सेवा आयोगमा तालावन्दी
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा नेविसंघद्वारा लगाइएको तालाबन्दीको विरोध गर्दै प्राध्यापकहरुले पठनपाठन बन्द गरी आइतबार धर्नामा बसेका छन् ।
नेविसंघले मोरङको सुन्दरहरैंचा गोठगाउँ स्थित सेवा आयोगको कार्यालयमा शनिबार तालाबन्दी गरेपछि सोको विरोध गर्दै आइतबार विहानका सबै पठनपाठन बन्द गरी प्राध्यापकहरु धर्नामा बसेका हुन् । पूवि प्राध्यापक संघ केन्द्रीय समितिको आह्वानमा धर्ना गरिएको जनाइएको छ ।
सेवा आयोगले गरेको विज्ञापनको शैक्षिक तर्फको आन्तरिक प्रतियोगिता अन्तर्गत विभिन्न विषयका प्राध्यापक र सहप्राध्यापक पदका लागि आवेदन दिई छनोट भएकाहरुलाई आइतबारदेखि अन्तर्वार्ताका लागि बोलाएको थियो । नेविसंघको तालावन्दी पछि सो अन्तर्वार्ता समेत स्थगित भएको छ ।
तालावन्दीको सन्दर्भमा पूवि प्राध्यापक संघले शनिबार नै एक विज्ञप्ति जारी सेवा आयोगमा लगाइएको ताला खोली अन्तर्वार्तालाई अविलम्ब सुचारु गर्न माग गरेको छ ।
सभापति यज्ञप्रसाद जमरकट्टेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधि,नियम, कानुनसम्मत भैरहेको बढुवा तथा आन्तरिक प्रतियोगिताप्रति अनावश्यक रुपमा हठात् भएको तालावन्दी न्यायोचित नभएकोले तत्काल उक्त तालाबन्दी खोली तोकिएको तालिका अनुसार शिक्षक तथा कर्मचारीको बढुवा तथा आन्तरिक प्रतियोगिताको कार्यलाई अविलम्ब सुचारु गराउन सम्वद्ध सरोकारवालाहरुलाई अनुरोध गर्दछु ।’
उता नेविसंघले केन्द्रीय समितिको नामबाट पाँच बुँदे माग राखी पूवि सेवा आयोगमा तालावन्दी गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नेविसंघसँग गरिएको सम्पूर्ण सम्झौता कार्यान्वयन गर्न, विधि प्रक्रिया मिचेर गरेको सम्पूर्ण परीक्षाहरु स्थगन गर्न, कालेकाले मिलेर खाउँ भाले भन्ने उखानलाई चरितार्थ नगर्न, आन्तरिक प्रतियोगितालाई बन्द गर्न, कार्यप्रणालीमा १०० प्रतिशत खुल्ला प्रतियोगिता व्यवस्था भएकोमा सो पदमा आन्तरिक बढुवा नगर्न माग गरिएको छ ।
नेविसंघका केन्द्रीय सदस्यहरु दिपेन रौनियार, सविन पराजुली, अंकित भट्टराई र अभिषेक भट्टराईद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा उक्त पाँच बुँदे माग यथाशीघ्र पूरा गर्न भन्दै तालावन्दी गरिएको जनाइएको छ ।
View : 683
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved