Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

सहिदभूमिका गाउँ–गाउँमा घुम्ती शिविर

रविन कटेल
१६ माघ २०८०, मङ्गलवार

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले गाउँ–गाउँमा एकीकृत घुम्ती शिविर आयोजना गरेको छ । सर्वसाधारण नागरिकलाई गाउँमै पुगेर सेवा प्रदान गर्न गाउँपालिकाले वडा नं.–१ स्थित धापबाट घुम्ती शिविर अभियान सुरु गरेको हो ।

अब, पालिकाका सबै वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । बालबालिका, वृद्धवृद्धा र अपांगता भएका अशक्त नागरिकलाई लक्षित गरेर पालिकाका सात वटै वडामा घुम्ती शिविरमार्फत सेवा प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

‘हामीले वडा नं १ को धापबाट घुम्ती शिविर सुरु गरेका छौं, अब सबै वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गर्छौ,’ अध्यक्ष राईले भने, ‘विशेषगरी बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकलाई लक्षित गरेका छौं, तर पनि शिविरबाट सबै नागरिकले सेवा पाउनु हुन्छ ।’

घुम्ती शिविरमा स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण, स्वास्थ्य सामग्री वितरण र परिवार नियोजन सेवा प्रदान गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले जानकारी दिए । शिविरमा ज्येष्ठ नागरिकलाई कम्बल पनि वितरण गरिदै आएको छ ।

शिविरमा जिल्ला अस्पतालका प्रमुख डा अमिताभ ठाकुरसहित स्वास्थ्यकर्मीहरूको टोली स्वास्थ्य उपचारमा खटिएको छ । डाक्टरहरूको टोलीले महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या लगायतको परीक्षण गर्ने गरेको छ । त्यस्तै, अन्य बिरामीहरूको पनि परीक्षण गर्ने गरिएको छ । अपाङ्गता भएका व्यक्तिको पनि परीक्षण गरी शिविरमै अपाङ्गता परिचय पत्र वितरण भइरहेको छ ।

पहिलो दिन धापमा आयोजित घुम्ती शिविरमा २५० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र २० जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । ३२ जना ज्येष्ठ नागरिकलाई कम्बल प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष राईका अनुसार यस पटक ८० देखि ८४ वर्ष उमेरका २१४ जना ज्येष्ठ नागरिकलाई कम्बल प्रदान गरिनेछ । अघिल्ला आर्थिक वर्षमा पालिकाले ८४ वर्षभन्दा माथिका करिब ४ सय ज्येष्ठ नागरिकलाई कम्बल बाँडेको थियो ।

माघ १५ गते छिन्ताङ साम्बुगाउँ स्वास्थ्य चौकी, १६ गते खोकु स्वास्थ्य चौकी, १७ गते ६ नं वडा कार्यालय र १८ गते चाम्चा सामुदायिक स्वास्थ्य इकाइमा घुम्ती शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved