विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सार्वजनिक भएका श्रव्य सामग्रीका सम्बन्धमा आन्तरिक छानबिन अघि बढाएको छ ।
पार्टीले सुनारसँग सम्बन्धित समाचार र उठाइएका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जनाएको छ ।
रास्वपाका अनुसार सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील छन् ।
पार्टीले यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ ।
छानबिन प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ ।
महिलामाथि हुने दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको उल्लेख गर्दै रास्वपाले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ ।
साथै, राज्यले गर्ने अनुसन्धानमा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने जनाएको छ ।
पार्टीले कानुन उल्लंघन वा पदीय आचरणविपरीत कार्य गर्ने जोसुकैलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ ।
सुनारमाथि सार्वजनिक भएका विषयहरू भने छानबिनबाट पुष्टि हुन बाँकी आरोपका रूपमा रहेका छन् ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved