विराटनगर । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योगी, व्यवसायी तथा निजी विद्यालयका छाता संगठनहरूलाई आफ्ना मातहतका प्रतिष्ठानमा कार्यरत श्रमिक, शिक्षक तथा कर्मचारीलाई कानुनबमोजिम चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन निर्देशन दिएको छ ।
विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूलाई पत्राचार गरेको हो ।
श्रम ऐनको दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था छ ।
विभागले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गर्दै आफ्ना आबद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन र श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
त्यस्तै, विभागले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई पनि पत्राचार गरेको छ ।
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न विभागले छुट्टै पत्राचार गरेको जनाएको छ ।
विभागको यस कदमले निजी क्षेत्रका उद्योग, व्यवसाय तथा शैक्षिक संस्थामा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीले कानुनले सुनिश्चित गरेको चाडपर्व खर्च प्राप्त गर्ने व्यवस्था कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
View : 21
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved