Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

अन्तर विद्यालय टेबलटेनिस सम्पन्न

३० कार्तिक २०८२, आइतवार

विराटनगर । विराटनगर टेबलटेनिस क्लबद्वारा आयोजित  दोस्रो सेन्चुरी–स्टेलर अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा कक्षा ८–१० सम्मका कनिष्ठ छात्र तथा छात्रा, कक्षा ७ सम्मका उपकनिष्ठ छात्र तथा छात्रा र फरक क्षमता भएका खेलाडीहरुको विशेष टेबलटेनिस स्पर्धा गरी ५  स्पर्धाहरुमा प्रतिस्पर्धा भएको थियो ।

उपकनिष्ठ छात्रा एकलतर्फ बूढानीलकण्ठ स्कुलकी मानसी तामाङ प्रथम, श्रीश्री रविशंकर विद्या मन्दिरकी प्राप्ति सेढाईं द्वितीय, डीएभी स्कुलकी आध्या मुरारका र एभरेष्ट स्कुलकी आशना कटवाल संयुक्त रुपमा तृतीय भए ।

यसैगरि उपकनिष्ठ छात्र एकलतर्फ बूढानीलकण्ठ स्कुलका आयान श्रेष्ठ प्रथम, डीएभी स्कुलका विवान अग्रवाल, द्वितीय, बूढानीलकण्ठ स्कुलका प्रेमराज थापा र बीकेभीएम स्कुलका नयन थापा संयुक्त रुपमा तृतीय भए । कनिष्ठ छात्रा एकलतर्फ श्रीश्री रविशंकर विद्या मन्दिरकी  स्वस्तिका चौधरी प्रथम, एभरेष्ट स्कुलकी कृपा पोखरेल द्वितीय, सेन्ट मेरिज स्कुलकी बिज्ञता थापा र सोही स्कुलकी आस्था खड्का संयुक्त रुपमा तृतीय भए । 

कनिष्ठ छात्र एकलतर्फ लिलीपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, बूढानीलकण्ठ स्कुलका रुपेश श्रेष्ठ द्वितीय, लिलिपुट स्कुलका पृथकराज राई र एभरेष्ट स्कुलका सक्षम बस्नेत संयुक्त रुपमा तृतीय भए ।

विशेष टेबलटेनिस स्पर्धातर्फ अरनिको स्कुलका अनुज कट्वालले श्रीश्री रविशंकर स्कुलका काव्य राजवंशीलाई सोझो सेटमा पराजित गरी प्रथम हुन सफल भए ।

स्टेलर टेबलटेनिस ट्रेनिङ सेन्टरको स्थापनाको दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजना भएको सो प्रतियोगितामा विराटनगर–२ स्थित बूढानीलकण्ठ सेकेन्डरी इङ्लिस स्कुललाई टेबलटेनिस खेलको बिकास, बिस्तार र प्रवर्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन तथा उन्नयनका निम्ति गरेको योगदानका लागि  क्लबका अध्यक्ष बिकेन थापाले विद्यालय प्रतिनिधिलाई कदरपत्र प्रदान गरेका थिए ।
 

View : 491

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved