विराटनगर । मोरङमा खसीबोकाको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम १ हजार २०० रुपैयाँ तोकिएको छ ।
चाडपर्वको समयमा मासुको मूल्य अस्वाभाविक रूपमा बढाएर बिक्री वितरण भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभर खसीबोकाको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम १ हजार २०० रुपैयाँ कायम गरेको जनाएको छ ।
तोकिएको मूल्य अर्को व्यवस्था नभएसम्म लागू हुनेछ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विराटनगर महानगरपालिका, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मासु व्यवसायी संघका प्रतिनिधि, मासु व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीबीच भएको छलफलपछि मूल्य निर्धारण गरिएको हो ।
छलफलमा मासुको मूल्य वृद्धि गर्नुपर्ने कुनै ठोस एवं मनासिब आधार नदेखिएको र यसअघि प्रतिकेजी १ हजार २०० रुपैयाँका दरमा बिक्री वितरण हुँदै आएको पाइएको कार्यालयले जनाएको छ ।
सूचनाअनुसार मासु व्यवसायीले आफ्नो पसलमा प्रतिकेजी १ हजार २०० रुपैयाँको मूल्य स्पष्ट देखिने गरी मूल्यसूची अनिवार्य रूपमा टाँस्नुपर्नेछ । उपभोक्ताले माग गरे वा नगरे पनि मासुको प्रकृति, सही तौल र मूल्य उल्लेख भएको बिल वा बिजक अनिवार्य रूपमा जारी गर्नुपर्नेछ ।
तोकिएको अधिकतम मूल्यभन्दा बढीमा मासु बिक्री गर्ने, अनुचित नाफाखोरी गर्ने वा कालोबजारी गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
कार्यालयले उपभोक्ताको हितलाई ध्यानमा राख्दै तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न र अनियमितता भए सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved