विराटनगर । विराट मेडिकल कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा विजिता अर्याल प्रथम भएकी छन् । विराट महोत्सव (विराट फिस्टा) अन्तर्गत शनिबार आयोजित कविता प्रतियोगितामा ‘आजको आज’ शीर्षकको कविता प्रस्तुत गरेर विजिता प्रथम भएकी हुन् ।
प्रतियोगितामा ‘खाली आँगन अनि हराएका खुसीहरू’ कविता वाचन गरेर श्रद्धा दाहाल द्वितीय हुँदा ‘गाँजा र मेरो देशको वेदना’ कविता वाचन गरेर जेनिशा परियारले तृतीय स्थान हासिल गरे । ‘सोच’ शीर्षकको कविता वाचन गर्ने हर्षवर्धन सिंह र ‘जनस्वास्थ्य एक समकालीन मुद्दा’ शीर्षकको कविता प्रस्तुत गरेर स्मृति अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कवि डा सूर्य पराजुली (एसपी लोचन) सदस्य रहेको निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो ।
मेडिकल कलेजमा एमबीबीएस, बीएससी नर्सिङ, नर्सिङलगायत विभिन्न विभागमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।
विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक डा सूर्य पराजुलीले जानकारी दिए । कार्यक्रममा प्रमुख निर्णायक नवोदितले मेडिकल अध्ययन गरेका व्यक्ति पनि साहित्य, गीतसंगीत र कला क्षेत्रको माथिल्लोस्तरमा पुगेको बताए ।
नेपाली साहित्यमा थुप्रै चिकित्सकहरू पनि साहित्य, कला र गीतसंगीतमा रहेको चर्चा गर्दै नवोदितले पाठ्यक्रमभित्रको अध्ययनसँगै बाहिर ज्ञानलाई पनि फराकिलो बनाउन आग्रह गरे । साहित्यिक अध्ययनमार्फत ज्ञानको भण्डारलाई वृहत्त बनाउन सकिने उनको विचार थियो ।
कार्यक्रममा कलेजका विद्यार्थी विपास्ना खरेल, साजन यादव, गौरव विकलगायतले गीत र अप्रतियोगी सिर्जना वाचन गरेका थिए ।
विराट महोत्सव अन्तर्गत कलेजले कविता प्रतियोगितासहित खेलकुद, हाजिरीजवाफलगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ । सबै प्रतियोगिताका विजेतालाई सोमबार कलेजले विशेष समारोह आयोजना गरेर पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नेछ । कलेजले गत वर्ष पनि विराट महोत्सव आयोजना गरेको थियो ।
View : 119
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved