अनुगमन समितिले बुझायो प्रतिवेदन
विराटनगर । विराटनगरमा रात्रीकालिन समयमा सञ्चालित अधिकांस होटल, रेष्टुरेन्ट तथा गीत गजलहरू मापदण्ड विपरित सञ्चालन भैरहेको पाइएको महानगरपालिकाले जनाएको छ ।
रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले बिहीबार महानगरपालिकाका मेयर नागेश कोइरालालाई बुझाएको प्रतिवेदनमा उक्त कुरा औंल्याइएको छ ।
प्रतिवेदनमा अधिकांस रेष्टुरेन्ट, गजल, दोहोरी साँझले सुरक्षा निकाय र महानगरपालिकाले तोकेको मापदण्ड पूरा नगरेको पाइएको उल्लेख गरिएको छ ।
रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समिति गठन गरेको थियो । समितिले २२ वटा रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदन तयार पारेको महानगरले जनाएको छ ।
ती मध्ये एक दर्जन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले ध्वनि प्रदूषण गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार १३ वटाले कर्मचारीलाई परिचयपत्रको व्यवस्थापन नगरेको, १८ वटाले पोशाकको व्यवस्थापन नगरेको, १७ बटाले सुरक्षा गार्डको व्यवस्थापन नगरेको, चारवटाले आवासको व्यवस्थापन नगरेको पाइएको छ । अनुगमन गरिएका सबै होटलहरूले आगलागी नियन्त्रण गर्ने उपकरण नराखेको पाइएको प्रतिवेदनमा औंल्याइएको छ ।
तर अनुगमन गरेका सबैमा होटलहरूमा सीसी क्यामेरा भने जडान गरिएको पाइएको छ ।
ग्राहक तान्न व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको प्रतिवेदनमा औंल्याइएको छ ।
अनुगमन गरेका २२ रात्रीकालीन होटल व्यवसायमा ३ सय १९ पटक गरिएको अनुगमनका क्रममा कमजोरी भेटिएका व्यवसायीलाई महानगरले सुधार गर्न पत्रसमेत पठाइसकेको बताइएको छ ।
गत पुस ४ गते मेयर कोइरालाको अध्यक्षतामा बसेको व्यवसायीसहितको सरोकारवालाहरूको बैठकले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो ।
समितिमा महानगरको राजस्व शाखाका कर्मचारी बासुदेव भण्डारी, रात्रीकालीन होटल व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, होटल व्यवसायी बविता चौधरी, नारायण तिम्सिना सदस्य थिए ।
View : 207
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved