विराटनगर । मोरङमा पछिल्लो तीन आर्थिक वर्षमा क्षयरोगका कारण १०५ जनाले ज्यान गुमाएका छन् ।
विश्व क्षयरोग दिवसका अवसरमा सोमबार स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यलय मोरडका क्षयरोग तथा कुष्ठरोग अधिकृत मुलकचन्द राजवंशीले प्रस्तुत गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०-८१ मा ३० जना र २०८१-८२ मा ४० जनाको मृत्यु भएको हो ।
चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा मात्रै थप ३५ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा अधिकांश १५ देखि ४९ वर्ष उमेर समूहका सक्रिय जनसंख्या रहेको राजवंशीले जानकारी दिए ।
संक्रमणको दर पनि जिल्लामा चुनौतीपूर्ण देखिएको छ । आर्थिक वर्ष २०८०-८१ मा १ हजार १५० जना संक्रमित रहेकोमा गत आर्थिक वर्ष २०८१-८२ मा यो संख्या बढेर १ हजार २२२ पुगेको थियो ।
चालु आर्थिक वर्षको पछिल्लो आठ महिना (साउनदेखि फागुन) सम्ममा मात्रै ९०९ जना नयाँ संक्रमितको पहिचान भइसकेको छ ।
विशेष गरी मोरङका सुन्दरहरैंचा, पथरीशनिश्चरे र उर्लाबारी क्षेत्रमा क्षयरोगका संक्रमितको संख्या बढी देखिएको छ ।
अधिकृत राजवंशीले जिल्लाका १७ वटै स्थानीय तहका १२३ वटा केन्द्रहरूबाट प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि सेवन (डट्स) सेवा सञ्चालन भइरहेको जानकारी दिए ।
अधिकृत राजवंशीले संक्रमितको संख्या बढ्नुले एकातिर स्वास्थ्य प्रणालीको पहुँच विस्तार भएको संकेत गरे पनि समुदायमा संक्रमणको जोखिम अझै उच्च रहेको बताए ।
कार्यक्रममा बागमती सेवा समाज मोरङका परियोजना संयोजक रामप्रवेशकुमार महतोले सरकारी स्वास्थ्य संस्थाहरूमा क्षयरोगको उपचार र औषधि पूर्ण रूपमा निःशुल्क रहेको स्पष्ट पारे ।
उनले चिकित्सकले तोकेको समयसम्म (कम्तीमा ६ महिना) नियमित औषधि नलिदा रोग झन् गम्भीर हुने र समुदायमा संक्रमण फैलने जोखिम रहने जानकारी दिए ।
सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्यलाई सफल पार्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा जोड दिइएको थियो ।
दुई हप्ताभन्दा बढी समय खोकी लाग्ने, साँझपख ज्वरो आउने र तौल घट्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा खकार परीक्षण गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
विराटनगर महानगरपालिका र विभिन्न स्वास्थ्य निकायहरूको समन्वयमा भएको उक्त कार्यक्रममा मोरङका सञ्चारकर्मीहरूले क्षयरोग मुक्त समाज निर्माणका लागि जनचेतनामूलक सन्देश प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालमा प्रत्येक वर्ष ६७ हजार नयाँ क्षयरोगका संक्रमित रहेको तथ्यांकले देखाएको छ ।
View : 150
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved