विराटनगर । विराटनगरमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । विराटनगर–२ शंकरपुर स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको पछिल्लो तीन वर्षको तथ्याङ्कले आयुर्वेदिक उपचार पद्धतितर्फ विरामीको आकर्षण बढेको देखिएको हो ।
तथ्याङ्कमा आब २०७७–७८ मा नौं हजार आठ सय ८१, आव २०७८–७९मा १४ हजार दुई सय ३३, आव २०७९–८० मा १८ हजार पाँच सय ४३ जनाले उपचार गराएको देखिन्छ । आव २०७७–७८ को तुलनामा २०७९–८० मा विरामीको संख्या दोब्बर बढेको देखिएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्न आउने विरामीहरुमा अम्लपित (ग्यास्टिक), ग्रहणी,कोलाइटिस लगायतका पेटसम्बन्धी रोगहरु, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरु, मलद्वार तथा मलाशयमा हुने रोगहरु, नाक, कान, घाँटी सम्बन्धी रोगहरु, स्त्री रोग, बाल रोग, छालासम्बन्धी रोग र मानसिक रोगका विरामीहरु धेरै आउने गरेका छन् ।
आयुर्वेदमा जडीबुटीबाट उपचार गरिने भएकाले यसको शारीरिक हानी कम हुने भएकाले विरामीहरुको आकर्षण बढेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका चिकित्सक डा मिशान्त ढकाल बताउँछन् ।
विराटनगर–११ का डीबी बस्नेतले अस्पतालमा उपचार गराउँदा पनि आफ्ना समस्या समाधान नभएपछि आयुर्वेदिक उपचारका लागि यहाँ आएको बताए । नसा च्यापिएको कारण सुत्नै नसक्ने अवस्थामा रहेकोमा आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गराएपछि ८० प्रतिशत जाती भएको उनले खुलाए ।
विराटनगर–२ की मीरा क्षेत्रीले आफूले सानैदेखि आयुर्वेदका जानकारी लिंदै आएकाले आफूलाई यो उपचार पद्धतिमा विश्वास रहेको बताइन् ।
एक वर्षदेखि उपचारत रहेका विराटनगर–२ का एसएन गुप्ताले उपचार पद्धति राम्रो भए पनि गुणस्तरीय आयुर्वेदिकक औषधिको अभाव भएको बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा केनिन राईले केन्द्रमा बहिरङ सेवा (ओपीडी), पञ्चकर्म सेवा, सल्यकर्म तथा क्षारसुत्र सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला सेवा, होमियोप्याथी चिकित्सा सेवा, नि ःशुल्क तथा सशुल्क फार्मेसी सेवा र उपचारात्मक (थेराप्युटिक) योग लगायतका सेवाहरु प्रदान गरिहेको बताए ।
पछिल्लो समयको नसर्ने रोगहरुको प्रकोप बढिरहेको अवस्थामा न्युनतम दुष्प्रभाव रहेको प्रकृति सुहाउँदो सो आयुर्वेद चिकित्साका औषधि तथा आहारविहार र स्वास्थ्य जीवनशैलीको प्रयोगबाट रोगहरु नदोहोरिने गरी उपचार हुने भएकोले विरामीहरुको आकर्षण बढिरहेको डा राईले बताए ।
उनले दैनिक रुपमा सय भन्दा बढी विरामीहरुले सेवा लिने गरेको पनि बताए । केन्द्रमा कोशी प्रदेशका साथै मधेश प्रदेश, छिमेकी भारतीय क्षेत्रबाट समेत विरामी आउने गरेको उनले बताए ।
केन्द्रको आफ्नै जग्गा र भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको, नेपाल सरकारले निःशुल्क वितरण गर्नु भनी सुचिकृत गरेका २९ प्रकारका औषधिहरुको माग बमोजिम आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या रहेको, सल्य र स्त्री रोग विशेषज्ञहरुको अभाव रहेको र आधुनिक उपकरणहरु अभाव रहेकाले पूर्ण सेवा दिन समस्या भएको समेत डा राईले बताए ।
केन्द्रका आयुर्वेद चिकित्सक डा धनञ्जय जयसवालले अन्य अस्पतालहरुमा उपचार गरेर सञ्चो नभएका विरामीहरु पनि आउने गरेको र उपचारपछि सञ्चो भएको पाइएकोले पनि युवा वर्गमा आयुर्वेदिक उपचारमा विश्वास बढ्दै गएको बताए ।
सोही स्वास्थ्य केन्द्रमा ४ वर्षदेखि उपचार सेवा दिइरहेका डा मिसान्त ढकालले केन्द्रमा पञ्चकर्मको सेवा पनि रहेको बताए ।
(दिनेश पौडेल, प्रशिक्षार्थी पत्रकार)
View : 459
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved