प्रकाशकीय
उद्घोष दैनिकले आज भदौ २ गतेबाट १९ औं वर्षको अविछिन्न यात्रा पूरा गरेर २० औं वर्षमा टेक्दैछ । ०६१।०६२ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, महाभूकम्प, संविधान जारी हुँदाको कठिन अवस्था, कोभिड महामारी आदि संकटहरू झेल्दै यो पक्रिकाले यहाँसम्मको यात्रा तय गरेको छ ।
१९ औं यात्राकै त्रममा देशबाट राजतन्त्र समाप्त भएर देश गणतन्त्रमा प्रवेश गर्यो । संविधानसभाले तयार गरेको संविधान २०७२ साल असोज ३ गते जारी भएसँगै देशले संघीय लोकतान्त्रिक गणतन्त्र अंगिकार गर्यो । तर, राजनीतिक स्थिरता भने आउन सकेको छैन । राजनीतिक ठिक ठाउँमा नपुगुञ्जेलसम्म देशले समृद्धिको बाटो समाउन सक्दो रहेनछ । त्यसको नकारात्मक प्रभाव सबै क्षेत्रमा पर्ने हुँदा पत्रकारिताको अवस्था पनि राम्रो रहेन । तर, अनेकौं हण्डर खाएर पनि हामीले अहिलेसम्म उद्घोष दैनिकलाई बँचाएर यहाँसम्म हिँडाउन सफल भएका छौं ।
संकटमा जन्मिएकाले नै संकटको सामना गर्न सक्दो रहेछ भन्ने उदाहरण उद्घोष दैनिक आफैं हो । प्रजातान्त्रिक शासन व्यवस्थाको दमन गर्न तम्सिएको राजतन्त्रको जगजगीको समयमा जन्मिएको यो पत्रिकाले राजतन्त्रकालीन संकटकाल पनि झेल्यो । त्यसपछिका अनेकौं संकटलाई झेल्न सफल भयो । यो पत्रिकाले बाल्यकाल र किशोरावस्था पनि पार गरिसकेको छ । अबको चुनौति भनेको सूचना प्रविधिको क्षेत्रमा आएको तीब्र परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढ्न सक्नु हो । हामी त्यसको सामना गर्न पनि तयार छौं ।
अबका दिनमा पनि ऐतिहासिक जनआन्दोलनका उपब्धीहरूको रक्षा गर्दै जनअधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रताको पक्षमा हामी निरन्तर रूपमा लागिरहने छौं । आजसम्म हामीलाई माया गर्नु हुने लेखक, पाठक, विज्ञापनदाताहरू सबैको माया निरन्तर रूपमा रहोस् । हामीले कतै बाटो विराउन खोज्यौं भने हामी माथि पनि निरन्तर खबरदारी रहिरहोस् ।
View : 326
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved