कोशी प्रदेशको स्वास्थ्य सूचकाङ्कमा यौन तथा प्रजनन स्वास्थ्यको पाटो अत्यन्तै महत्त्वपूर्ण देखिएको छ । पछिल्लो समय सुरक्षित गर्भपतन सेवाको प्रयोगमा देखिएको सहभागिता र परिवार नियोजनका आधुनिक प्रविधिको विस्तारले महिला स्वास्थ्यमा सकारात्मक संकेत देखाएको छ ।
यद्यपि, भौगोलिक विषमता, सामाजिक सोच र अल्पसंख्यकहरूको अधिकारका सन्दर्भमा अझै धेरै काम गर्न बाँकी देखिन्छ ।
कोशी प्रदेशमा परिवार नियोजनको वर्तमान अवस्था
कोशी प्रदेशका १४ वटै जिल्लामा परिवार नियोजन सेवाको पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तीन वर्ष (आर्थिक वर्ष २०७९–८०, २०८०–८१ र २०८१–८२) को तथ्याङ्कले प्रदेशभर ४८ हजार ८२२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
जसमा २० वर्ष मुनिका ३ हजार २५७ छन् ।
जसले महिलाहरूमा आफ्नो शरीर र स्वास्थ्यप्रतिको निर्णय लिने क्षमता बढेको पुष्टि गर्छ । तर, परिवार नियोजनका स्थायी र अस्थायी साधनहरूको प्रयोग दर भने अझै पनि अपेक्षित रूपमा बढ्न नसकेको छैन । शहरी र ग्रामीण क्षेत्रबीचको उपलब्धतामा रहेको खाडल नै अहिलेको मुख्य चुनौती रहेको तथ्याङ्कले नै देखाउँछ ।
कोशी प्रदेशमा पछिल्लो आव २०८१–८२ मा कुल १६ हजार ५५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएकामा सबैभन्दा बढी सुनसरी जिल्लाको ३ हजार ७५४ र दोस्रोमा झापा ३ हजार ६३७ जना छन् । दुवै प्रदेशका सुगम जिल्ला हुन् । यस्तै सबैभन्दा कम सुरक्षित गर्भपतन सेवा लिनेमा ओखलढुंगाको ११२ जनाको मात्र रहेको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मुकुन्द दाहालले बताए ।
सो अवधिमा ताप्लेजुङ ४३८ जना, संखुवासभा ८६२, सोलुखुम्बु २६३, खोटाङ २४९, भोजपुर ३४९, धनकुटा ५००, तेह्रथुम ६०४, पाँचथर १०१४, इलाम ११८७, मोरङ २८८२ र उदयपुर ७०२ जना महिलालले सुरक्षित गर्भपतन सेवा लिएको दाहालले बताए ।
दूर–परामर्श र दूर मातृशिशू सेवाको नयाँ अभ्यास
प्रविधिको विकाससँगै कोशी प्रदेशमा दूर–परामर्श सेवाको अवधारणा सुरूवात भएको छ । विशेष गरी दुर्गम क्षेत्रका महिला, जो लाज वा सामाजिक डरका कारण स्वास्थ्य संस्थासम्म पुग्न हिचकिचाउँछन्, उनीहरूका लागि टेलिफोन वा इन्टरनेटमार्फत दिइने परामर्शले काम गरेको छ ।
कोशी प्रदेश अन्तर्गतको स्वास्थ्य निर्देशनालयले व्यक्तिलाई भन्दा पनि स्वास्थ्य संस्थालाई अहिले दूर परामर्श सेवा दिइरहेको छ । ती स्वास्थ्य संस्थाले अति आवश्यक परेका महिलालाई दूर–परामर्श सेवा दिएको छ । दूर परामर्श सेवालाई अभियानकै रूपमा लैजानु पर्ने महसुस भएको बताइएको छ ।
निर्देशनालय मातहतका कोशी प्रदेशका १४ जिल्ला र १३७ पालिकामा रहेका सरकारी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्र गरी कूल एक हजार ४२० वटा स्वास्थ्य संस्था रहेका र ती सबैमा सुरक्षित मातृत्व कार्यक्रम लागू गरिएको छ ।
सो अनुसार ती स्वास्थ्य संस्थाहरूले गर्भवती सेवा र सुत्केरीपछिको जटिल अवस्थाका सेवाहरू समेत दिइरहको छ जस्ले गर्दा गर्भवती अवस्थामा विज्ञको सल्लाह पाउ“दा जोखिम कम भएको छ । सुत्केरीपछिको जटिलता व्यवस्थापनमा यसले मद्दत गरिरहेको छ । यो सेवालाई अझ व्यवस्थित र सरकारी संयन्त्रभित्र पूर्ण रूपमा एकीकृत गर्नुपर्ने देखिन्छ ।
कोशी प्रदेशका किमाथांका, घुन्सा, ओलाङचुङगोलामा पनि स्वास्थ्य संस्था भएकोले त्यहाँ पनि सुरक्षित मातृत्व तथा परिवार नियोजनको सेवा रहको निर्देशनालयले जनाएको छ ।
संवेदनशील जनसंख्याका लागि पहुँच र उपलब्धता
कोशी प्रदेशका सीमान्तकृत, विपन्न र दुर्गम क्षेत्रका बासिन्दा (विशेष गरी पहाडी जिल्लाहरू) अझै पनि गुणस्तरीय परिवार नियोजन सेवाबाट टाढा छन् । किशोर–किशोरी र युवा वर्गमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारीको अभावले ‘अनिच्छित गर्भधारण’ को जोखिम कायमै छ । निर्देशनालयको तथ्याले २० वर्ष मुनिका किशोरीहरूमा पनि गर्भपतनको दर उल्लेख्य देखाउनुले यौन शिक्षा र साधनको पहुँचमा अझै ठूलो मेहनत गर्नुपर्ने सन्देश दिएको छ ।
सुरक्षित गर्भपतन र अल्पसंख्यकको अधिकार
नेपालको कानुनले सुरक्षित गर्भपतनलाई अधिकारको रूपमा स्वीकार गरे पनि कार्यान्वयनमा संवेदनशीलताको अभाव देखिने गरेको सुनिन्छ । त्यस्ता समुदायका व्यक्तिहरूले प्रजनन स्वास्थ्य सेवा लिंदा भोग्नुपर्ने विभेद र असहजतालाई हटाउनका लागि स्वास्थ्य निर्देशनालयले प्रयास गरिरहेको छ ।
उनीहरूका लागि ‘मैत्रीपूर्ण स्वास्थ्य सेवा’ र गोपनीयताको सुनिश्चितता आजको आवश्यकता भएकोले ु सुरक्षित गर्भपतन केवल एक चिकित्सा प्रक्रिया मात्र नभई यो महिला र अल्पसंख्यकहरूको मानवअधिकारसँग जोडिएको विषय भएकोले त्यसतर्फ स्वास्थ्य संस्थाहरूले संवेदनशील भएर कार्य गरिरहेको जनाइएको छ ।
कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा अन्तर्गत पछिल्लो आर्थिक वर्ष २०८१–८२ मा १६,५५३ जनाले सेवा लिएकामा त्यसमा जातिगत रूपमा लिनेमा दलित १५०७ जना, जनजाति ८१६०, मधेशी १३२३, मुस्लिम ५६५, बाहुन ३९०४ र अन्य १०९४ छन् ।
परिवार नियोजनमा राष्ट्रिय लगानी र दिगोपन
परिवार नियोजन र प्रजनन स्वास्थ्यमा गरिने लगानी वास्तवमा भविष्यको जनशक्तिमा गरिने लगानी भएकोले राष्ट्रिय तथा प्रादेशिक बजेटमा परिवार योजनाको व्यवस्थापन गरिदै आएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
परिवार नियोजनको सट्टा परिवार योजनाको रूपमा निर्देशनालयले कार्य गर्दै आएको बताउँदै बस्नेतले भने ‘अहिले परिवार योजनाको रूपमा सन्तानलाई व्यवस्थित बनाएर लैजाने हो ।’
निर्देशनालयले परिवार योजनाको कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जनाइएको छ । औषधि र साधनको खरिदमा मात्र नभई स्वास्थ्यकर्मीहरूको क्षमता विकास, आधुनिक प्रविधिको जडान र जनचेतना अभिवृद्धिमा सरकारी लगानी केन्द्रित गरेको छ ।
कोशी प्रदेशमा परिवार नियोजन सेवालाई केवल ‘बच्चा जन्माउन रोक्ने’ माध्यमका रूपमा मात्र नहेरी यसलाई ’स्वस्थ समाज निर्माण’ को आधारको रूपमा लिएकोले परिवार व्यवस्थापनलाई जोड दिएको छ ।
टेलिमेडिसिनको विस्तार, अल्पसंख्यकहरूको अधिकार संरक्षण र दुर्गममा सेवाको विकेन्द्रीकरणले मात्रै कोशी प्रदेशलाई प्रजनन स्वास्थ्यमा नमुना बनाउनका लागि सबै १४२० स्वास्थ्य संस्थाले सेवा दिइरहेको छन् ।
यसका लागि निजी स्वास्थ्य संस्था, सरोकारवाला निकाय, नागरिक समाज र सञ्चारकर्मीहरूको एकीकृत प्रयासले नै ‘सुरक्षित मातृत्व र प्रजनन अधिकार’ लाई वास्तविक अर्थमा सार्थक तुल्याउने देखिन्छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेशमा परिवार नियोजनाको लागि काम गर्दै गएको र सो अनुसार सचेतना पनि बढेका बताए । अस्थायी साधनको रूपमा आयूसीडी, डिपोप्रोभेरा तीन महिने सुईको बढी प्रयोग भैरहेको छ । अस्थायी साधनको सवालमा माग अनुसार पु¥याउन नसकिएको उनले बताए ।
कोशी प्रदेशमा परिवार नियोजन संघद्वारा ४ लाखभन्दा बढी यौन तथा प्रजनन स्वास्थ्य सेवा
परिवार नियोजन संघले कोशी प्रदेशका पाँच जिल्लामा सन् २०२४ मा ४ लाख ३७ हजार १२८ यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गरेको छ । धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा सञ्चालन भएका कार्यक्रममार्फत ठूलो संख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
उपलब्ध तथ्यांकअनुसार सबैभन्दा धेरै गर्भनिरोधक सेवा लिनेको संख्या १ लाख २४ हजार ४३ पुगेको छ । त्यस्तै, स्त्रीरोगसेवा ६९ हजार ९५७ र प्रसूति सेवा ६० हजार ५४६ जनाले लिएका छन् ।
एचआईभी र एड्स सम्बन्धी सेवातर्फ पनि उल्लेखनीय सहभागिता देखिएको छ । एचआईभी र एड्स सेवा अन्तर्गत ३४ हजार ५६८ सेवा प्रदान गरिनुका साथै एचआईभी ¥यापिड टेस्ट १ हजार २७६ जनामा गरिएको छ । यस्तै, ओरल प्रि–एक्सपोजर प्रोफाइलेक्सिस सेवा ३२ जनाले प्राप्त गरेका छन् ।
महिलाको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै गर्भाशय मुखको क्यान्सरको परीक्षण ७ हजार ५५३ जनामा गरिएको परिवार नियोजन संघले जनाएको छ । सुरक्षित गर्भपतन सेवा अन्तर्गत ११ हजार ३४७ सेवा प्रदान गरिएकोमा औषधीय गर्भपतन १ हजार १८६ र म्यानुअल भ्याकुम एस्पिरेशन (एमभीए) ८१० रहेको छ ।
यसका साथै, बालरोग सेवा ४४ हजार ८९५, एसटीआई सेवा ५८ हजार ५४३, विशेषीकृत सेवा १७ हजार ८०४, मुत्ररोग सम्बन्धी सेवा १३ हजार ५५३ तथा सब–फर्टिलिटी सेवा १ हजार ८६२ जनालाई प्रदान गरिएको छ ।
परिवार नियोजन संघले ग्रामीण तथा शहरी क्षेत्रमा समान पहुँच पु¥याउने लक्ष्यसहित सेवा विस्तार गर्दै आएको र आगामी दिनमा पनि गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवामा जोड दिइएको छ ।
मोरङमा पाँच वर्षमा ५ लाखभन्दा बढी यौन तथा प्रजनन स्वास्थ्य सेवा
परिवार नियोजन संघ, मोरङ शाखाले पछिल्लो पाँच वर्षमा यौन तथा प्रजनन स्वास्थ्य सेवामा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । परिवार नियोजन संघ मोरङका वरिष्ठ अधिकृत शंकर दाहालका अनुसार सन् २०१९ देखि २०२३ सम्ममा शाखामार्फत ५ लाख ८४ हजार ७५ भन्दा बढी विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
दाहालका अनुसार सबैभन्दा बढी सेवा गर्भनिरोधक क्षेत्रमा प्रदान गरिएको छ । सन् २०१९ मा ३२ हजार ८४८ रहेको यो सेवा सन् २०२३ मा बढेर ३७ हजार १२२ पुगेको छ, जसले समुदायमा परिवार नियोजनप्रतिको चेतना बढ्दै गएको संकेत गर्छ ।
यस्तै, स्त्रीरोग सेवा अन्तर्गत सन् २०१९ मा १२ हजार ३७० जनाले सेवा लिएकोमा सन् २०२३ मा यो संख्या १५ हजार ७२८ पुगेको छ । प्रसूति सेवा पनि निरन्तर रूपमा बढ्दै गएको छ । सन् २०१९ मा २० हजार १७१ रहेको प्रसूति सेवा सन् २०२३ मा २२ हजार ०६५ पुगेको दाहालले जानकारी दिए ।
एचआईभी र एड्स सेवातर्फ पनि मोरङ शाखाले उल्लेखनीय भूमिका खेलेको छ । सन् २०१९ मा २ हजार ९७६ सेवा प्रदान गरिएकोमा सन् २०२३ मा ६ हजार ९५० सेवा प्रदान गरिएको छ । यस्तै, एसटीआई सेवा ७ हजार १२० बाट बढेर १३ हजार ७०८ पुगेको छ ।
बालस्वास्थ्यतर्फ, बालरोग सेवा सन् २०१९ मा १९ हजार ५९३ बाट बढेर सन् २०२३ मा १९ हजार ८५२ पुगेको छ । सुरक्षित गर्भपतन सेवा पनि बर्सेनि बढ्दै गएको देखिन्छ । सन् २०१९ मा १ हजार ४०३ रहेको यो सेवा सन् २०२३ मा १ हजार ८१३ पुगेको छ ।
वरिष्ठ अधिकृत दाहालका अनुसार, ‘ग्रामीण तथा सीमान्तकृत समुदायसम्म सुरक्षित, सुलभ र गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा पु¥याउने हाम्रो लक्ष्य हो । आगामी दिनमा पनि सेवाको पहु“च र गुणस्तर दुवैलाई प्राथमिकता दिइनेछ ।”
नेपाल परिवार नियोजन संघ मोरङ शाखाले समुदायस्तरमा सचेतना, परामर्श तथा रेफरल सेवामार्फत कोशी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर् यारउँदै आएको छ ।
मोरङमा परिवार नियोजन संघको सेवा प्रभावकारी : एकै वर्षमा ९४ हजार बढीले लिए सेवा
नेपाल परिवार नियोजन संघ मोरङ शाखाले सन् २०२४ मा आफ्नो सेवा प्रवाहमा उल्लेख्य सफलता हासिल गरेको छ । संघको वार्षिक प्रगति प्रतिवेदन अनुसार, एक वर्षको अवधिमा कुल ९४ हजार ३ सय ६१ सेवाग्राहीले विभिन्न किसिमका स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन् ।
नेपाल परिवार नियोजन संघ मोरङका वरिष्ठ अधिकृत शंकर दाहालका अनुसार, संघले विशेष गरी यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर समुदायका तल्लो तहसम्म सेवा पुर्याउँदै आएको छ । दाहालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सबैभन्दा बढी परामर्श र सेवा तर्फ २३ हजार ७ सय ९० जनाले लाभ लिएका छन् ।विभिन्न
विधामा प्रवाह गरिएका प्रमुख सेवाहरूः तथ्याङ्क अनुसार बाल स्वास्थ्यतर्फ १६ हजार ८ सय ९८, प्रसूति सेवातर्फ १६ हजार ६ सय ४४ र परिवार नियोजनका साधनतर्फ ११ हजार ६ सय ४७ जनाले सेवा लिएका छन् ।
यस्तै, यौन (एसटीआई) सम्बन्धी सेवा ६ हजार ९ सय ८९ जनाले लिएका छन् भने सुरक्षित गर्भपतन सेवा १ हजार २ सय ७० जनाले प्राप्त गरेका छन् ।
वरिष्ठ अधिकृत दाहालले भने, ‘हामीले बाँझोपन, युरोलोजी, गाइनोकोलोजी र एचआईभी एड्स सम्बन्धी परामर्श तथा प्रेषण (रेफरल) सेवालाई पनि उच्च प्राथमिकतामा राखेका छौं ।’ तथ्याङ्क अनुसार ५ हजार ९७ जनाले गैर–यौन तथा प्रजनन स्वास्थ्य सेवासमेत प्राप्त गरेका छन् ।
सीवाईपीमा उपलब्धि : परिवार नियोजनका साधनको प्रयोगबाट प्राप्त हुने सुरक्षा (सीवाईपी) तर्फ पनि मोरङ शाखाले राम्रो प्रगति गरेको छ । सन् २०२४ मा कुल ९,४६५.१ सीवाईपी हासिल भएको छ ।
जसमा सबैभन्दा बढी स्थायी बन्ध्याकरणबाट ४ हजार ९ सय ९२ र इम्प्लान्टबाट २ हजार ५ सय ७२.६ सेवा दिइएकोे छ । अन्य साधनहरूमा सुई, खाने चक्की र कन्डमको प्रयोग पनि उत्साहजनक रहेको देखिन्छ ।
मोरङ शाखाले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझ परिष्कृत र पहुँचयोग्य बनाउँदै लैजाने लक्ष्य राखेको दाहालले जानकारी दिए ।
View : 130
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved