Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

चाडवाडमा विराटनगरमा सफल सुरक्षा

कमल रिमाल
५ मंसिर २०८०, मङ्गलवार

Advertisement

विराटनगर, ५ मंसिर : प्रदेशको राजधानी तथा महानगर विराटनगरमा यस वर्षको ठूला चाडमा गएका वर्ष जस्तो जघन्य किसिमका अपराधका घटना भएनन् । यसलाई प्रहरीले सफलताको रूपमा लिएको छ ।

दशैं, तिहार र छठको अवधिमा हुने विवादमा मानिस काटिने र मारिनेसम्मका घटना हुने गरेका थिए । मानिस चाडमा रमाइरहेका बेला घरमा चोरी हुने गरेका थिए । तर, यसपालिको चाडमा लुटपाट, डकैती जस्ता घटना भएनन् । घटना नहुनुमा मानिसमा चेतनाको बृद्धि र सुरक्षा मजबुतिलाई मान्न सकिन्छ । सुरक्षामा सशस्त्र प्रहरीको पनि उत्तिकै भूमिका रहेको थियो ।

‘गएका वर्ष जस्तो कुट्ने, काट्ने र चोरी भएनन् यसलाई हामीले सुरक्षा सफलताको रूपमा लिएका छौं’ मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले भने । जिल्ला प्रहरी कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरको सुरक्षाका लागि प्रदेश प्रहरी कार्यालयमार्फत नेपाल प्रहरीको गणबाट थप जनशक्ति मगाएको थियो ।

चाडबाड सकिएकाले सुरक्षा दिन आएका प्रहरी पुनः गणमै फर्कने तयारीमा छन् । मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले विराटनगरलाई चाडबाडमा सुरक्षित राख्न फरक खाले सुरक्षा योजना बनाएका थिए । आफराधिक घटनामा संलग्न ब्यक्तिहरूको निगरानी, जेलबाट छुटेका ब्यत्तिहरूको रेखदेख गर्न सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मानिसको भिडभाड हुने स्थानहरूमा सम्भावित दुर्घटना रोक्न पहिले नै सुरक्षाकर्मीले गोप्य सुरक्षा दिएर बसेका थिए । तिहारमा मानिसले धनमालको पूजा गर्ने र राति अबेरसम्म सम्पत्ति खुल्ला राख्ने चलन छ । मानिसको धनमाल चोरी हुन सक्ने सम्भावना भएकाले सम्भावित चोरको निगरानी गरिएको थियो । मादक पदार्थ सेवन गरेर झगडा हुन नदिन ठाउँठाउँमा चेकिङ राखिएको थियो ।

यस अवधिमा सवारी दुर्घटना भने अन्य दिनको जस्तै भएको प्रहरीले बताएको छ । चोरी र आपराधिक घटनामा संलग्न ब्यक्तिहरू भारततर्फबाट आउन सक्ने भएकाले सीमावर्ति क्षेत्रमा विषेश निगरानी गरिएको प्रहरीको भनाइ छ । पहिलेका चाडबाडमा कस्ता समूहबाट घटना भएको थियो ती समूह वा ब्यक्तिलाई पहिलेदेखि नै निगरानीमा राखिएको उपरीक्षक पोखरेल बताउँछन् ।

संवेदनशील क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको थियो । ‘कतिपय ठाउँमा जुवा खेल्नेहरू भागे र भगाइयो, पटाका रोक्ने प्रयास भयो, प्रहरी यता ब्यस्त हुँदा सीमामा अपराध हुन्छ भन्ने उत्तिकै चुनौति थियो’ पोखरेलले भने । सुरक्षाका लागि गएका वर्षहरूको तुलनामा प्रहरीको संख्या बढाएर परिचालन गरिएको उनको भनाइ छ । 

नेपाल प्रहरीसँगै विराटनगरमा सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो । प्रदेश प्रहरी कार्यालयले गत असोज २८ देखि मंसिर ४ गतेसम्मका लागि विषेश सुरक्षा योजना बनाएर १४ वटै जिल्लामा लागू गरेको थियो ।

शंकास्पद व्यक्तिहरू एवं सार्वजनिकस्थलमा हुने गतिविधिको निगरानी, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत आपराधिक प्रवृत्तिका मानिसहरूको पहिचान र नियन्त्रणमा प्रहरी सक्रिय थियो ।

View : 201

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved