Biratnagar, Morang, Nepal
१० फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

लेटाङ खेलकुद महोत्सव सम्पन्न, १३ वर्षदेखि ९१ वर्षसम्मका ५ सय बढी खेलाडी सहभागी

उद्‌घोष सम्वाददाता
८ फागुन २०८१, बिहिवार

लेटाङ । लेटाङ नगरपालिकाको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम लेटाङ नगरपालिका स्तरीय खेलकुद महोत्सव २०८१ बुधबार सम्पन्न भएको छ । जनसेवा खेल मैदानमा विशेष समारोहकाबीच खेलकुद महोत्सवमा विजेता हुने खेलाडीहरुलाई ट्रफी तथा पुरस्कार वितरण गर्दै खेल महोत्सवको समापन गरिएको हो ।

लेटाङ नगरपालिका उपप्रमुख तथा नगर खेलकुद विकास समिति संयोजक कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको पाँच दिने खेल महोत्सवमा विभिन्न खेलमा विजयी खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

खेलकुद महोत्सवमा १३ वर्ष मुनिका बालबालिकादेखि ९१ वर्षका जेष्ठ नागरिकको समेत सहभागीता रहेको जनाइएको छ । 

नगर प्रमुख भूपेन्द्र कुमार लावती, विशिष्ट अतिथि पूर्व नगरप्रमुख शंकर राई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्ण्ुाप्रसाद सुवेदी लगायतले विजेता खेलाडीहरुलाई टीका लगाएर ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लावतीले नगरपालिकामा खेल क्षेत्रको विकासका लागि पहिलो प्रयास स्वरुप खेलकुद महोत्सव सुरु गरिएको बताए । उनले यसवर्ष भएका कमजोरीलाई सच्याउँदै आउँदो बर्ष अझ व्यवस्थित तरिकाले नगर खेलकुद महोत्सव सञ्चालन गर्ने जानकारी दिए ।

उपप्रमुख निरौलाले यसवर्ष संचालन गरिएको नगर खेलकुद महोत्सव सोचेभन्दा सफलतापूर्वक सम्पन्न भएको बताइन् । उनले खेलकुद महोत्सवको बृहत समिक्षा गरेर अर्को वर्षका लागि बेलैदेखि तयारी गर्ने पनि जानकारी दिए । 

उनले लेटाङलाई खेलकुदको हब बनाउने उद्देश्यले खेलकुद महोत्सव सञ्चालन गरिएको बताए । साथै आगामी बर्षदेखि अन्तरपालिका स्तरीय खेलकुदका गतिविधि समेत सञ्चालन गर्ने बताए ।

लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले नगर खेलकुद महोत्सवले विविध क्षेत्रमा सकरात्मक प्रभाव पारेको बताए । खेलकुद महोत्सवले विद्यार्थी र खेलाडीहरूमा उत्साह जगाएको, प्रतिभाको पहिचान गराएको, स्वस्थ्य समाजको निर्माण तथा लागुपदार्थ दुव्र्यसनलाई नियन्त्रण गर्न सहयोग गरेको र समग्र खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याएको उनले बताए ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका पूर्व नगर प्रमुख शंकर राईले नगरपालिकामा खेल क्षेत्रको विकासका लागि अझ धेरै काम गर्न आवश्यक रहेको बताए । यस्तै फुटबलका पूर्व राष्ट्रिय खेलाडी अभिषेक लिम्बुले खेलकुद महोत्सव सञ्चालन गरेर नगरपालिकाले सह्रानीय काम गरेको बताए । 

खेल क्षेत्रको विकासका लागि नगरस्तरीय रंगशाला निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, संचारकर्मी लगायतको पनि उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नगर खेलकुद महोत्सवलाई सफल बनाउन विभिन्न भूमिकामा रहेर सहयोग गर्ने व्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरिएको थियो । खेलकुद महोत्सवमा समावेश गरिएका सबै खेल विधाका फोकल पर्सन, रेफ्री, खेल मैदान उपलब्ध गराउने संघसंस्था, स्वयंसेवक लगायतलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

यसैबीच, समापन समारोह अघि भएको फुटबल खेलको फाइनल खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ३ लाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि जित्न सफल भएको जनाइएको छ ।

वडा नम्बर ६ लाई जित दिलाउने क्रममा जर्सी नम्बर १७ का अनिल राई, जर्सी नम्बर ८ का अनिष लिम्बु र जर्सी नम्बर ३० का खगेन्द्र लिम्बूले १–१ गोल गरेका थिए । 

नगर स्तरीय खेलकुद महोत्सवमा महिला भलिवल, पुरुष भलिवल, पुरुष फुटबल, क्रिकेट, व्याडमिन्टन, चेस, बाघचाल, टेवल टेनिस र छात्र–छात्रा दुवैतर्फको अण्डर–१३ मा तीन किलोमिटर म्याराथुन दौड प्रतियोगितासहित ९ वटा विधाका खेल सम्पन्न भएको जनाइएको छ ।

View : 153

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved