Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बेतना सिमसारमा संरक्षण गरिएको ६० किलोको भाले चित्तल मध्यरातमा चोरी

हातखुट्टा टेकेर संरक्षण घेराभित्र प्रवेश गरेका थिए तस्कर समुह
मणिराम दाहाल
१३ फागुन २०८०, आइतवार

सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिका–४ स्थित बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहले कार्यालय परिसरभित्रै संरक्षित गरेर राखेको भाले चित्तल गएराती एक समुहले चोरेको छ । तस्करहरुको समुहले घेराबेराभित्र राखिएको भाले चित्तललाई रातको समयमा नियन्त्रणमा लिएर मारेर लगेको अनुमान गरिएको छ ।

त्यहाँ रहेका ६ वटा चित्तलहरु मध्ये उक्त भाले चित्तल शनिबार राति २ देखि ३ बजेको बिचमा संरक्षणका लागि बनाइएको घेराबेराभित्रबाटै चोरिएको वन उपभोक्ता समुहको सीसीटीभी फुटेजमा देखिएको छ । संरक्षण गरेको स्थानभित्रै तस्करको समुह प्रवेश गरी चित्तल मारेर लगेको समुहका पदाधिकारीहरुले अनुमान गरेका छन् । 

चित्तल राखिएको घेराबेराभित्र तस्करको समुह प्रवेश गरेर मारेर लगेको बेतना सिमासार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिए । उनले सीसीटीभीमा हेर्दा जनावरको जस्तो हातखुट्टा टेकेर जनावर हिंडेकै अभिनय गर्दै मानिस प्रवेश गरेको देखिएको उनले बताए । 

बेपत्ता बनाइएको चित्तल करीव ६० केजीको रहेको जनाइएको छ । संरक्षित चित्तल मारिएपछि थप अनुसन्धान अघि बढाइएको छ ।

सिमसारमा १२ जना कर्मचारी रहेका छन् । जसमध्ये दुई जना रात्रीकालिन सुरक्षा गार्ड समेत रहेका छन् । सिमसार क्षेत्रमा संरक्षित गरेर राखिएका पशुपंक्षी तथा जनावरहरू कतिपय मरिसकेका छन् भने कतिपय राखेकै ठाउँबाट भाग्ने र हराउने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

ती जनावरहरु संरक्षण गरिएका स्थानमा सुरक्षा गार्ड समेत भएकोले बेतना सिमसारबाट चित्तल चोरी हुनु सामान्य बिषय नभएको मोरङ जिल्लाका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । उनले नियम कानुनमा वन्यजन्तु मार्न र चोरी गर्न नपाइने उल्लेख गर्दै त्यस्ता व्यक्ति वा समुहको खोजतलास गरि कारवाही गर्ने बताए ।

यसअघि सुन्दरहरैंचामा जंगली हात्तीको गोली हानेर मारिएको थियो । हात्तीको पुच्छर समेत काटेर लगेको पाइएको थियो । उक्त घटना सेलाउन नपाउँदै सिमसार परिसरबाटै चित्तल चोरिएको हो ।

View : 597

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved