इनरुवा, ६ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ४०० किलो भोल्ट क्षमताको विद्युत सबस्टेसन उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवस्टेशनको उद्घाटन गरेका हुन् ।
विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसन अब संचालनमा आएको छ । यो सवस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनहरु मध्येकै एक रहेको जनाइएको छ ।
ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस) मा आधारित स्वचालित प्रविधि रहेको नेपालकै दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो ।
पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेको छ ।
हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीनवटा पावर ट्रान्सफर्मर रहेको जनाइएको छ ।
इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् प्रवाह हुनेछ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइन अन्तरगत अहिले भने तार तान्ने काम भइरहेको छ ।
यो सवस्टेशनले कोशी प्रदेशका विभिन्न जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीयरुपमा खपत गर्न र देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गर्न इनरुवा सबस्टेसन मेरुदण्ड बन्ने जनाइएको छ ।
इनरुवा र हेटौँडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रहेको छ । सबस्टेसन निर्माण सुपरीवेक्षण प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।
सवस्टेशनको उद्घाङटनमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
View : 125
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved