Biratnagar, Morang, Nepal
१० भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

भारतीय किचलोको मार : विराटनगर भन्सारमा राजस्व संकलन ठप्प

उद्‌घोष संवाददाता
१० भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । सीमावर्ती भारतीय प्रशासनिक किचलो र आन्दोलनको प्रत्यक्ष नोक्सानी पुनः एकपटक नेपाली अर्थतन्त्रले व्यहोर्नुपरेको छ । 

भारतको जोगबनी नाकामा कार्यरत क्लियरिङ एजेन्टहरूले अचानक काम छाडेर हडताल गरेपछि विराटनगर भन्सारबाट हुने सम्पूर्ण आयात–निर्यात अस्तव्यस्त बनेको छ ।

भारतीय स्थल बन्दरगाह (एलपीआई) का पदाधिकारी र सीमा सुरक्षा बल (एसएसबी) ले दुव्र्यवहार गरेको भन्दै एजेन्टहरूले सोमबारदेखि ‘पेन डाउन’ सुरु गरेका हुन् । यसको सोझो असर नेपालतर्फको राजस्व संकलनमा परेको छ । 

दुई दिनदेखि जाँचपास प्रक्रिया रोकिँदा एउटै पनि मालवाहक गाडी नेपाल आएका छैनन् । यसले नेपालतर्फ आउनुपर्ने एक हजार हाराहारी मालवाहक ट्रकहरू भारतीय भूमिमा रोकिएका छन् । 

विराटनगर भन्सारबाट सामान्यतयाः दैनिक ११ देखि १२ करोड रुपैयाँसम्म राजस्व उठ्ने गरेको थियो । तर, सोमबार र मंगलबार भारततर्फबाट एउटै पनि सवारी नभित्रिएपछि दुई दिनमै कम्तीमा २२ करोड रुपैयाँ राजस्व गुमेको भन्सार स्रोतले जनाएको छ ।

नेपालतर्फ सम्पूर्ण संयन्त्र तयारी अवस्थामा रहे पनि भारतीय भूभागमा सिर्जित गतिरोधका कारण भन्सारको काम शून्यमा झरेको विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए । 

‘हाम्रो क्षेत्रमा कुनै अवरोध वा समस्या छैन, सम्पूर्ण किचलो भारतीय भन्सारतर्फको हो,’ भन्सार प्रमुख श्रेष्ठले भने, ‘उता एजेन्टहरू आन्दोलित हुँदा नेपाल भित्रिने गाडीको संख्या ज्यादै न्यून भयो । जसले गर्दा हाम्रो दैनिक राजस्व असुलीमा ठूलो धक्का लागेको छ ।’

कार्यालय प्रमुखले न्यून संख्यामा गाडी छिरेको बताए पनि स्थानीय भन्सार एजेन्ट र कर्मचारीका अनुसार सोमबार र मंगलबार साँझसम्म एउटै पनि मालवाहक सवारी नेपाल छिर्न पाएका छैनन् । 

‘विराटनगर नाकाबाट हुने सम्पूर्ण आयात जोगबनी भएर नै आउने हो,’ भन्सारका एक अधिकृतले भने, ‘भारतीय नाकामै जाँचपास ठप्प भएपछि यता गाडी छिर्ने कुरै भएन । दुई दिनसम्म कारोबार पूर्ण रूपमा रोकिँदा कम्तीमा २२ करोड राजस्व असुली प्रभावित भएको छ ।’

आन्दोलनरत भारतीय क्लियरिङ एजेन्टहरूले बन्दरगाह सञ्चालन गर्ने सरकारी निकाय एलपीआईका अधिकारी र एसएसबीका सुरक्षाकर्मीको कार्यशैलीप्रति आक्रोश पोखेका छन् । पेनडाउनमा उत्रिएका भारतीय एजेन्ट लक्ष्मण यादवका अनुसार बन्दरगाहभित्रको प्राविधिक असफलता र कर्मचारीको हेपाहा प्रवृत्तिका कारण बाध्य भएर काम रोक्नुपरेको हो । 

‘एलपीआईका प्रबन्धकदेखि तल्लो तहका कर्मचारीसम्मले एजेन्ट र व्यवसायीसँग मर्यादापूर्वक कुरा गर्दैनन्, अत्यन्तै हेपेर व्यवहार देखाउँछन्,’ एजेन्ट लक्ष्मणले भने, ‘त्यसमाथि एसएसबी प्रहरीको व्यवहार झनै अमानवीय छ । कर्मचारीहरु सर्भर बिग्रिएको बहानामा घण्टौँसम्म गाडी रोकिदिन्छन् ।’ जोगबनीस्थित एलपीआईका प्रबन्धक रत्नाकर यादवले भने एजेन्टहरूले विना कुनै औपचारिक मागपत्र र पूर्वसूचना एक्कासि हडताल गरेको दाबी गरेका छन् ।

‘एजेन्टहरूको असन्तोष वा माग के हो भन्नेबारे हामीलाई पूर्वजानकारी दिइएको छैन,’ प्रबन्धक यादवले भने, ‘कुनै अल्टिमेटम नदिई एक्कासि काम रोकिएको छ । समस्या समाधानका लागि बुझ्ने काम भइरहेको छ ।’ 

एजेन्टहरूको आन्दोलनसँगै बुधबार ’मोहम्मद डे’ को सार्वजनिक बिदासमेत परेकाले सीमापारिको गतिरोध झनै लम्बिने खतरा बढेको छ । 

लगातार तीन दिनसम्म आवागमन बन्द हुँदा जोगबनी क्षेत्रमा नेपाल र तेस्रो मुलुकबाट ल्याइएका कच्चा पदार्थ तथा अन्य सामान बोकेका एक हजारभन्दा बढी गाडीहरूको लामो लाइन लागेको छ ।

नेपाली भन्सार एजेन्ट नवल उपाध्याय सीमापारिको सानो समस्याले पनि नेपालको सिङ्गो आपूर्ति श्रृंखलालाई बन्धक बनाउने गरेको बताउँछन् । 

‘भारतीय सीमा क्षेत्रमा हुने ससाना प्रशासनिक किचलोको सोझो मार नेपाली अर्थतन्त्रमा कसरी पर्छ भन्ने ताजा उदाहरण विराटनगर भन्सार बनेको छ,’ उपाध्यायले भने, ‘यसमा नेपालतर्फको कुनै दोष छैन, तर आर्थिक सास्ती भने हाम्रा व्यवसायी र राज्यको कोषले व्यहोर्नुपरेको छ ।’

भारतीय भूमिमा गाडी थन्किँदा नेपाली आयातकर्ताले ठूलो रकम डेमरेज र डिटेनसन चार्जका रूपमा बुझाउनुपर्ने भएकाले त्यसको सोझो असर नेपाली बजारमा मूल्य वृद्धि भई उपभोक्तामाथि परेको उनको भनाइ छ । 

‘सीमापारि अलिकति असन्तोष वा प्राविधिक ग्याप हुँदा नेपालमा उद्योगका कच्चा पदार्थ रोकिने, बजारमा सामान महँगो हुने र सरकारी कोषमा राजस्व घट्ने शृङ्खला बारम्बार दोहोरिइरहन्छ,’ उपाध्यायले भने, ‘भारततर्फको जाँचपास प्रक्रिया सहज र दुवै देशका अधिकारीहरूबीच स्थायी समन्वय संयन्त्र नबनेसम्म यो सास्ती निरन्तर कायम रहनेछ ।’

View : 53

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved