Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

रासस
२२ कार्तिक २०८०, बुधवार

काठमाडौं : कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिन थालेको हो ।

बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा ती खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।

व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकिन थालेको बताए । उनले खोपको म्याद सकिन थालेकाले अब प्रयोग गर्न नसकिने बताए । अहिले कोरोना भाइरसको महामारी पनि छैन । खोपको म्याद पनि सकिन थालेको छ । त्यसैले अब हामी प्रयोग गर्न सक्दैनौ, उनले भने ।

खोपको म्याद आगामी पुस ७ गतेसम्म मात्र छ । उनले खोप त्यतिकै खेर जान थालेपछि उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरिएको बताए । हामीले दुई पटकसम्म खोप के गर्ने भनेर मन्त्रालयलाई पत्राचार गरिसक्यौं, उनले भने, अब मन्त्रालयले जे गर्न निर्देशन दिन्छ  त्यही गर्दछौं ।

नेपालमा पहिलो र दोस्रो मात्रा खोप लगाउन मानिस नभएको र बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने भएपछि ४० लाख खोप प्रयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल गरी अन्य देशमा पठाउन अनुरोध भएको थियो ।

आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि खोप नलगाइको बताए । कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो ।

तर खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका थिए, उनले भने, खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले खोपको प्रयोग गर्न सकेनौ । त्यतिबेला बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो । डब्लुएचओले प्रयोग नगर्ने भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले खेर जान थालेको खोपबारे अझै निर्णय नभएको बताए । उनले चीन बाहेक अन्य देशमा पठाउन नसके यही खोपलाई ‘डिस्पोजल’ गरिने बताए । अहिलेसम्म नेपालमा छ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप आइसकेको छ ।

View : 161

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved