Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

नोबेलबाट पक्राउ परेका ११ जना नै छुटे

ब्यक्तिगत सम्बन्ध र चिनजानका आधारमा अस्पताल कम्पाउण्ड बाहिरका फार्मेसीबाट बिरामी तथा तिनका आफन्तले मगाउने गरेको औषधिमा रोक लगाउन प्रहरीले नै भूमिका खेलेको ब्यवसायीको आरोप छ । अस्पताललाई खुसी पार्न प्रहरीले बिना प्रमाण पक्राउ गरेका सबैलाई छाडेको ब्यवसायीले बताएका छन् ।
उद्‌घोष सम्वाददाता
२२ माघ २०८१, मङ्गलवार

विराटनगर । बाहिरका औषधि अस्पतालभित्र बन्देज गर्न नोबेल मेडिकल कलेजले पक्राउ गराएका ११ जना ब्यक्तिको कसुर नदेखिएपछि छुटेका छन् । विराटनगरको नोबेल अस्पतालले भर्ना भएका बिरामीलाई बाहिरबाट औषधि लगी दिनेहरूलाई समेत आइतबार पक्राउ गराएको थियो ।

बाहिरका पसलबाट औषधि अस्पतालभित्र जानबाट रोक्न अस्पतालले पहल गरेपछि आइतबार पक्राउ परेका सबै ११ जना सोमबार छुटेका हुन् । 

ब्यक्तिगत सम्बन्ध र चिनजानका आधारमा अस्पताल कम्पाउण्ड बाहिरका फार्मेसीबाट बिरामी तथा तिनका आफन्तले मगाउने गरेको औषधिमा रोक लगाउन प्रहरीले नै भूमिका खेलेको ब्यवसायीको आरोप छ । अस्पताललाई खुसी पार्न प्रहरीले बिना प्रमाण पक्राउ गरेका सबैलाई छाडेको ब्यवसायीले बताएका छन् ।

मेडिकल कलेजका मालिक तथा सांसद सुनिल शर्माका निकट अनिल शर्मा चौधरी अस्पतालको फार्मेसी प्रमुखका रुपमा नियुक्त भएपछि उनले प्रहरीको सहायतामा बाहिरका ब्यवसायी तथा तिनका कर्मचारीलाई पक्राउ गराएको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ परेका सबैलाई सचेत गराएर छाडिएको बताए । उनीहरूलाई प्रहरीले परिवारका आफन्तको जिम्मा लगाएको छ ।

नोबेलमा भर्ना भएका बिरामीको सम्पर्कमा रहेका वा आफन्तको चिनजानका फार्मेसीबाट भित्रका बिरामीलाई अँैषधि जाने गरेको थियो । 

छाडिएका ब्यक्तिहरूलाई अस्पतालमा आएका बिरामी र एम्बुलेन्सलाई प्रलोभन नदिने सर्तमा कागज गराइएको ब्यवसायी अजय पासवानले बताए । 

नोबेलले भाडामा लगाएका सटरमा पनि फार्मेसी सञ्चालनमा छन् । अस्पतालभित्र रहेको एटीएममा पैसा निकाल्न जानेलाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ ।

औषधि ब्यवसायी संघ मोरङका अध्यक्ष देशवन्धु ढकालले गलत गरेको पाईए कारवाही गर्न र निर्दोषलाई अनावश्यक हिरासतमा नराख्न संघले प्रहरीलाई आग्रह गरेको बताए ।

‘प्रदेश प्रहरीको ब्युरोले समातेको रहेछ, पक्राउ परेका मध्ये दुई जना हाम्रा ब्यवसायी थिए, एक जना त एटीएममा पैसा निकाल्न जाँदा पक्राउ परेका रहेछन्’ ढकालले भने । 

टाढाबाट आएका र बिरामीका लागि दौडने आफन्तको समस्या भएका बिरामीलाई औषधि अस्पतालभित्रै लगि दिएर बाहिरका कतिपय फार्मेसीले सुबिधा दिने गरेका छन् ।

View : 282

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved