विराटनगर । कोशी र मधेस प्रदेशबीच आर्थिक, औद्योगिक, पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहकार्य सुदृढ गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघले मधेस प्रदेशका प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्रलालसँग अन्तरप्रदेशीय छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष अनिलकुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा संघले स्थापनाकालदेखि आर्थिक, औद्योगिक, सामाजिक तथा स्थानीय पूर्वाधार विकासमा पु¥याउँदै आएको योगदानबारे प्रदेश प्रमुखलाई जानकारी गराइएको थियो ।
अध्यक्ष साहले विराटनगर–घिनाघाट सडक, कोशी अस्पतालको प्रसूति गृह, क्याम्पस तथा विमानस्थल प्रवेशद्वार निर्माणलगायतका कार्यमा संघले खेलेको भूमिका उल्लेख गरे । उनले मधेस प्रदेशको महोत्तरीमा आएको बाढी तथा वीरगञ्जको विपद्का समयमा संघले गरेको राहत सहयोगसमेत स्मरण गर्दै कोशी र मधेसबीच स्रोत–साधनको अधिकतम उपयोग, लगानी आकर्षण तथा व्यापार विस्तारका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताए ।
संघका निवर्तमान अध्यक्ष अनुपम राठीले कोशी र मधेस कृषि, उद्योग तथा पर्यटनका दृष्टिले ठूलो सम्भावना बोकेका प्रदेश भएको उल्लेख गर्दै उत्पादनमुखी व्यवसाय नीति ल्याउनुपर्नेमा जोड दिए ।
उनले बैंकिङ क्षेत्रमा पर्याप्त पुँजी रहे पनि उद्योगमा गुणस्तरीय उत्पादन क्षमता रहेको अवस्थामा उत्पादन वृद्धि हुने गरी नीति बनाउन, सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रण गर्न तथा भन्सार दर समायोजनमार्फत स्वदेशी उद्योग संरक्षण गर्न आग्रह गरे ।
संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले कोशी र मधेस जोड्ने सडक पूर्वाधार कमजोर हुँदा ढुवानी लागत र समय बढेको भन्दै करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न सकिने द्रुतमार्ग निर्माण गर्नुपर्ने बताए ।
विराटनगरबाट जनकपुर दुई घण्टा र वीरगञ्ज तीन घण्टामा पुग्न सकिने गरी सडक स्तरोन्नति गर्नुपर्ने, विराटनगर रेलवेलाई जनकपुरसम्म जोड्नुपर्ने, अव्यावहारिक मूल्य अभिवृद्धि कर पुनरावलोकन गर्नुपर्ने तथा दुवै प्रदेशका करका दरमा एकरूपता कायम गर्नुपर्ने सुझाव उनले दिए ।
कार्यक्रममा महासचिव अमितकुमार सारडाले उद्योगी–व्यवसायीका विद्यमान समस्या समाधानतर्फ ध्यानाकर्षण गराए ।
कार्यकारिणी सदस्य बन्दना जैनले महिला हितसम्बन्धी कानुनलाई थप सुदृढ गर्नुपर्ने तथा उद्योगी प्रविण नारायण चौधरीले नेपाली उत्पादनलाई भारतीय सीमावर्ती बजारमा पहुँच दिलाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्रलालले विराटनगरलाई आफ्नो दोस्रो घरका रूपमा स्मरण गर्दै रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनशील र रोजगारीमुखी बनाउन युवाको सहभागिता बढाउनुपर्ने बताए ।
उनले दुवै प्रदेशमा बन्द तथा जीर्ण अवस्थामा रहेका उद्योग पुनः सञ्चालन, औद्योगिक पुनरुत्थान तथा शिक्षा र स्वास्थ्य सेवा विस्तारमा अन्तरप्रदेशीय सहकार्य आवश्यक रहेको बताए ।
भूगोल र जनसांख्यिक अवस्थाअनुसार फरक–फरक नीति बनाउनुपर्ने, उद्योगको उत्पादन लागत घटाउने व्यवस्था गर्नुपर्ने तथा कृषि क्षेत्रमा प्रशोधन, प्याकेजिङ र ब्रान्डिङलाई प्राथमिकता दिँदै निजी लगानी आकर्षित गर्नुपर्ने उनको भनाइ थियो ।
प्रदेश प्रमुखले कोशी–मधेसका पर्यटन गन्तव्यको संयुक्त प्रचारप्रसार गर्दै विराट राजाको दरबारलगायत ऐतिहासिक सम्पदाको थप उत्खनन र संरक्षण गर्नुपर्ने बताए ।
वर्तमान अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर निजी क्षेत्रमैत्री रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रको सहकार्यबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved