Biratnagar, Morang, Nepal
१० भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका १२ सय २७ पत्रकारको दुर्घटना बीमा

उद्‌घोष संवाददाता
१० भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले प्रदेशका १ हजार २ सय २७ पत्रकारको दुर्घटना बीमा गरेको छ । 

मंगलबार पत्रकार दुर्घटना बीमा कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् । 

‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’ भन्ने नारासहित पत्रकार दुर्घटना बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

मुख्यमन्त्री कार्कीले सरकारकै मातहतको राष्ट्रिय बीमा कम्पनीमार्फत बीमा गरिएका कारण झन्झटरहित सेवा प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । पत्रकारहरूलाई सहज रुपमा बीमा सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । बीमाका लागि पैसा पुग्दैन कि भन्ने चिन्ता नगर्नसमेत उनले आग्रह गरे । 

दुर्घटना बीमा कार्यक्रमको शुभारम्भ कार्यक्रमको अवसरमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता जोखिमपूर्ण पेशा भएकाले दुर्घटना बीमा महत्वपूर्ण हुने बताए । पत्रकारको अभिभावकत्व प्रदान गर्ने आफ्नो मन्त्रालय भएकाले त्यसको अनुभूति गराउने बताए । साथै, सवै पत्रकारका लागि मन्त्रालयको ढोका खुला रहने उनले बताए ।

महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकारको भौतिक सुरक्षा र बीमाको आवश्यकताबारे प्रकाश पारेका थिए । उनले कोशी प्रदेशभरीका महासंघ सदस्यहरूलाई बीमा कार्यक्रममा समेटिएको जानकारी दिए ।

पत्रकारको पेशागत सुरक्षालाई प्राथमिकतामा राख्दै कोशी प्रदेशका १ हजार २२७ पत्रकारको एक वर्षका लागि दुर्घटना बीमा गरिएको अध्यक्ष खड्काले बताए । 

पत्रकारिता जोखिमपूर्ण पेशा भएकाले पत्रकारको सुरक्षा र संरक्षणका लागि बीमा कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले दुर्घटना बीमा कार्यक्रमबाट कुनै पत्रकार दुर्घटनामा परी समस्यामा परेमा प्रदेश तहबाटै प्रभावकारी रुपमा सुरक्षावरण प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी, राष्ट्रिय बीमा कम्पनीका केन्द्रीय व्यवस्थापक निरञ्जन आचार्यले पत्रकार दुर्घटना बीमासम्बन्धी जानकारी दिँदै दुर्घटनाका कारण मृत्यु भएमा बीमितले १० लाख रुपैयाँ लगायत बीमाले समेट्ने अन्य सेवा प्राप्त गर्न सकिने जानकारी दिए । 

उनले दुर्घटनाका कारण अङ्गभङ्ग भएमा क्षतिको अवस्था हेरेर बीमा योजनाअनुसार सहयोग उपलब्ध हुने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकार दुर्घटना बीमाको महत्व र बीमाबाट प्राप्त हुने सुविधाबारे जानकारी गराए । 

कोशी प्रदेश सञ्चार प्रतिष्ठानका रजिस्ट्रार लीलाराज भट्टराईले पत्रकारको पेशागत सुरक्षा, सञ्चार क्षेत्रको क्षमता विकास तथा पत्रकारलाई सुरक्षित वातावरणको अवस्था सिर्जना गरिने बताए ।

कार्यक्रमका अवसरमा महासंघका प्रदेश अध्यक्ष खड्काले मोरङ, सुनसरी, उदयपुर र धनकुटाका अध्यक्ष तथा सचिवहरूलाई पत्रकार दुर्घटना बीमा कार्यक्रममा समेटिएका पत्रकारको विवरण हस्तान्तरण गरेका थिए । 

उनले अन्य जिल्ला शाखालाई पनि दुर्घटना बीमा कार्यक्रममा समेटिएका पत्रकारको विवरण क्रमशः पठाइने जानकारी दिए ।

View : 33

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved