विराटनगर । विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले महानगरलाई ज्येष्ठ नागरिकमैत्री बनाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा सफल हुन नसकेको बताए ।
उनले ज्येष्ठ नागरिकका अनुभव र सल्लाहलाई आत्मसात् गरेर अघि बढे मात्र समाज र नगरको विकास प्रभावकारी हुने धारणा राखे ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बिहीबार ज्येष्ठ नागरिक बौद्धिक मञ्च, विराटनगरको तेस्रो साधारणसभा तथा वृहत् छलफल कार्यक्रममा वडाध्यक्ष नेउपानेले सो विचार राखेका हुन् ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याउने ११ जना विशिष्ट ज्येष्ठ नागरिकलाई सम्मानसहित संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको छ ।
समाज निर्माण, उद्यम, शिक्षा, साहित्य, सञ्चार तथा सामाजिक सेवाका क्षेत्रमा अतुलनीय योगदान दिने समाजका जीवित इतिहास मानिने ११ जना अग्रजलाई कार्यक्रमका प्रमुख अतिथि प्राडा मीनराज ढकाल, संस्थाका अध्यक्ष सतिशकुमार कर्ण र उपाध्यक्ष सुरबहादुर श्रेष्ठले सम्मान गरी मानार्थ सदस्यता प्रदान गरेका थिए ।
सम्मानित हुनेहरूमा समाजसेवी जगतप्रसाद अर्ज्याल, सीता पोखरेल, उद्योगी ताराचन खेतान, सञ्चारकर्मी तथा प्राध्यापक शिवबहादुर कार्की, साहित्यकार मधु पोखरेल, त्रिलोक न्यौपाने, भगतलाल श्रेष्ठ, लव प्रधान ‘मित्र’, कमलकिशोर यादव, दामोदर घिमिरे तथा भुवनेश्वरी आचार्य रहेका छन् ।
साे अवसरमा प्राडा ढकालले ज्येष्ठ नागरिकहरूले जीवनभर आर्जन गरेको अनुभवलाई एकत्रित गरी समग्र क्षेत्रको विकासमा लगाउन मञ्चले खेलेको भूमिकाको प्रशंसा गरे ।
यस्तै, बुद्धिजीवी दिनेश श्रेष्ठले विश्वमा मानिसको औसत आयु ७३ वर्ष रहँदा नेपालमा ७२ वर्ष पुग्नुले देशको स्वास्थ्य सेवामा सुधार भइरहेको सङ्केत गरेको उल्लेख गरे ।
कार्यक्रममा रामरिझन यादव तथा संस्थाका महासचिव हरि अधिकारी लगायतका वक्ताले विराटनगरलाई ज्येष्ठ नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिए ।
साधारणसभाको बन्दसत्रमा अध्यक्ष सतिशकुमार कर्णले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष यमन मेहताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved