Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
साहित्य

कृष्णभूषण बल सिर्जना सम्मानबाट तीन स्रष्टा सम्मानित हुने

उद्घोष सम्वाददाता
२१ मंसिर २०८१, शुक्रवार

विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०८० सालको तीन पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार शिवशंकर थापालाई  प्रदान गर्ने निर्णय गरेको छ । 

पाँच दशकदेखि नेपाली साहित्यको गीत विधामा दिएको योगदानका लागि थापालाई उक्त पुरस्कार दिइने निर्णय गरिएको हो । 

पुरस्कार राशि २५ हजार रहेको छ । यस अघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराँती, श्यामल, मञ्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे, दिनेश अधिकारी र शैलेन्द्र  साकार सम्मानित भइसकेका छन् ।

यसैगरी २०८० सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान, कवि तथा गजलकार प्रेम ओझालाई र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि शुभलक्ष्मी लम्साललाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । 

नेपाली साहित्यको कविता र गजल विधामा दिएको योगदानका लागि ओझा र लम्साललाई उक्त पुरस्कार सम्मान प्रदान गरिने निर्णय गरिएको हो । 

सो पुरस्कारबाट यसअघि कविहरू कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल, डा गीता त्रिपाठी, डा सुधा एम राई, सगुन सुसारा, विवश बलिभद्र कोइराला, रोशन परियार, उमेश लुइटेल पुरस्कृत भैसकेका छन् । सम्मान र पुरस्कारको राशि जनही क्रमशः १५ हजार र ११ हजार रुपैयाँको छ ।

प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको उपस्थिति र प्रतिष्ठानका उपाध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

पुरस्कार आगामी माघ २६ गते शनिबार विराटनगरमा समर्पण गरिने जनाइएको छ ।

View : 55

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved