Biratnagar, Morang, Nepal
२२ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस महाधिवेशन : कोशीबाट पदाधिकारीका आकांक्षी धेरै, महामन्त्रीमा मोरङकै तीन जना

उद्‌घोष संवाददाता
२१ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेसँगै केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशका धेरै  नेताहरूले आफ्नो दाबी प्रस्तुत गरेका छन् । महामन्त्री पदका लागि त मोरङबाटै तीन जनाको उम्मेद्वारी परेको छ । 

सभापति पदका लागि हालका सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ । 

सभापतिमा तीन जनाको उम्मेदवारी पर्दा उपसभापतिमा धेरैको दाबी देखिएको छ । सभापति पछिको वरियातमा राखिएको नयाँ पद वरिष्ठ उपसभापति पददेखि उपसभापति, महामन्त्री र सहमहामन्त्रीसम्म कोशीका नेताहरूले दाबी प्रस्तुत गरेका छन् ।

मंगलबार भएको मनोनयनअनुसार हालका उपसभापतिसमेत रहेका झापाका  विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिको उम्मेदवार बनेका छन् ।

उनी उम्मेदवार भएको पदमा अर्को उम्मेदवारी परेको छैन । उनी निर्विरोध चयन हुने निश्चित भएको छ । 

यस्तै मोरङका नेता डा. मीनेन्द्र रिजाल उपसभापति पदका उम्मेदवार बनेका छन् । 

डा. शेखर कोइराला समूहमा रहेका रिजाल अन्तिम समयमा शेखरको साथ छाडेर महाधिवेशनमा सहभागी बनेका हुन् । उनले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी  तेह्रथुमकी सीता गुरुङले  समावेशी उपसभापतिमा उम्मेदवारी दिएकी छन् । 

हालका महामन्त्री मोरङका गुरुराज घिमिरेले सोही पदमा उम्मेदवारी दर्ता गराएका छन् । घिमिरले खुला महामन्त्रीमा उम्मेदवारी दर्ता गर्दा डा. सुनिल शर्माले पनि सोही पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

महिलातर्फको महामन्त्रीमा हालकी सहमहामन्त्रीसमेत रहेकी मोरङकै डा. डिला संग्रौलाले उम्मेदवारी दिएकी छन् । 

मोरङकै नेतासमेत रहेका हालका केन्द्रीय सदस्य अमृत अर्याल सहमहामन्त्रीको उम्मेदवार बन्दा ओखलढुंगाका नेता रामहरि खतिवडा पनि सहमहामन्त्री पदकै उम्मेदवार बनेका छन् । ओखलढुंगाकै प्रदीपकुमार सुनुवारले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । 

सुनुवारले अल्पसंख्यक क्लस्टरबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । सोलुखुम्बुका आङ्गेलु शेर्पाले पनि सोही क्लस्टरबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । 

मोरङबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्नेहरुको सूची पनि लामो देखिएको छ । 

विराटनगरका पूर्व मेयरसमेत रहेका प्रदेशका पूर्व मन्त्री भीम पराजुली, प्रमिला गच्छदार, सूची चौधरी, बासु कोइराला, काशीनाथ चुडाल, विश्वनाथ रिजाल, शिवनारायणसिंह गनगाईं, गोपाल थापा, फूलकुमार लालवानी, रक्षा यादव, पुनम सिंह, विमल संग्रौलालगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 

यसपटक कांग्रेसको केन्द्रीय संरचना पनि ठूलो बनाइएको छ । 

विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । पदाधिकारी र केन्द्रीय सदस्यका विभिन्न समावेशी समूहबाट निर्वाचन हुनेछ । 

यस्तै झापाबाट २२ वर्षीया रुबी सिटौलाले कोशी प्रदेशको महिला–युवा समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । उनी झापा–२ बाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । 

दमककी उपमेयर रेगिना भट्टराई लगायतले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । मोरङबाट ३० वर्षीय मोजाहिद हकले ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी मोरङ–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका थिए । पाँचथरबाट नरेन्द्रकुमार केरुङले भूगोलतर्फ कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 

धनकुटाबाट सिद्धार्थ थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भोजपुरबाट रोहित विश्वकर्माले दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उदयपुरबाट विश्वराज तामाङ पनि उम्मेदवार बनेका छन् । 

महिलाका लागि खुलेको नयाँ ढोका

कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको सांगठनिक संरचनामा परिवर्तन गर्दै केन्द्रीय पदाधिकारीमा  महिलाको उपस्थिति सुनिश्चित गर्ने व्यवस्था गरेको छ । 

नयाँ व्यवस्थाअनुसार उपसभापति र महामन्त्रीमा महिलाका लागि निश्चित स्थान छुट्याइएको छ भने सहमहामन्त्रीमा पनि दुई महिला रहने व्यवस्था गरिएको छ ।

कांग्रेसको यसपटकको विधान संशोधनले महिला सहभागितालाई तल्ला संरचनामा सीमित नराखी निर्णय गर्ने तहसम्म पु¥याउने बाटो खोलेको छ । यसअघि कांग्रेसको पदाधिकारीमा महिलाका लागि प्रत्यक्ष आरक्षण सहमहामन्त्री पदमा मात्रै थियो ।

आठवटा समावेशी क्लस्टरबाट निर्वाचित हुने सहमहामन्त्रीमध्ये एउटा क्लस्टर महिलाका लागि छुट्याइएको थियो । त्यसको दायरा अहिले फराकिलो बनाइएको छ । नयाँ व्यवस्थाअनुसार सहमहामन्त्रीको संख्या १५ पुर्याइएको छ ।

तीमध्ये एक महिला सभापतिबाट मनोनित हुने व्यवस्था छ । बाँकी पदमध्ये दुई खुला र एक अल्पसंख्यक–अपाङ्गता समूहबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

यससँगै उपसभापति र महामन्त्रीमा पनि महिला सुनिश्चित गर्ने प्रावधान थपिएको छ । यसअघि ती पदमा महिलाका लागि छुट्टै सुनिश्चितता थिएन । पुष्पा भुसाल कांग्रेसको इतिहासमा शैलजा आचार्यपछि उपसभापति बन्ने दोस्रो महिला नेतृ हुन् । उनी विशेष महाधिवेशनबाट उपसभापति बनेकी हुन् । 

विधानमै उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने व्यवस्था आएपछि महिलाको नेतृत्व दाबी अझ बलियो हुने उनको विश्वास छ ।

View : 35

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved