विराटनगर । विराटनगर–५ स्थित ब्राइट भिजन ल कलेजमा आयोजित ‘मूटकोर्ट’ अर्थात नमूना अदालत प्रतियोगिता बी भी एल सी ८१७ समूहले जितेको छ ।
शनिबार कलेजको सभाहलमा आयोजित फाइनल स्पर्धामा मुद्दाको प्रतिवादी पक्ष भएर बहस गरेका रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतमको समूहले उपाधि जितेको हो । उनीहरूले नगद १२ हजारसहित ट्रफी उचालेका छन् ।
त्यस्तै उन्नती पौडेल, स्वस्तिका रेग्मी, दीपिक्षा बस्नेत र अर्पणा राउतले मुद्दाको वादी पक्षमा बहस गरेका थिए । उनीहरूले दोस्रो हुँदै नगद ७ हजार र ट्रफी जितेका छन् ।
प्रतियोगितामा आमोद वस्ती, सञ्जय घिमिरे, कविता पौडेल र रोजेन्स्की पोखरेलको समूह तेस्रो भएको थियो । तेस्रो हुने समूहले नगद ४ हजार र ट्रफी जितेको हो ।
प्रतियोगितामा २५ वटा टोलीबाट १०० जना विद्यार्थीले बहस नोटसहित समुहगत प्रतिष्पर्धा गरेका थिए । जसमध्ये उत्कृष्ट बहसकर्ता प्रतिष्ठा पोखरेल घोषित भइन् । नगद ४ हजारसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई ट्रफी हस्तान्तरण गरेका छन् ।
कानुन अध्यापन गराउन कलेज भएकोले विद्यार्थीलाई कानुनको व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यका साथ कलेजले दोस्रो ‘मुटकोर्ट’ प्रतियोगिता आयोजना गरेको हो ।
गत बर्षदेखि सुरु भएको यस प्रतिष्पर्धामा कानुन अध्ययन गर्ने विद्यार्थीहरूले कुनै एक अभियोजनमा वादी र प्रतिवादी समुहमा विभाजित भएर मुद्दाको कानुनी उठान र न्यायिक निरुपण गर्ने गर्दछन् ।
दोस्रो मुलकोर्टमा विद्यार्थीले सुनकाण्ड सम्बन्धि एउटा काल्पनिक मुद्दा सिर्जना गरी संगठित अपराध सम्वन्धी कसुरको अभियोजन तयार गरी त्यसैमा पक्ष विपक्षमा बहस नोट गरेका हुन् ।
मुटकोर्टको अन्तिम प्रतिष्पर्धाको बहस नोटको मूल्याङ्कन उच्च अदालत विराटनगरका न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय, रमादेवी पराजुली र प्रकाश खरेलले गरेका थिए ।
प्रतिष्पर्धा अवलोकन गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू पनि कानुनको विद्यार्थी भएको तर, धेरै अभ्यास नगरेको बताउँदै बदलिंदो शिक्षाका कारण अहिलेका विद्यार्थीहरूको अध्ययन क्षमतामा ठूलो सुधार आएको महसुस भएको बताए ।
कोशी प्रदेशकै सामाजिक विकासमन्त्री गीता तिम्सिनाले कलेजले कानुनका दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
कलेजका प्राचार्य वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले मुटकोर्टले अदालतको अनुशासन कायम गर्न मद्दत गर्ने बताए । उनले विद्यार्थीमा सिर्जनात्मक सोच र विश्लेषणात्मक सोचको समेत विकास गरेको बताए ।
प्रतियोगितामा वीएएलएलवीको पाँचवटा सेमेष्टरका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा व्यवस्थापनमा संलग्न विद्यार्थी मनिष सिग्देलले जानकारी दिए ।
View : 78
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved