Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

बालेन्द्र सरकार फासीवादतर्फ अग्रसर

हरि काफ्ले
२८ वैशाख २०८३, सोमवार

सामाजिक सञ्जालमा नकारात्मक तथ्य प्रयोग गरेर अल्गोरिदम प्रणालीमार्फत नेपाली जनताको मस्तिष्कलाई भ्रमित गरेर उदाएको जन–अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन्द्र शाह नेतृत्वको सरकार पारदर्शिता र सुशासनको नाममा फासीवादतर्फ अग्रसर भएको छ ।

बहुमत जनमतको आडमा एक सम्प्रदाय, जात, संस्कार र संस्कृतिमाथि निर्मम दमन वा नरसंहार गर्ने काम नै फासीवाद हो । जहाँ ऐन, नियम, कानुन, संविधानलगायत सबै लोकतान्त्रिक मूल्य, मान्यता एवं अन्तर्राष्ट्रिय अभिसन्धिजस्ता कुनै पनि कुराको पालना गर्नु यस्तो सरकारले आफ्नो कर्तव्य ठान्दैन ।

केवल आफ्नो शक्ति देखाउन सबै खुद्रा र मसिना कमजोरीलाई ठूलाठूला अपराधका रूपमा व्याख्या गर्दै आफ्नो फासीवादी राज्यसत्ता मजबुत गर्नतर्फ अग्रसर हुन्छ ।

दोस्रो विश्वयुद्धमा जर्मनीका हिटलरले पनि पहिलो विश्वयुद्धमा पाएको दण्ड यहुदीहरूको कारणले भएको भन्दै व्यापक प्रचारप्रसार गरेर २२ लाख मानिसलाई क्रेनले पेलेर कत्लेआम गर्दा पनि बहुमत जनमत हिटलरकै समर्थनमा थियो ।

त्यो घटना विश्वराजनीतिक इतिहासमा कारुणिक र सबैभन्दा कालो दिनका रूपमा चित्रित छ ।

नेपालमा सुकुम्बासी हुने र बन्ने प्रक्रियाको लामो शृङ्खला छ । यसको सत्यतथ्य र तथ्याङ्कको वस्तुपरक अध्ययन, अनुसन्धान र विश्लेषण नगरी कुनै निष्कर्ष निकाल्न र निदान गर्न सकिँदैन ।

विगतका सरकारहरूले पनि सुकुम्बासी समस्या समाधान गर्ने प्रयत्न नगरेका होइनन् ।

तर, फरक कति हो भने विगतका सरकारहरूले देशको ऐन, कानुन, नियम र संविधान एवं अन्तर्राष्ट्रिय कानुन, अभिसन्धि र प्रोटोकलको सीमाभित्र रहेर समाधान खोज्ने प्रयत्न गरेका थिए ।

अहिलेको सरकारले ती सबै पक्षलाई बेवास्ता गर्दै सुकुम्बासीका नाममा प्रोपोगान्डा चलाएर मानवीय मूल्य–मान्यताको अवमूल्यन गर्दै काठमाडौं उपत्यकाभित्र डोजर लगाएर ती श्रमजीवी मजदुरका बासस्थान खण्डहर बनाएको छ । सार्वजनिक विद्यालय, मठमन्दिर, चैत्य र गुम्बाको अवस्था तथा स्थापनाको वास्ता नगरी डोजर चलाएको छ ।

त्यहाँबाट उठाइएका ती संरचनाहरूको स्थापनाको इतिहास के छ भन्ने कुराको सामान्य अध्ययनसमेत नगरी डोजर चलाइएको छ ।

त्यहाँबाट उठाइएका सुकुम्बासीहरूलाई इचङ्गुनारायणको अपार्टमेन्ट र कीर्तिपुरको अमुक ठाउँमा राखिएको कुरा बाहिर आएको छ ।

यस स्तम्भकारले विभिन्न व्यक्तिहरूलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा बन्देज लगाइएको छ भने सरोकारवाला व्यक्तिहरूलाई समेत भेटघाट गर्न दिइएको छैन ।

यो फासीवादको उत्कृष्ट नमुना हो । यस्तो अमानवीय व्यवहार सहन नसकी दुईजना सुकुम्बासीले आत्महत्या गरिसकेका छन् । प्रेसर, सुगर र किड्नीका बिरामीहरूको चित्कार विभिन्न भिडियो फुटेजहरूमा आइरहेको छ । सुत्केरी महिला र नाबालकहरूको रोदन र चित्कार हेर्न सकिने अवस्थामा छैन ।

एकद्वार प्रणालीबाट राजस्व वृद्धि गर्ने सुनौलो नाराका साथ भारतीय नाकाबाट दैनिक उपभोग्य वस्तु किनमेल गर्ने सीमावर्ती उपभोक्तालाई लक्षित गरी सय रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार शुल्क लगाइएको छ ।

सुन्दा लोकप्रिय लागे पनि यसले नेपाल र भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक र जनस्तरको वैवाहिक सम्बन्धलाई बेवास्ता गरेको छ । विवाहमा प्राप्त उपहारलाई समेत करको दायरामा ल्याउने काम गरिएको छ ।

दुईतिहाइको जनमत देखाएर तराई मूलका नागरिकको संस्कार, संस्कृति र सम्बन्धमाथि धावा बोलिएको छ । परराष्ट्र सम्बन्धलाई ‘बफर स्टेट’बाट ‘म्याभेरिक स्टेट’मा बदल्ने घोषणा गरेर दुवै छिमेकी मुलुकलाई शत्रु राष्ट्र करार गर्न खोजिएको छ ।

नेपालको परराष्ट्र नीतिमा असंलग्नता छोड्दै देशलाई एकध्रुवीय विश्व व्यवस्थातर्फ लैजान प्रयत्न गरिएको छ । यो अवस्थालाई बेलैमा लगाम नलगाउने हो भने नेपाल युक्रेन बन्ने पक्का छ ।

राजनीतिमा संस्कारले देश कता जाँदैछ भनेर दिशानिर्देश गर्दछ । ईर्ष्या, आक्रोश, नकारात्मक भ्रम, स्टन्टबाजी र चटकी व्यवहारले राज्य मजबुत बन्न सक्दैन । अहिले अर्को फन्डा प्रयोग गरिएको छ । हिउँदे अधिवेशन आह्वान गरी पुनः स्थगित गरेर अध्यादेशको ओइरो लगाई राष्ट्रपतिसमक्ष पठाइएको छ ।

साथै, सामाजिक सञ्जालको व्यापक दुरुपयोग गर्दै राष्ट्रपतिले ती अध्यादेश अनुमोदन नगरे महाभियोग लगाउनेसम्मका प्रचार तीव्र पारिएको छ ।

राष्ट्रपति संस्था हो, व्यक्ति होइन भन्ने सामान्य ज्ञानसमेत नभएका रास्वपा र तिनका समर्थकलाई सुकुम्बासीका बारेमा रवि लामिछाने र बाँकेतिरका सुनार सांसदको भिडियो हेर्न अनि सत्यतथ्य बुझेर मात्र समर्थन वा विरोध गर्न उचित हुने कुरा भन्न चाहन्छु । सामाजिक सञ्जालबाट फैलिएको त्रासबीच छाएको यो मुर्दा शान्ति हो ।

२४ गते देश खरानी बनाएर सत्तासीन भएको दलप्रति नेपाली जनताको त्रास अझै हटिसकेको छैन । यही समय उपयुक्त देखेर बालेन्द्र शाहको सरकारले राज्य आतंक सुरु गरेको छ । सुकुम्बासी बस्तीमा डोजर चलाउनेदेखि लिएर नागरिकको संगठित हुने, भेला हुने र संगठन गर्ने अधिकारमाथि अध्यादेशमार्फत बन्ध्याकरण गर्नेसम्मका काम भएका छन् । अहिले देश आँधीबेहरी आउनुभन्दा अगाडिको सुनसान अवस्थामा छ ।

मलाई पटकपटक मानसिक यातना दिने तथा फोनमा फोहोर गालीगलोज गर्ने 'रविना नेपाल' र 'कान्छी' नामक फेसबुक आईडीबाट मेरा लेख र धारणाप्रति लगातार अश्लील गालीको वर्षा भएको छ ।

म चुनौतीका साथ सौहार्दपूर्ण छलफल गर्न ती दुवै ‘महान्’ नारीहरूलाई आह्वान गर्न चाहन्छु । तपाईंहरू सत्यतथ्य खोज्ने र सिक्ने कि समाजमा अश्लील शब्द प्रयोग गरेर यसलाई विघटन र विखण्डनतर्फ लैजाने ? यसको जवाफ मजस्ता विवेकशील वर्ग, समुदाय र समाजलाई दिनुपर्छ ।

देशमा आगो लगाएर सत्तासीन भएका रहस्यमय पात्रको ठेकेदार बनेर सबैतिर रेबिज लागेको जनावरले जस्तै आक्रमण गर्दा, हिजो देश जलाउनेहरू र त्यसका स्टन्टबाजहरूलाई नेपाली जनताले जिउँदै जलाउने दिन नआउला भन्न सकिन्न ।

सत्ताको उन्मादमा अरूको अस्तित्वलाई गलत भाष्य निर्माण गरी समाप्त पार्ने कार्यले देश, जनता, लोकतन्त्र, समाज, सामाजिक सद्भाव, स्नेह, समान पहिचान, संस्कार र संस्कृति सबै समाप्त गर्दैछ ।

साम्राज्यवादले आफ्नो पश्चिमा भण्डार प्रयोग गर्न नेपाललाई उपयुक्त स्थल छनोट गरेको कुरा भदौ २४ गते टीओबी ज्याकेटमा मच्चाएको वितण्डाले नै पुष्टि गरिसकेको छ ।

रविना नेपाल र मगर्नी कान्छीहरूले साम्राज्यवादको खुराकी भेटेका छैनन् भने संयमित र सभ्य भएर आफ्नो अभिव्यक्ति राख्न मेरो अनुरोध छ । फासीवादको उत्कृष्ट नमुनाका रूपमा देखिएका यी नायिकाहरूको लेखाजोखा अब लेखिने इतिहासले पक्कै छोड्नेवाला छैन । होसियार !

फासीवादको गन्तव्यविहीन यात्रा सुरु गरेको बालेन्द्र शाह नेतृत्वको सरकार सेनामार्फत सुकुम्बासीको लगत लिने र सेनालाई विवादमा मुछेर अमुक दाताको आशीर्वाद पूरा गर्न 'अमेरिकन युथ काउन्सिल' विस्तार गर्दै नेपाली विद्यार्थी संगठनलाई प्रतिबन्ध गर्नेतर्फ अग्रसर हुनु 'काग कराउनु, बाख्रा हराउनु' जस्तै हो ।

विरोध र प्रतिरोधको खिचडी पाकिरहेको यो मौन अवधिलाई फासीवादले नजरअन्दाज गरेको छ । भविष्यमा उठ्ने प्रतिरोध, विद्रोह र जनसंघर्षले यसलाई पक्कै अपदस्थ गर्नेछ ।

(लेखक काफ्ले नेकपा संयुक्तका मधेश प्रदेश इन्चार्ज हुन् ।)

View : 178

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved