जापान घुम्न जाने नेपालीका लागि टोकियोका अग्ला भवन, तीव्र गतिका रेल, अत्याधुनिक प्रविधि र चम्किला बजार आकर्षणका विषय बन्न सक्छन् । तर जापानलाई नजिकबाट नियाल्दा प्रविधिभन्दा पनि अर्को कुरा बढी प्रभावशाली लाग्छ—त्यहाँको अनुशासन, अरूलाई असहज नबनाउने संस्कार र सार्वजनिक जीवनमा देखिने जिम्मेवारीबोध ।
राजधानी टोकियो तथा आसपासका क्षेत्रमा यात्रा गर्दा यसको अनुभूति पटक–पटक हुन्छ । हातमा पानी, जुस वा अन्य पेय पदार्थका खाली बोतल बोकेर हिंडिरहेका मानिस देखिन्छन् । तर बाटोमा जहाँ पायो त्यही फाल्ने होइन, घर, कार्यालय वा उपलब्ध डस्टबिनसम्म पुर्याउने बानी उनीहरूको दैनिकीको हिस्सा बनेको देखिन्छ । हामीकहाँ सडक सफा गर्ने जिम्मेवारी नगरपालिका वा सफाइ कर्मचारीको हो भन्ने मानसिकता अझै बलियो छ ।
जापानमा भने आफूले फोहोर नगर्नु र आफूले उत्पादन गरेको फोहोरको व्यवस्थापन आफैं गर्नु सामाजिक संस्कारजस्तै बनेको देखिन्छ । टोकियोको सिनओकुवो क्षेत्र नेपाल र बंगलादेशका नागरिकको बाक्लो उपस्थितिका कारण नेपालीका लागि पनि परिचित ठाउँ बनेको छ । त्यहाँ धेरै नेपालीका होटल र बंगलादेशीका पसल छन् । कुनै समय दक्षिण कोरियाली समुदायको व्यावसायिक उपस्थिति रहेको सो क्षेत्रमा अहिले नेपाली तथा बंगलादेशीले विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् ।
विदेशमा पुगेपछि पनि आफ्नो देशको संस्कृति र खानपानसग जोडिएका वस्तु खोज्ने नेपाली र दक्षिण एसियाली समुदायका कारण सिनओकुवोमा फरक किसिमको वातावरण देखिन्छ । तर जापानी सामाजिक नियम भने सबैका लागि समान छन् ।
उदाहरणका लागि, धूमपानलाई जापानले निकै कडाइका साथ नियमन गरेको छ । जापानमा २० वर्षभन्दा कम उमेरका व्यक्तिले चुरोट किन्न वा सेवन गर्न पाउँदैनन् । २०२० देखि लागू भएको संशोधित स्वास्थ्य कानुनअनुसार धेरैजसो सार्वजनिक तथा व्यावसायिक भवनभित्र धूम्रपान मूलतः निषेध गरिएको छ र धूमपान गर्न तोकिएका कक्ष वा स्थानको व्यवस्था गर्नुपर्ने हुन्छ ।
यसको प्रभाव सार्वजनिक जीवनमा स्पष्ट देखिन्छ । सडकमा हिड्दै चुरोट तान्ने, जहाँ पायो त्यहीं ठूटा फाल्ने वा अरूलाई धुँवाले असहज बनाउने कुरा सामान्य मानिंदैन । जापानमा सार्वजनिक स्थानमा चुरोट खान तोकिएका स्थान प्रयोग गर्नुपर्ने हुन्छ ।
भरत जर्घामगर र म सिनओकुवोमै रहेको रोयल होटलमा बस्न पुग्यौं । काउन्टरमा पासपोर्ट स्क्यान गराएपछि होटलका कर्मचारीले धूमपान गर्ने हो कि होइन भनेर सोधे । हामीले उत्तर दिएपछि मात्रै होटल प्रवेशको प्रक्रिया पूरा भयो । कोठाभित्र राखिएको सूचनाले झनै ध्यान तान्यो । होटलको कोठामा चुरोट पिएर त्यसको असर हटाउन अतिरिक्त सफाइ आवश्यक परेमा २५ हजार येनसम्मको शुल्क लाग्ने उल्लेख थियो ।
क्यानाडामा रहेका मित्र सञ्जीव खनालसँग भिडियो कुराकानीका क्रममा उनले होटलको कोठाको छतमा धुवाँ पत्ता लगाउने उपकरण रहेको बताए । चुरोट मात्र होइन, अगरबत्ती बाल्दा पनि धुवाँले अलार्म बज्न सक्ने उनको भनाइ थियो ।
जापानको सार्वजनिक यातायातमा देखिने अर्को उल्लेखनीय पक्ष हो—मौनयात्रा । टोकियोको मेट्रोमा हजारौं मानिस एकैपटक यात्रा गरिरहेका हुन्छन् । तर कोही ठूलो स्वरमा कराइरहेको, मोबाइलमा लामो कुराकानी गरिरहेको वा साथीहरूसग चर्को स्वरमा हँसिरहेको दृश्य देखिदैन ।
जापानको आधिकारिक पर्यटन निकायले पनि रेल तथा बसमा मोबाइल फोनमा कुरा नगर्न र फोनलाई साइलेन्ट मोडमा राख्न सुझाव दिएको छ । टोकियो मेट्रोले पनि यात्राका क्रममा फोनमा कुरा नगर्न र भीडका समयमा प्राथमिकता सिट आसपास मोबाइल बन्द गर्न आग्रह गर्छ ।
हामीकहाँ भने छोटो दूरीको आन्तरिक हवाई यात्रामा समेत जहाज चढ्दा वा ओर्लंदा घरमा फोन गरेर ‘पुगें’ वा ‘चढें’ भनेर जानकारी दिने बानी छ । एकै पटक धेरैले जनाउ दिंदा जहाजमा हल्ला सुनिन्छ । नारिता विमानस्थलबाट करिब पाँच सय यात्रु अट्ने विमान चढ्दा र ओर्लंदा हामीले त्यस्तो भीडमा उभिएर फोनमा चर्को स्वरमा कुरा गरिरहेका यात्रु देखेनौं ।
नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको मिडिया सम्मेलनका क्रममा वक्ताहरूले पनि सार्वजनिक यातायातमा यात्रा गर्दा अरू यात्रुलाई असहज नहुने गरी व्यवहार गर्नुपर्ने विषयमा चर्चा गरेका थिए ।
मेट्रो, बुलेट ट्रेन वा मोनोरेलमा चढ्दा लाइनमा बस्ने, पहिले ओर्लने यात्रुलाई बाटो दिने, ढोकामा अनावश्यक रूपमा नअडिने र ठूलो आवाज नगर्ने जस्ता सामान्य देखिने नियमलाई जापानमा गम्भीरताका साथ पालना गरिन्छ । टोकियो मेट्रोले पनि ढोकाबाट यात्रु ओर्लनुअघि बाटो छाड्न र आवश्यक परे झोला आफैं सम्हालेर अन्य यात्रुलाई अवरोध नगर्न आग्रह गर्छ ।
जापानी समाजको एउटा फरक पक्ष भने अवश्य देखिन्छ—वृद्ध उमेर पुगेका मानिस पनि सकेसम्म आफ्ना काम आफैं गर्न खोज्छन् । ८०–९० वर्ष उमेर पुगेका मानिसलाई समेत बस, रेल वा बजारमा एक्लै यात्रा गरिरहेको देख्न सकिन्छ । यसले आत्मनिर्भर जीवनशैलीको चित्र देखाउँछ ।
समुद्र किनारमा घुमिरहेका बेला हाम्रो समूहका एक साथीले भुइँमा झरेको घडी उठाए । हामीसगै रहेका जापानका अग्रज पत्रकार तिलक मल्लले घडी त्यहीं राखिदिन आग्रह गरे । उनको भनाइ थियो— घडीधनी त्यही बाटो फर्किएर सामान खोज्न आउन सक्छ । नभए फेला परेको सामान सम्बन्धित निकाय वा प्रहरीले सुरक्षित रूपमा लैजान्छ ।
हामीलाई सामान्य लाग्न सक्ने त्यो व्यवहार वास्तवमा जापानको कानुनी र सामाजिक संस्कारसँग जोडिएको छ । यस्ता कुरा जापानमा रहेका मित्रहरु सोम घिमिरे, आनन्द कोइरालाले केही केही पहिलेनै बताएका थिए । कुनै पसल, स्टेशन वा अन्य व्यवस्थापन भएको स्थानमा भेटिए सम्बन्धित व्यवस्थापकलाई बुझाउनुपर्ने व्यवस्था छ ।
अझ रोचक कुरा, जापानमा फेला परेको सामान आफैं राख्नु कानुनी समस्याको विषय बन्न सक्छ । अर्थात् ‘भेटियो, मेरो भयो’ भन्ने मानसिकता त्यहाँ स्वीकार्य छैन ।
टोकियो जस्तो विशाल महानगरमा मानिसको भीड अत्यधिक छ । तर सार्वजनिक क्षेत्रमा प्रहरीको उपस्थिति हरेक ठाउँमा देखिंदैन । कानुनको डर मात्र होइन, कानुन पालना गर्नुपर्छ भन्ने सामाजिक संस्कार बलियो हुनु जापानको महत्वपूर्ण विशेषता हो ।
टोकियोका सफा सडकमा हिड्दा अर्को कुरा ध्यान खिच्छ—सडकमा थुक्ने मानिस देखिदैनन् । पान थुकेको डोब पुरस्कार दिने भए पनि भेटिदैन ।
हामीकहाँ सार्वजनिक स्थानमा थुक्नु सामान्यजस्तो देखिए पनि जापानमा यस्तो व्यवहार सामाजिक रूपमा स्वीकार्य छैन । खोकी लागेमा वा नाकबाट पानी आएमा टिस्यु वा रुमाल प्रयोग गर्ने र गोजीमा हाल्ने गरिन्छ ।
जापान जाने नेपालीको संख्या बढिरहेको छ । रोजगारी, अध्ययन, व्यवसाय र भ्रमणका लागि जाने नेपालीले जापानलाई अवसरको देशका रूपमा हेर्छन् । तर पर्याप्त पूर्वतयारी नगरी जापान पुग्दा समस्या हुन सक्छ ।
जापानी भाषा नजान्नु मात्र समस्या होइन । त्यहाँको सामाजिक व्यवहार नबुझ्नु अझ ठूलो समस्या बन्न सक्छ ।
पहिलोपटक जापान पुग्दा कतिपय नेपालीलाई जापानी जीवन शैली अनौठो लाग्न सक्छ । हामी नेपाली विदेश पुग्दा ‘नेपालभन्दा कति विकसित रहेछ’ भनेर आश्चर्य मान्छौं । तर विकासको ठूलो हिस्सा भवन, सडक र प्रविधिमा मात्र हुँदैन । समाजका मानिसले दैनिक जीवनमा पालना गर्ने साना नियम नै संस्कारको ठूलो आधार हुन् । मैले जापानबाट फर्किंदा कुनै उपहार, कपडा वा इलेक्ट्रोनिक सामान ल्याइन । ल्याएत– एउटा अनुभूति ।
View : 159
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved