Biratnagar, Morang, Nepal
८ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

लेटाङका मेयरले सांसद न्यौपानेलाई भने– ‘फेसबुके माननीय नबन्नू’

उद्‌घोष संवाददाता
७ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । लेटाङ नगरपालिका–८ स्थित जाँते स्वास्थ्य चौकीको ल्याब सेवा बन्द गरिएको भन्दै प्रतिनिधिसभामा उठाएर चर्चामा आएका मोरङ क्षेत्र नम्बर १ का सांसद यज्ञमणि न्यौपानेको उक्त अभिव्यक्तिप्रति लेटाङ नगरपालिकाले गैरजिम्मेवार अभिव्यक्ति भएको भन्दै प्रतिवाद गरेको छ ।

मेयर भूपेन्द्रकुमार लावतीले विज्ञप्तिमार्फत सांसद न्यौपानेलाई ‘फेसबुके माननीय नबन्न’ आग्रहसमेत गरेका छन् । सांसद न्यौपानेको अभिव्यक्तिलाई तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भन्दै त्यसबाट भ्रम सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिकासँग सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा आएका विषयलाई मात्रै आधार बनाएर सार्वजनिक अभिव्यक्ति दिनु जिम्मेवार जनप्रतिनिधिको व्यवहार नभएको मेयर लावतीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले उच्च तहमा रहेका जनप्रतिनिधिले सामाजिक सञ्जालका सामग्रीका आधारमा धारणा बनाउनुअघि सम्बन्धित निकायसँग वास्तविक अवस्था बुझ्ने प्रयास नै नगरेको जनाइएको छ ।

नगरपालिकाका अनुसार जाँते स्वास्थ्य चौकीको ल्याब सेवा बन्द गर्ने निर्णय भएको छैन । पछिल्लो समय ल्याब सेवा लिने सेवाग्राहीको संख्यामा कमी आएको र सेवा प्रभावकारी बनाउने विषयमा के गर्न सकिन्छ भन्ने अध्ययनका लागि नगर कार्यपालिकाको बैठकबाट अध्ययन समिति गठन गरिएको मेयर लावतीले बताए ।

गत साउन १५ गते बसेको नगर कार्यपालिकाको बैठकले वडा नं. ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलको प्रस्तावमा जाँते स्वास्थ्य चौकीको ल्याब सेवासम्बन्धी विषयमा छलफल गरे पनि सेवा नै बन्द गर्ने निर्णय नगरिएको मेयर लावतीले स्पष्ट पारेका छन् । उक्त बैठकको प्रमाणित निर्णयसमेत नगरपालिकाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

वडाध्यक्ष पोखरेलले सेवाग्राहीको न्यून उपस्थिति, स्वास्थ्य बीमा तथा सुविधासम्पन्न स्वास्थ्य सेवाका लागि नगर अस्पताल वा निजी क्लिनिकतर्फ जाने प्रवृत्तिका कारण ल्याब सेवा सञ्चालन हुन नसकेको बैठकमा जानकारी गराएका थिए । कार्यपालिकाले कुनै निर्णय नै नगरेको विषयलाई सांसद न्यौपानेले अतिरञ्जित रुपमा आफ्नो चर्चाका लागि संसदमा उठाएको मेयर लावतीले आरोप लगाए ।

नगर प्रमुख लावतीले सांसद न्यौपानेलाई भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् । विज्ञप्तिमा सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाका आधारमा धारणा सार्वजनिक नगर्न भन्दै ‘फेसबुके माननीय नबन्न’ आग्रह नै गरिएको छ । 

नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको नगरपालिकाले जनाएको छ । साथै, नगरवासी, सञ्चारकर्मी र सरोकारवालालाई सत्यतथ्य नबुझी हुने अनर्गल तथा भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेको छ । जाँते स्वास्थ्य चौकीको ल्याब सेवा सञ्चालनको प्रभावकारिता, सेवाग्राहीको उपस्थिति र सेवाको आवश्यकताबारे अध्ययनपछि मात्रै आगामी निर्णय हुने नगरपालिकाले स्पष्ट पारेको छ ।

सांसद न्यौपानेले जाँते स्वास्थ्य चौकीको ल्याब सेवा बन्द गर्न लागिएको भन्दै नागरिकको स्वास्थ्यजस्तो संवेदनशील विषयमा स्थानीय र प्रदेश सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका थिए ।

उनले स्वास्थ्य चौकी प्रमुख फूलमाया नेपाली र स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष रहेका वडाध्यक्ष भीमप्रसाद पोखरेलले नै हस्ताक्षर गरेर ल्याब असिस्टेन्टको मासिक तलब व्यवस्थापन गर्न कठिनाइ भएका कारण ल्याब सेवा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै संसदमा प्रश्न उठाएका थिए ।

जाँते क्षेत्रमा स्वास्थ्य परीक्षणका लागि अर्को वैकल्पिक ल्याबसमेत सहज रूपमा उपलब्ध नभएको भन्दै न्यौपानेले ल्याब सेवा बन्द हुँदा स्थानीय नागरिक उपचारबाट समेत प्रभावित हुने अवस्था आएको बताएका थिए । उनले एउटा ल्याब असिस्टेन्टको तलब–भत्ता व्यवस्थापन गर्न नसकेर नागरिकले पाउँदै आएको स्वास्थ्य परीक्षण सेवा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताएका थिए ।

View : 65

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved