इटहरी । सुनसरी इटहरीका व्यवसायी, गीतकार तथा समाजसेवी भाइसन बर्देवाको उपचारका क्रममा भारतमा शुक्रबार राति निधन भएको छ ।
मृगौला र मुटुमा समस्या देखिएपछि उपचाररत बर्देवाको भारतको भेल्लोरस्थित अस्पतालमा निधन भएको हो । उनको शव आइतबार इटहरीस्थित घरमा ल्याइएको छ ।
काठमाडौंमा उपचार सम्भव नभएपछि दिल्ली हुदै भेल्लोरमा उपचार गराइरहेका बर्देवाको निधनले इटहरीलाई ठूलो क्षति भएको उनको सहकर्मीहरुले बताएका छन् ।
इटहरीको पहिचान समेटिएको चर्चित गीत ‘इटहरी हो इटहरी’ मा उनले प्रकाश ओझासँग अभिनयसमेत गरेका थिए ।
बर्देवा गीतकारका रूपमा पनि परिचित थिए । उनले लेखेका गीतमा कर्णदास, रामकृष्ण ढकाल र आनन्द कार्कीलगायतका कलाकारले स्वर दिएका छन् ।
बर्देवा लामो समयदेखि इटहरीको विराटनगर लाइनमा एञ्जल टेलर्स सञ्चालन गर्दै आएका स्थापित व्यवसायी हुन् ।
व्यवसायसँगै बर्देवा कपडा तथा सिलाइ व्यवसायीको संगठनमा समेत सक्रिय थिए । विवाहका लागि नवदुलाहाका सुट सिलाउने व्यवसायमा एञ्जल टेलर्स परिचित नाम हो ।
उनका टेलर्समा तयार हुने पोसाक इटहरीबाहेक देशका विभिन्न स्थान तथा विदेशसम्म पुग्ने गरेको छ । बर्देवा विद्यार्थी जीवनमा फुटबल खेलाडीका रूपमा समेत सक्रिय थिए ।
इटहरी जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी रहेका उनी सामाजिक गतिविधिमा पनि जोडिदै आएका थिए ।
गरिब तथा विपन्न परिवारलाई राहत, विद्यार्थीलाई शैक्षिक सामग्री तथा विभिन्न सामाजिक अभियानमा उनको सहभागिता रहदै आएको थियो ।
व्यवसाय, गीत–संगीत, साहित्य, खेलकुद र सामाजिक सेवामा सक्रिय बर्देवाको निधनसगै इटहरीले बहुआयामिक व्यक्तित्व गुमाएको छ । इटहरी–६ निवासी स्वर्गीय बर्देवाका उनका तीन छोरा, श्रीमती छन् ।
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved