रंगेली । विश्व शिक्षक दिवसको अवसरमा मोरङको रंगेलीमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरिएको छ ।
‘शिक्षक सम्मानित भए, शिक्षा बलियो हुन्छ, शिक्षा बलियो भए, राष्ट्र समृद्ध हुन्छ’ भन्ने मूल नाराका साथ चाँदनी फाउन्डेसनले रंगेली नगरपालिका सभाहलमा कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा सहभागी विद्यार्थीले शिक्षकको भूमिका, शिक्षाको महत्व, राष्ट्र निर्माणमा शिक्षाको योगदान तथा विद्यार्थीको जिम्मेवारीलगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुलकी श्रेया कार्की प्रथम भइन् । मिनिल्याण्ड बोर्डिङ स्कुलकी साञ्ची निरौला द्वितीय, पब्लिक उच्च माध्यमिक विद्यालयका भास्कर साह तृतीय र माउन्ट मकालु बोर्डिङ स्कुलकी जानवी मण्डल सान्त्वना भए । वि
जेता विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा रंगेली नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी १५ विद्यालयका विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक संघ रंगेलीका अध्यक्ष लक्ष्मी मेहताले शिक्षा र शिक्षकको सम्मान समाजको विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।
विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूको अभिव्यक्ति क्षमता, आत्मविश्वास र नेतृत्व सीप विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष प्रमेश्वरप्रसाद साहले बताए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य निशा श्रेष्ठ, चिरञ्जीवी काफ्ले, मनोजकुमार साह, जयनारायण साह, अभिषेक अधिकारी तथा विभिन्न विद्यालयका शिक्षक–शिक्षिकालगायतको उपस्थिति थियो ।
सो अवसरमा सेवानिवृत्त ३ जना शिक्षकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेमा वीरेन्द्रकुमार साह, लक्ष्मी मेहता र सत्यनारायण साह रहेका छन् ।
View : 56
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved