विराट गोल्डकप
विराटनगर । रमपम विराट गोल्डकपको दोस्रो दिनको खेलमा भारतको दिल्ली सुदेवा क्लवलाई पराजित गरेर सशस्त्र प्रहरीको एपीएफ क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुबै तर्फबाट गोल नभएपछि बेलुका ९ बजेर २० मिनेट गएकाले खेललाई सिधै पेनाल्टीमा लगिएको थियो । जसमा दिल्लीलाई एपीएफले ३ का बिरूद्ध ५ गोल प्रहार गरेको छ ।
गोल्डकपमा भारतका दुई टीम सहभागी भएकोमा दुबै पहिलो खेलबाटै बाहिरिएका छन् ।
पहिलो दिनको खेलबाट भारतको अर्को टीम मोरङसँग पराजित भएको थियो । यसअघिका प्रतियोगिताहरूमा भारतका टीम सेमिफाइनलसम्म पुग्ने गरेका थिए ।
एपीएफ क्लव र भारत दिल्लीको सुदेवा क्वल बीचको प्रतिस्पर्धा रोमाञ्चक थियो । दुबै टीमले क्वाटर फाइनलको यात्रा तय गर्न निकै प्रयास गरे ।
उद्घाटन खेलमा सोमबार रिजालको मोरङ फुटवल एकेडेमीले भारत कोलकाता फुटवल क्लवलाई २ का बिरूद्ध ३ गोलले पराजित गरेर क्वाटरफाइनल प्रवेश गरेको थियो । बुधबारको पहिलो क्वाटरफाइनल खेल मोरङ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लवबीच हुँदैछ ।
कुनै बेला नेपालकै सर्वाधिक राशि भएको यो गोल्डकपको पुरस्कारको रकम देशको आर्थिक अवस्थासँगै खस्किएको आयोजकले जनाएको छ ।
तत्कालिन राजा महेन्द्रको नामबाट २०१८ सालमा स्थापना भएको गोल्डकपको नाम देशमा गणतन्त्र आएपछि परिवर्तन गरिएको थियो । ३९ संस्करण महेन्द्र गोल्डकपका नामले चलेपछि विराट गोल्डकपका नामले सञ्चालन गरिएको यो नवौं संस्करण हो ।
नेपालका ८ र भारतका २ टिम सहभागी रहेको प्रतियोगिता रात्रिकालिन भएकाले पनि दर्शक समय निकालेर मैदानमा पुगेका छन् ।
नेपाली टीमहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मछिन्द्र फुटवल क्लव, थ्रीस्टार क्लव, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लव, रिजालको मोरङ ११, भारतको सुदेभा दिल्ली फुटवल क्लव र कोलकाता सहभागी छन् ।
बिजेतालाई ११ र उपबिजेतालाई ५ लाख राशिको नगद पुरस्कार राखिएको छ ।
२ सय रूपैयाँको टिकट काट्नेलाई बिभिन्न क्षेत्रमा छुट दिइएकाले एक दर्शकले एक खेल हेर्दा स्वास्थ्य क्षेत्र, किराना, मोटरसाइकलको टायर खरिद, रेष्टुरेण्टलगायतका क्षेत्रमा २ हजार रूपैंयाँसम्मको छुट पाउने प्रतियोगिता संयोजक नवीन रिजालले बताए ।
उनले यस पटकको गोल्डकपका दर्शकले धेरै क्षेत्रबाट लाभ पाउने दाबी गरेका छन् ।
View : 105
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved