विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीहरूले अब दोहोर्याएर रेफर लिनु नपर्ने भएको छ । एक पटक प्रेषण स्वीकृत(रेफर) कागज बनाएपछि सोही रोगका लागि फलोअपमा अस्पताल जानुपरेमा पुनः ‘रेफर’ लेटर बनाउन नपर्ने नियम बिमा बोर्डले बनाएको हो ।
गत बुधबार बसेको स्वास्थ्य बिमा बोर्डको बैठकले एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निर्क्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः प्रेषण स्वीकृति(रेफर) लिइरहनु नपर्ने व्यवस्था गरेको हो । बोर्ड यो निर्णयपछि प्रत्येक पटक रेफर लेटर बनाउनुपर्ने झन्झटबाट स्वास्थ्य बिमा सेवा लिने बिरामीहरू मुक्त हुने भएका छन् ।
यसअघि नियमित फलोअपमा गइरहनुपर्ने स्वास्थ्य बिमामा आबद्ध बिरामीले उपचार सुविधा लिनका लागि हरेक पटक प्रथम बिन्दुबाट रेफर कागज लिएर जानुपर्ने बाध्यता थियो । रेफर बनाएको एक साताभित्र सेवा लिइसक्नुपर्ने बाध्यताले बिरामीहरूलाई स्वास्थ्य बिमा सेवामार्फत सबै प्रकारका सेवा लिन निकै कठिन थियो ।
कतिपय अवस्थामा बिरामीहरू फलोअपमा गइराख्नुपर्ने हुँदा बारम्बार प्रथम सेवा बिन्दुवाट रेफर लेटर मागिरहनु बिरामीका लागि निकै नै अव्यवहारिक र झन्झटिलो हुने गरेको थियो । त्यसलाई सुधार गर्ने प्रक्रियास्वरुप बोर्डले एउटै रोगका लागि फलोअपमा जानुपर्ने बिरामीले हरेक पटक रेफर कागज गराइराख्नु नपर्ने व्यवस्था मिलाएको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले बताए ।
‘सबै उपचार सेवा बिरामीले आफू सहज हुने प्रथम बिन्दुमा उपलब्ध नहुँदा सो बिन्दुबाट कहाँ उपचारको लागि जानुपर्ने हो सोही अस्पतालको नाममा प्रत्येक पटक रेफर कागज बनाउनु पर्दैन,’ पण्डितले भने ‘कुनै पनि रोगका बिरामी १५ दिन, एक महिना वा ६ महिनामा फलोअप जानु परिराख्छ भने सोही रोगका लागि जति पटक फलोअपमा जानु परे पनि रेफर लिइराख्नु पर्दैन । तर फरक रोगको उपचारका लागि हो भने चाहिन्छ ।’
उक्त बैठकमा बोर्डले अब नियमित औषधि खानुपर्ने स्वास्थ्य बिमामा आबद्ध दीर्घरोगका बिरामीका लागि पनि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने व्यवस्था मिलाएको छ । यसअघि यस्ता बिरामीलाई पनि बिमाले एक महिनाका लागि मात्रै औषधि दिने गर्दथ्यो ।
फलोअपमा तीन महिनाका लागि बोलाउने तर औषधि एक एक महिनामा लिनुपर्ने अवस्थाले पनि बिरामीलाई थप झन्झट मात्र होइन, अस्पताल धाउँदा धन र समयको खर्च पनि हुने गरेको र अस्पतालमा पनि अनावश्यक भीड थपिन्थ्यो । दुवै पक्षलाई सहजताका लागि यो पनि सुधार्ने कोसिस गरेको बिमा बोर्डले जनाएको छ ।
बुधबारको बैठकले सेवा प्रदायकको दाबी भुक्तानी, सह-भुक्तानी, सुविधा थैलीको औषधिको मूल्य समायोजन लगायतका विषयमा पनि महत्त्वपूर्ण निर्णय गरेको छ ।
View : 141
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved