Biratnagar, Morang, Nepal
१ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

पुनर्गठनको माग गर्नेलाई कारबाही गर्ने ओलीको धम्की

‘अहिले देखिएको अनुशासनहीनता र अराजकतालाई हामीले रोक्नुपर्छ । पार्टी अफिसको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्ने ? चिया खाँदै, समोसा खाँदै अध्यक्ष हटाऊ भन्ने ? यस्तो अराजकता चल्दैन ।’
उद्‌घोष संवाददाता
३१ साउन २०८३, आइतवार

Advertisement

इलाम । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व त्यागेर पार्टी रुपान्तरण गर्नुपर्ने बहस उत्कर्षमा छ । यद्यपि अध्यक्ष ओली भने अझै पनि पार्टी पुनर्गठनको माग गरिरहेकाहरुलाई उल्टै कारबाहीको धम्की दिइरहेका छन् ।

पार्टी पुनर्गठन र रुपान्तरणको आवाजलाई उल्टै ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ को संज्ञा दिएर ओलीले अहिलेको मागलाई सरासर खारेज गरेका छन् । 

बरु पार्टी छाडेर जान चेतावनी दिंदै ओलीले अनुशासनहीनता सह्य नहुने धम्की पनि दिएका छन् ।

शनिबार इलामको फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र चलिरहेको रुपान्तरणको बहसप्रति तिखो टिप्पणी गरेका हुन् । 

‘पार्टीको कुरा गर्दा केन्द्रीय कमिटीदेखि तलसम्म, अध्यक्षदेखि साधारण सदस्यसम्म र आबद्ध सबै जनवर्गीय संगठनहरू मिलेर पार्टी बन्छ,’ ओलीले भने ‘पार्टी फुटेका बेला अनेक नेता गए पनि हामीले हैसियतका साथ पार्टीलाई उठायौं र सर्वाधिक लोकप्रिय पार्टी बनायौं । अहिले पार्टी फुटेको छैन, केही हुल्याहाहरूले हुलदङ्गा गरेका मात्र हुन् ।’ 

ओलीले गएको निर्वाचनमा कम भोट आएको विषय गम्भीर भएको उल्लेख गरे । 

‘२८ लाख भोट आएको ठाउँमा १४ लाख मात्र भोट आउनु गम्भीर कुरा हो,’ उनले भने ‘पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नु छ । साथीहरूलाई इमान्दार बनाउनु छ । पार्टी नबदल्ने, भोट बदल्ने जस्ता कुरा लाजमर्दो हो । यहाँको भात खाने तर काम अन्तै गर्ने ? यस्तो हुनुहुँदैन ।’ 

एमालेभित्र अहिले ओली पार्टी सचिवालयमै अल्पमतमा छन् ।   त्यसैले सचिवालय बैठक बोलाउन आनाकानी गर्दै उनले केन्द्रीय सदस्यहरुलाई मनाउने प्रयास जारी राखेका छन् । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका बहुसंख्यक पदाधिकारी आफ्नो विपक्षमा उभिएका बेला इलाम पुगेका उनले त्यसप्रति तीव्र रोष प्रकट गरेका हुन् । 

‘अहिले देखिएको अनुशासनहीनता र अराजकतालाई हामीले रोक्नुपर्छ । पार्टी अफिसको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्ने ? चिया खाँदै, समोसा खादै अध्यक्ष हटाऊ भन्ने ? यस्तो अराजकता चल्दैन,’ ओलीले अगाडि भने ‘हस्ताक्षर गर्दै हिंडेका छन्, तर यसको केही अर्थ छैन । महाधिवेशनको एउटा विधि, प्रक्रिया र समय हुन्छ । जतिबेला विरोधीले तीव्र प्रहार गरिरहेका छन्, त्यतिबेला सिंगो पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउमा भित्रैबाट यस्ता कुरा गर्नु बेकार हो ।’ 

उनले दृढ विश्वास राख्न कार्यकर्तालाई आग्रह गर्दै केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिने बताए ।

‘पार्टीको विरोध गरेर, सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिड्न पाइदैन । पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नु पर्छ । अर्को पार्टीमा जाने हो भने त्यहींको अनुशासन पालना गरे हुन्छ,’ ओलीको चेतावनी थियो ‘पार्टीमा काम नगर्ने हो भने घरै बसे हुन्छ । तर पार्टीमा काम गर्ने हो भने नीति, नियम र अनुशासन मान्नै पर्छ । सम्झाउँदा पनि नमान्नेलाई विधि र विधान अनुसार कारबाही गरिन्छ ।’ 

‘हामी धक्का खाएको र अप्ठ्यारो स्थितिमा छौं । तर महाधिवेशनले निर्वाचित गरेको यो केन्द्रीय कमिटी आफ्नो अभिभारा छोडेर भाग्नेवाला छैन । अत्यधिक मतले मलाई अध्यक्ष बनाउनुभएको छ ।

पार्टी अप्ठ्यारोमा पर्दा जिम्मेवारी फालेर भाग्ने मान्छे म होइन,’ ओलीले भने ‘अप्ठ्यारो परिस्थितिसँग जुधेर यहाँसम्म आएका हौं । अहिलेका यी उच्छृङ्खल तत्वहरूले आगो लगाउदा हामी भाग्ने होइनौं ।  यसको सामना गरिन्छ, पराजित गरिन्छ । फेरि जनता, देश र लोकतन्त्रलाई जिताइन्छ । संविधानको रक्षा र देशको विकास गरी समृद्ध नेपाल, सुखी नेपाली बनाइन्छ ।’ 
पार्टीमा कुनै ठूलो विग्रह हुनेवाला छैन भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पार्न खोजेका छन् । 

उनले भने ‘यहाँ उपस्थित थुप्रै केन्द्रीय सदस्यहरूको राय छ कि पार्टी बलियो, सुदृढ र एकताबद्ध हुनुपर्छ । यो भावनाका साथ पार्टी अगाडि बढ्छ । म दृढताका साथ अगाडि बढ्छु र साथीहरूलाई पनि ढुक्क भएर अगाडि बढ्न आग्रह गर्दछु ।’ 

कुनैबेला आफ्ना आलोचकहरुविरुद्ध अरिंगाल झैं खनिन आह्वान गनओलीले शनिबार इलाम पुगेर फेसबुकमा हार्न नहुने भन्दै कार्यकर्तालाई सक्दो लाग्न आह्वान गरेका छन् । 

‘हामीले कृषिमा, विकासमा अनेकौं कामहरु गरेका छौं । तर यी कुराहरू बिर्साउने प्रयासहरू भए, हल्ला गरिए । सामाजिक सञ्जालमार्फत देश भित्र र बाहिरबाट समेत हाम्रा विरोधीहरू लागे,’ ओलीले भने ‘मोबाइल फार्मिङदेखि अनेक प्रविधिको प्रयोग गरेर हामीलाई पछाडि पार्ने काम भो । हामीसँग जनशक्ति नभएको होइन, तर हाम्रा साथीहरूमा अलिकति जागरुकताको कमी देखियो ।’

यति धेरै मान्छेले एउटा राम्रो कुरालाई लाइक वा ठीक छ भनेर कमेन्ट मात्र गरिदिने हो भने विरोधीहरूले अर्को कमेन्ट गर्ने आँटै गर्दैनथे भन्दै ओलीले भने ‘तर उनीहरूका पेड मान्छेहरू छन्, जसले तुरुन्तै नकारात्मक कमेन्ट गरिहाल्छन् ।’ 

ओलीको थप आरोप थियो ‘उनीहरूको तरिका अश्लील र छाडा बोल्ने हुन्छ । कसैले सही कुरा ग¥यो भने परिवारमा मुख देखाउन नसक्नु बनाउने गरी गालीगलौच गर्छन् । यसले गर्दा हाम्रा साथीहरू डराउँछन् ।’  

अरुले गाली गरे भनेर अप्ठ्यारो नमान्न बरु जवाफ दिने, प्रतिवाद गर्ने र सही कुरा राख्ने काम गर्न भन्दै उनले कार्यकर्तालाई भने ‘खुकुरीका भरमा भिक्टोरिया क्रस पाउने, ज्यान फालेर लडेर विश्वव्यापी रूपमा वीर गोर्खालीको पहिचान बनाउने हामी, अनि फेसबुकमा एउटा स्टेटस लेखेर हार्ने ? फेसबुकमा हामी हार्ने ? डिस्लाइक, लाइक, कमेन्ट र सेयरसम्म गर्न नसकेर हामी हार्ने ? हामी हार्ने जातै होइनौं ।’

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved