विराटनगर । व्यक्तिको आदेशमा पदबाट राजीनामा दिने अडान लिएर अध्यक्ष केपी ओलीलाई गलाएर काठमाडौंबाट विराटनगर फर्केका कोशीका मुख्यमन्त्री हिक्मत कार्की बिहीबार तनावरहित देखिन्थे ।
विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नले घेरिएका उनले एमालेभित्रको किचलो बारे धेरै केही बोलेनन् । तर, कोशीमा अब सबैसँग सहकार्यका लागि छलफल थाल्ने भन्दै उनले कांग्रेससँग पनि संवाद हुने उल्लेख गरे ।
नेकपासँगको तीन बुँदे सहमति कार्यान्वयन गर्नैपर्ने बाध्यतामा रहेका मुख्यमन्त्री कार्कीले कोशीमा कांग्रेससँग पनि संवाद गर्ने योजना किन बनाएका हुन् ? कांग्रेस मन्त्रीहरूको राजीनामा र सरकारबारे सोधिएको प्रश्नमा मुख्यमन्त्री कार्कीले भने, ‘अहिलेको प्राथमिकता राजीनामाभन्दा पनि सबैलाई मिलाएर अघि बढ्ने हो । कांग्रेसको केन्द्रीय नीतिका कारण केही कुराहरू आएका छन्, यसबारे भोलिदेखि नै छलफल प्रारम्भ गर्छौं । केही दिनभित्रै निकास दिनेछौं ।’
उनले साउन ९ गते भएको सहमतिलाई अक्षरशः पालना गरिने प्रतिबद्धता समेत दोहोर्याए ।
एमालेले कांग्रेससँगको सहकार्य तोडिसकेको छ । तर, एमालेकै सचिव कार्कीले भने कोशीमा कांग्रेससँग पनि संवाद गर्ने अभिव्यक्ति दिनुका पछि प्रदेशमा देखिएको एउटा स्थितिको परिणाम भएको नेताहरु बताउँछन् ।
‘मुख्यमन्त्री कांग्रेसका मन्त्रीहरु आफै राजीनामा दिएर जाउन् भन्ने पक्षमा हुनुहुन्छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो ‘तर, कांग्रेसले भने अझै केही दिनमा मात्रै राजीनामा दिने बताउँदै मुख्यमन्त्रीले नै हटाइदिए हुने भन्ने मानसिकतामा देखिएको छ । मुख्यमन्त्रीले छलफल गर्ने भनेको त्यसैका लागि हो ।’
कांग्रेस नेताहरुले भने एक दुई दिनमै मन्त्रीहरुले राजीनामा दिने बताइरहेका छन् । संसदीय दलका एक पदाधिकारीले मुख्यमन्त्रीकै आग्रहमा मन्त्रीहरुले राजीनामा नगरेको बताए ।
‘हामी अस्ति नै सरकार छाड्नेवाला थियौं, मुख्यमन्त्रीको आग्रहका कारण बसेका हौं,’ कांग्रेसका ती नेताले भने ‘मुख्यमन्त्री फर्केपछि छलफल गरेर निर्णय लिइनेछ ।’
पछिल्ला केही सातादेखि एमालेभित्र कोशी सरकारको नेतृत्व परिवर्तनलाई लिएर तीव्र खिचातानी चलिरहेको थियो ।
एमाले अध्यक्ष ओलीले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको र कार्कीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर, मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) अनुसार बनेको सरकार भएकाले सामान्य राजनीतिक दबाबका भरमा राजीनामा नदिने र संस्थागत निर्णय आवश्यक पर्ने अडान राख्दै आएका थिए ।
विवाद उत्कर्षमा पुगेपछि समस्या समाधानका लागि मुख्यमन्त्री कार्की र प्रदेश नेतृत्वलाई काठमाडौं बोलाइएको थियो ।
बुधबार ओली निवास गुण्डुमा भएको दुई चरणको छलफलपछि दुवै पक्ष मध्यमार्गी निकासमा पुगेका हुन् ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार, अहिलेलाई कार्कीकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने तर पार्टी अध्यक्षले आवश्यक ठानेर पद छाड्न निर्देशन दिएको जुनसुकै समयमा उनी हट्न तयार हुने गरी सहमति जुटेको थियो ।
यस सहमतिसँगै कार्कीको मुख्यमन्त्री पद तत्कालका लागि सुरक्षित भए पनि उनको भविष्य अध्यक्ष ओलीको भावी निर्णयमै निर्भर रहने देखिएको छ ।
मुख्यमन्त्री निकट स्रोतहरुले कोशीमा तिलकुमारको पक्षमा बहुमत नजुट्ने सम्भावना देखेपछि ओली ब्याक भएर कार्कीले निरन्तरता पाएको दाबी गरेका छन् ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved