Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पतालको नयाँ भवन निर्माणमा ढिलासुस्ती सम्झौता अवधि सकिदा ३० प्रतिशत मात्र काम

निर्माणको ठेक्का पाएको रमण कन्ट्रक्सन पवन महतो, भूमि कन्ट्रक्सन अभिनाश बोहोरा र डीआईपीएल कृष्ण बोहोराको नाममा रहेका कम्पनी हुन् । ठेकेदार सर्म्पक विहीन भएपछि अहिले भूमि कन्ट्रक्सनको साझेदार रमणले निर्माणको काम गरिरहेको छ ।
जुनु भट्टराई
१९ माघ २०८०, शुक्रवार

विराटनगर । कोशी अस्पतालको पाँच तले भवन निर्माणको सम्झौता अवधि सकिदा जम्मा काम ३० प्रतिशत मात्रै भएको छ । सम्झौता अवधि सकिएको एक महिना बितिसकेको छ, तर भवन निर्माणको काम भने ३० प्रतिशत मात्र भएको छ ।  उक्त भवन ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अब बाँकी ७०  प्रतिशत काम सम्पन्न  गर्न थप  १ वर्षको म्याद थप गर्ने तयारी गरिएको छ ।

अस्पतालको पूर्वाधार तथा स्वास्थ्य सेवा सुविधाको दीर्घकालीन स्तरोन्नतिका लागि अत्याधुनिक भवन निर्माणदेखि विशिष्टीकृत सेवामा अस्पताललाई अब्बल बनाउने गुरुयोजना अनुसार साढे ५ तले र १० तले गरी दुईवटा मेडिकल ब्लक निर्माण सुरु गरिएको थियो ।  

हाल आकस्मिक कक्षको छेउमा साढे ५ तले अत्याधुनिक भवन निर्माणको कार्य सुरुमा द्रुत गतिमा भए पनि ठेकेदारको बदमासीको कारण सम्झौता सकिएको १ महिना बितिसक्दा ७० प्रतिशत काम हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरले जनाएको छ । 

कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि २०७६ असार २३ मा सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो । 

उक्त साढे ५ तले संरचनासहित निर्माण भइरहेको भवन निर्माणको ठेक्का रमन/भूमि/डीआईपीएल जेभीले लिएको थियो । कुल ३३ करोड २२ लाख ४८ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको सो भवन २०८० पुस २३ गतेभित्र सकिनुपर्ने गरी सम्झौता भएको थियो । सम्झौतालगत्तै तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठबाट अस्पतालको शिलान्यास गरी भूमि कन्ट्रक्सनले भवन निर्माणको काम सुरु गरेको थियो ।  

कोशी प्रदेशकै विशिष्ट सेवा दिने अस्पतालको रुपमा रहेको कोशी अस्पतालको नयाँ भवनको निमार्ण कार्य सुरु गरेको केही महिनामै ठेकेदार सम्पर्कविहीन भएपछि निर्माण कार्य रोकिएको थियो ।

कामै रोकिएपछि ठेकेदार कम्पनीलाई इकाइले काम रोकिनुको कारणको बारेमा पटक–पटक पत्राचार गरेको जनाएको छ । निर्माणको ठेक्का पाएको रमण कन्ट्रक्सन पवन महतो, भूमि कन्ट्रक्सन अभिनाश बोहोरा र डीआईपीएल कृष्ण बोहोराको नाममा रहेका कम्पनी हुन् । ठेकेदार सर्म्पक विहीन भएपछि अहिले भूमि कन्ट्रक्सनको साझेदार रमणले निमार्णको काम गरिरहेको छ ।

लामो समयसम्म निर्माण कार्य रोकिएपछि पहिलो पटक म्याद थप गर्ने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर रमेशकुमार यादवले बताए । 

हाल बेसमेन्टको काम पूर्ण रुपमा सम्पन्न भइसकेकाले १ वर्षभित्रमा बाँकी काम सक्ने गरी थप नयाँ सम्झौता गर्न लागिएको  यादवले बताए । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका अनुसार निर्माण कम्पनीले हालसम्म ८ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी लिइसकेको छ ।

हाल ३ सय ५० शैयाको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शैया पुर्‍याउने तयारी गरिएको छ ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved