बताएका थिए । महिला जनप्रतिनिधिहरूले आफूले भोग्नुपरेको चुनौतीबारे खुलेर बोलेका थिए ।
View : 186
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved