सुन्दरहरैंचा । सुन्दरहरैंचा–८ सलकपुर खानेपानी टंकी छेउमा स्थानीय विनोद मण्डलको घर राति जंगली हात्तीले भत्काएर क्षति पुर्याएको छ । मङ्लबार रातिको दुई बजे २ वटा जंगली हात्तीले घर भत्काएर घरभित्र राखिएको धान, चामल, पिठो खाएकोले आफू चिन्तित रहेको घर धनी मण्डलले बताए ।
हात्तीले घरको टाटी भत्काएर धक्का दिई बिम भाँचेर घरसमेत ढल्काइ दिएकोले ७ जनाको परिवार भएको त्यहाँ बस्न गरिब परिवारलाई जाडोमा गाह्रो भएको मण्डलले उल्लेख गरे । स्थानीय सरकार तथा सम्बन्धित पक्षले यसमा ध्यान दिएर राहत दिनुपर्ने मण्डल परिवारको भनाइ छ ।
केही दिन अघि सोही स्थानबाट करिब ४ किलोमिटर पूर्व सामुदायिक वनमा एक जंगली हात्तीको गोली हानेर हत्या गरी पुच्छर काटेर गायब गरिएको थियो । एक महिना विति सक्दा पनि अहिलेसम्म हात्तीको हत्यारा पत्ता लाग्न सकेको छैन ।
झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा अहिले पनि हात्तीको बथान ठूलो संख्यामा रहेको साथै साँझ परेपछि हात्तीहरू जंगल नजिकैको वस्तीमा पुगेर उपद्रो मच्चाउने गरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।
उनले जंगली हात्तीलाई कसैले जिस्काउने तथा जथाभावी लखेट्ने गर्दा मान्छेमा आक्रमण गर्ने भएकोले यसतर्फ सचेत रहन आग्रह गरे । उनले हात्ती जंगलबाट मानव वस्तीमा प्रवेश गरेको सूचना एक अर्कामा आदानप्रदान गरेर रातमा उज्यालो बत्ती र साइरनको व्यवस्था गरिएको जानकारी दिए ।
‘जंगल नजिकको बस्तीमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्नु हुँदैन’ घिमिरेले भने, ‘हात्तीले जााड रक्सी खान मन पराएर मान्छेलाई आक्रमण गर्न सक्छ । वनजंगलको बीचमा हात्तीलाई सहज होस् भनेर पानीको दह तथा पोखरी निर्माण गरी फलफूलको बिरूवा रोप्नुपर्छ ।’
View : 201
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved