Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

पत्रकारितामा सिक्किम

युवराज घलेभाइ
२१ मंसिर २०८०, बिहिवार

पत्रकारिता (सञ्चार माध्यम) सिक्किम राज्यमा समयानुसार आवश्यक अनुरुप फस्टाउन सकेन भन्दा पक्कै पनि दुईमत हुने छैन । पत्रकारिताले केही वर्षदेखि यस्तो काम नगरेको पनि होइन तर अझै त्यति राम्रो र तगडा पाराले काम भइरहेको छैन जस्तो खट्एिको थियो पूर्व राज्य सरकारको शासनकालमा । पत्रकारिता खुलेर स्वतन्त्ररुपमा फस्टाउन सकेको थिएन तर वर्तमान  प्रेमसिंह तामाङ (पीएस गोले) सरकारले पहिलो विधानसभा सत्रमै नयाँ सरकारको नीति, सिद्धान्तको परिचय दिंदै पत्रकारिता र सञ्चार माध्यमको विकास उत्थानको निम्ति ऐतिहासिक काम गरेको सबैको नजरबाट लुकेको छैन ।

वर्तमान सरकार राज्य र राज्यवासीको सर्वाङ्गीण काम र विकास गर्न लागिपरेको छ त्यसमा पत्रकारिता र सञ्चार माध्यमले ठूलो भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता देखिन्छ ।

राज्यका धेरै ठाउँमा पहिलादेखि नै सरकारी जमिन कतिपयले मिचेर दुरुपयोग गरिरहेका छन् । कतिपयले सरकारी गाडी जतासुकै मनपरी चलाइरहेका छन् । कतिपय सरकारी कार्यालय लथालिङ्ग छन्,  सरकारी सम्पत्ति बेपर्वाह, बेस्यार भएर गइरहेका छन् भने  राज्यमा भएका यस्ता विषयलाई पत्रकारिताको माध्यमबाट उदाङ्गो पारिदिनुपर्छ । राज्यका धेरै ठाउँमा राम्रा–नराम्रा मुख्य खबरहरु ओझेल भएर उदाङ्गो हुन नपाएर गइरहेछन् । राम्रा कामलाई प्रोत्साहन र नराम्रा कामलाई निरुत्साहित गर्न जरुरी छ ।

राज्यका धेरै ठाउँमा पहिला सरकारमा झैं आदत बसेका बेइमानी ठेकेदारहरुले गरेका अधुरो काम, विभिन्न विभागमा भइरहेका र भइसकेका अधुरा कामहरू उदाङ्गो, सार्वजनिक हुन नपाएर समाचार उकुस मुकुसिएर बसिरहेका छन् । राज्यका बेइमानी, भ्रष्टाचारी, कर्तव्यहीन, ठगुवा,बदमाश, लठुवा, चोर आदि कसैलाई पनि पत्रकारिता, सञ्चार माध्यमसँग डर नै छैन, होशियार नै छैन भन्दा हुन्छ ।

पत्रकारिताको माध्यमबाट  राज्य संयन्त्रलाई झकझक्याई बेइमानी, भ्रष्टाचारलाई सतर्क र सजाय दिलाउन सक्छ, लथालिङ्ग र डावाँडोल अवस्थालाई उचित व्यवस्था गर्न सक्छ । अशिक्षित, अमानवीय, अभद्रलाई शिक्षित, भद्र र सभ्यताको मार्गतर्फ डोर्‍याउन सक्छ । विसङ्गति,कुरीति अव्यवस्थित, गैरकानुनी समाजलाई उचित, व्यवस्थित, नयाँ समाज निर्माण गर्नसक्ने क्षमता पत्रकारको कलममा हुन्छ ।

राज्यका प्रायजसो जनताले पत्रकारिताको महत्व र भूमिकालाई हल्कारुपले मान्दै अझ राम्ररी बुझ्न नसकेको देखिन्छ । राज्यका जनता, संगठन, परिवार, क्लब, विभाग आदिले पत्रकारिता र सञ्चार माध्यमलाई आ–आफ्नो खबर, सूचना सुनाइदिने,बाँडिदिने, प्रकाशित गरिदिने माध्यम मात्र मान्ने गरेकोजस्तो देखिन्छ । राज्यमा अहिलेसम्म फलानो विभागमा यस्तो भइरहेछ, उस्तो नराम्रो भइरहेछ भनेर पहिला पनि समाचार नबनिएका त होइनन् । नेता, अफिसर, ठेकेदार आदिले बेइमानी गरेको, भ्रष्टाचार गरेका समाचारहरु प्रशस्त प्रकाशित भएकै हुन् ।

राज्यका धेरै ठाउँमा असामाजिक घटना, बलात्कार, लुटमार,हत्या, कम्पनीहरुले मजदुरमाथि गरेका अत्याचारलगायत अनेकौं मुख्य समाचार धेरै समाचारपत्रमा प्रकाशित भएकै हुन् तर ती समाचारहरु उक्त दिन प्रकाशित भइसकेपछि सेलाएर गए । त्यसपछि सम्बन्धित निकाय, विभागले उचित कार्वाही गर्‍यो या गरेन, अपराधीले सजाय पायो कि पाएन, निर्दोषले न्याय पायो कि पाएन, ती मुद्दाहरुको अवस्था कस्तो चलिरहेछ आदिबारे सिक्किमे जनतालाई न चासो भयो, न जान्ने उत्सुकता नै । यसै किसिमले हाम्रो राज्य चलिरहेको छ ।

सिक्किम राज्यको बर्सेनि शैक्षिकस्तर सुधारिरहेको छ, शिक्षित नागरिकको जनसंख्या तीव्र गतिमा बढिरहेछ तर ती जनसंख्या अनुरुप समाचारपत्र पढ्ने पाठक भने बढ्न सकेको छैन । आफ्नो र आफूसँग सम्बन्धित समाचार सामग्रीहरु छन् भने खोजेर पढ्यो अन्यथा अरु दिन समाचारपत्रहरुको चासो र खोजी हुँदैन ।

राज्यका बजार, विभाग, गाउँ समाजतिर कहींकतै अनैतिक घटना भएको, असामाजिक गतिविधि भइरहेको, गैरकानुनी क्रियाकलाप भइरहेको देखेर पनि सिक्किमे जनता त्यस विषयमा गफै मात्र गर्छन् । फलानो र ढिस्का भनि टीका–टिप्पणी मात्रै गर्छन् । त्यसले,उसले खबर गर्छ, आवाज उठाउँछ भनि आफूपछि पर्ने गरेको पाइन्छ । सम्बन्धित विभागलाई सञ्चार माध्यम, सम्वाददातालाई जागरुक भएर खबर गर्नु कोही तम्सेको देखिंदैन ।

राज्यमा अहिलेसम्म सबै ठाउँतिर लगातार रुपमा खेदो गरेर लागिपर्‍यो भने सबैतिर शुभभन्दा अशुभ खबर केही न केही भइरहेका हुन्छन् तर ती समाचार त्यतिकै गुम्सेर गइरहेछ । धेरै वर्ष अगाडिको तुलनामा पत्रकारिताले केही प्रगति गर्दै अघि बढिरहेकै छ भन्नुपर्छ तर विश्वमा पत्रकारितामा भएको विकासको तुलनामा सिक्किमे जनतामा पत्रकारिताप्रति त्यति चेतनाशील, चासो, संवेदनशील नभएको देखिन्छ । समाचारपत्रको पाठक न्यून नै छन् ।

पत्रपत्रिकाप्रति रुचि देखाउने, चासो राख्ने ध्यान दिने नागरिक कम्ती नै मान्नुपर्छ । सिक्किमे शिक्षित जमातमा पत्रकारितामा रुचि बढाउन समाचारपत्रहरुको पाठकको संख्या बढाउन प्रेस क्लब अव सिक्किमले नै कुनै समय सापेक्ष प्रभावकारी कदम उठाउन आवश्यक छ । यो कलमकार सिक्किमे पत्रकारिता र सञ्चार माध्यमको शुभचिन्तक भएका नाताले राज्यको पत्रकारिता वर्तमान र भविष्यप्रति चिन्तित छ । यो  लेखको उद्देश्य भारतको सिक्किम राज्यको पत्रकारिता र सञ्चार माध्यमको कमजोरी हटाएर सही मार्गमा लैजानका लागि हो  ।  साथै विराटनगरका वासिन्दालाई पनि भारतको नेपाली भाषी राज्य सिक्किमको पत्रकारिता बारे जानकारी गराउनु हो ।

(गान्तोक सिक्किम (भारत), हाल : विराटनगर)

View : 144

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved