Biratnagar, Morang, Nepal
२८ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

डिला संग्रौलाको राजनीतिक छलाङ, विराटनगरको वडादेखि महामन्त्रीसम्म

उद्‌घोष संवाददाता
२७ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विराटनगरकी डा डिला संग्रौला पार्टीको पहिलो महिला महामन्त्री बनेकी छन् । महिलाका लागि छुट्टै महामन्त्री पद सिर्जना भएपछि भएको प्रतिस्पर्धामा उनले महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पराजित गरिन् ।

महिलातर्फ डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरिन्  भने रीता खनालले ८०४ मत पाइन् ।

कांग्रेसले विधान संशोधन गरी महिलाका लागि महामन्त्रीको छुट्टै पद व्यवस्था गरेपछि संग्रौला यो जिम्मेवारीमा पुगेकी हुन् । यसअघि उनी पार्टीको केन्द्रीय सदस्य, नेपाल महिला संघकी अध्यक्ष र सहमहामन्त्री भइसकेकी छन् ।

महामन्त्री निर्वाचित भएपछि संग्रौलाले नयाँ जिम्मेवारीले आफूलाई थप उत्तरदायी बनाएको बताइन् । ‘पहिलो महिला महामन्त्रीको रूपमा निर्वाचित हुन पाउँदा म निकै खुसी छु र यसले ममा अझ ठूलो जिम्मेवारी थपिएको महसुस गराएको छ,’ उनले भनिन्, ‘आफूले पाएको यो जिम्मेवारीलाई पार्टी र देशहितका पक्षमा लगाउन दत्तचित्त रहनेछु ।’

महाधिवेशनमा युवा, विज्ञ, पेसाकर्मी, महिला, अपाङ्गता भएका व्यक्ति र विभिन्न जातजातिका प्रतिनिधिबीच प्रतिस्पर्धा हुनुले कांग्रेसले सबै वर्गका सवाल समेटेर अघि बढ्ने सन्देश दिएको उनको भनाइ छ ।

२०२० जेठ १२ गते दाङको घोराहीस्थित टेरौटेमा जन्मिएकी संग्रौला विद्यार्थी जीवनदेखि नै राजनीतिमा आकर्षित थिइन् । उनका बुवा टीकादत्त पन्त र आमा विद्यावती पन्त शिक्षक थिए । १० सन्तानमध्ये माइली छोरी उनी २०३६ सालको जनमत संग्रहका बेला कक्षा ९ मा पढ्दै थिइन् । 

त्यतिबेला दाङमा बहुदलको पक्षमा आयोजित सभामा कांग्रेस नेताहरूको स्वागतमा खटिएकी थिइन् । सो सभामा बीपी कोइराला, गणेशमान सिंह र शैलजा आचार्यलगायत नेता सहभागी थिए ।

विद्यालयको पढाइपछि महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएकी उनी त्यहीँबाट नेपाल विद्यार्थी संघमा आबद्ध भइन् । 

विद्यार्थी संगठनमा सक्रिय हुँदै जाँदा कांग्रेसका नेता र पार्टी संगठनसँग उनको सम्पर्क बढ्यो ।

त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयमा स्नातकोत्तर गरेपछि उनले २०५१ सालमा विराटनगरको कन्या क्याम्पसमा आंशिक अध्यापन सुरु गरिन् । पछि महेन्द्र मोरङ क्याम्पसमा स्थायी उपप्राध्यापक बनिन् । उनले स्नातकोत्तर क्याम्पसमा समेत पढाइन् ।

प्राध्यापनसँगै अनुसन्धानमा सक्रिय संग्रौलाले ‘विराटनगरका वैष्णव सम्प्रदायहरू’ विषयमा विद्यावारिधि गरिन् । 

नेपाल प्राध्यापक संघमा विभिन्न जिम्मेवारी सम्हालेकी उनी महिला अधिकार, चेलीबेटी बेचबिखनविरुद्धका अभियान र असहाय तथा सीमान्तकृत समुदायका पक्षमा हुने सामाजिक गतिविधिमा पनि संलग्न भइन् ।

विराटनगर आएपछि कांग्रेसको स्थानीय संगठनमा सक्रिय भएकी उनले २०४४ सालतिर क्रियाशील सदस्यता पाइन् । महिला संघको स्थानीय नेतृत्वमा रहेर काम गरेकी उनी २०४६ सालको जनआन्दोलनमा विराटनगरका सभा र र्यालीमा सहभागी भइन् । 

त्यसपछि वडा, नगर र जिल्ला तहका संगठनमा जिम्मेवारी सम्हाल्दै पार्टी राजनीतिमा अघि बढिन् । 

२०५३ सालमा सम्पन्न कांग्रेसको नवौँ महाधिवेशनदेखि उनी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका रूपमा केन्द्रीय राजनीतिसँग जोडिइन् । 

२०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीले समानुपातिक उम्मेदवार बनाउने निर्णय गरेपछि उनले विश्वविद्यालयको स्थायी जागिर छाडिन् । तर, उनी संविधानसभा सदस्य बन्न सकिनन् ।

स्थायी जागिर छाडेपछि पनि पार्टी राजनीतिमा सक्रिय रहेकी संग्रौलाले २०६७ सालको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गरिन्, तर निर्वाचित हुन सकिनन् ।

२०६८ माघ २१ गते कांग्रेसले उनलाई नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको अध्यक्ष बनायो । 

संघको संगठन विस्तार र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएकी उनले २०७३ भदौ २९ देखि ३१ गतेसम्म संघको तेस्रो राष्ट्रिय महाधिवेशन गराइन् । त्यसपछि नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरिन् ।

२०७२ सालको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी संग्रौला २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनिन् । 

संसद्मा कांग्रेसको प्रतिनिधित्व गरेकी उनले तत्कालीन सरकारका कामको निगरानी गर्न पार्टीले गठन गरेको छाया सरकारमा पनि जिम्मेवारी सम्हालिन् ।

२०७८ सालको १४औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बनेकी उनी पार्टीभित्र नेतृत्व परिवर्तन र महाधिवेशनको पक्षमा उभिइन् । शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरूको एउटा समूहले आमनिर्वाचनअघि महाधिवेशन गर्नुपर्ने माग उठाउँदा उनी पनि त्यसमा सहभागी थिइन् ।

गत वर्ष पुसमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बने । 

प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री निर्वाचित हुँदा संग्रौला महिला क्लस्टरतर्फ सहमहामन्त्री बनिन् । त्यही राजनीतिक यात्रालाई अघि बढाउँदै १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेकी उनी पार्टीको पहिलो महिला महामन्त्री बन्न सफल भइन् ।

नयाँ जिम्मेवारीसँगै उनले पार्टीका सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताएकी छन् । 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको योगदानको चर्चा गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउन देउवाले अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

‘मेरो आदरणीय नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मेरो आस्था र विश्वासको धरोहर हुनुहुन्छ, जसको लोकतान्त्रिक आन्दोलन र पार्टी निर्माणमा रहेको योगदानलाई कांग्रेस र नेपाली भूमिले कहिल्यै बिर्सने छैन,’ उनले भनिन्, ‘उहाँसहितका नेताहरूलाई पार्टीमा समेटेर उहाँले अभिभावकीय भूमिका निर्वाह गरेर पार्टीलाई एकताबद्ध बनाउन योगदान दिने विश्वास छ ।’ 

सभापति गगन थापाले पार्टीका सबै पक्षलाई समेट्न गरेको प्रयासमा साथ दिने बताउँदै संग्रौलाले कांग्रेसलाई एकजुट बनाएर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

View : 56

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved