Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र मोरङ  क्याम्पसमा सहायक क्याम्पस प्रमुखका लागि आवेदन आह्वान

२३ असार २०८२, सोमवार

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले व्यवस्थापन सङ्काय (विहानी र दिवा सत्र)  र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत  रिक्त रहेका सहायक क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि आवेदन खुला गरेको छ। क्याम्पसले एक सूचना जारी गर्दै योग्य तथा इच्छुक प्राध्यापनरत शिक्षकहरूलाई दरखास्त पेस गर्न आह्वान गरेको हो।

 क्याम्पसद्वारा असार ९ गते गठित तीन सदस्यीय छनोट समितिका संयोजक प्राडा देवीबहादुर थापाद्वारा हस्ताक्षरित सूचनाअनुसार, व्यवस्थापन सङ्कायमा २०८१ असार १४ गतेदेखि रिक्त  रहेको पदका लागि र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा २०८२ साउन ४ गतेदेखि रिक्त हुने पदका लागि उम्मेदवार छनोट गरिने छ। यसका लागि त्रिभुवन विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को परिच्छेद २०, विनियम ४४ को उपविनियम ४  बमोजिमको योग्यता पुगेका महेन्द्र मोरङ क्याम्पसमा कार्यरत शिक्षकहरूले आवेदन दिन सक्नेछन्। सम्बन्धित अध्ययन संस्थान वा सङ्कायमा कार्यरत प्राध्यापकहरूलाई बढी ग्राह्यता दिइने क्याम्पसले जनाएको छ।

आवेदनका लागि आवश्यक कागजातहरूमा व्यक्तिगत विवरण, सह–प्राध्यापक वा उपप्राध्यापकको नियुक्ति तथा विश्वविद्यालयमा काम गरेको पूरा अनुभव वर्ष खुल्ने प्रमाणित कागजात, स्तरीकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख तथा स्तरीकृत भएका पुस्तकहरू एवं प्रतिलिपी अधिकारसम्बन्धी प्रमाणित सामग्रीहरू, विश्वविद्यालयका सम्बन्धित अध्ययन संस्थान वा सङ्कायसँग स्वार्थ बाझिने गरी कुनै पनि निजी शैक्षिक संस्थाहरूमा सम्बन्धित व्यक्ति वा निजको नजिकको नातेदारको समेत लगानी नभएको, नगरेको स्वघोषणा हुनुपर्ने छ । 

आवेदन क्याम्पसको कर्मचारी प्रशासन शाखामा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बुझाउन सकिनेछ। व्यवस्थापन सङ्काय तर्फका लागि २०८२ असार २२ गते देखि २०८२ असार २९ गतेसम्म। विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका लागि २०८२ साउन ४ गते देखि २०८२ साउन ९ गतेसम्म  आवेदन बुझाउन सकिने छ । ।

क्याम्पसले योग्य एवं इच्छुक प्राध्यापकहरूलाई तोकिएको समयभित्र आवेदन पेस गरी यस अवसरको सदुपयोग गर्न अनुरोध गरेको छ। 
छनोठ समितिमा सहप्राध्यापक ललीतनारायण मण्डर र सहप्राध्यापक डा उद्धव पोखरेल सदस्य छन् ।
 

View : 629

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved