Biratnagar, Morang, Nepal
२१ माघ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

नोबेल अस्पतालमा औषधिमा एकाधिकार, बिरामीलाई औषधि लैजाने ११ पक्राउ

उद्‌घोष सम्वाददाता
२१ माघ २०८१, सोमवार

Advertisement

विराटनगर । अस्पताल बाहिरका पसलबाट औषधिभित्र जानबाट रोक्न नोबेल मेडिकल कलेज विराटनगरमा बिरामीलाई औषधि पुर्याई दिने ११ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मेडिकल कलेजका मालिक तथा सांसद सुनिल शर्माका निकट अनिल चौधरी अस्पतालको फार्मेसी प्रमुखका रुपमा नियुक्त भएपछि उनले प्रहरीको सहायतामा यतिका मानिस पक्राउ गराएका हुन् । 

पक्राउ पर्नेमा औषधि ब्यवसायी र फार्मेसीका कर्मचारी छन् । नोबेलमा भर्ना भएका बिरामीको सम्पर्कमा रहेका वा आफन्तको चिनजानका फार्मेसीबाट भित्रका बिरामीलाई औषधि जाने गरेको थियो ।

‘नोबेलमा फार्मेसीको जिम्मा लिने गरी चौधरी आएपछि उनले प्रहरीको सहयोगमा मानिस पक्राउ गराए’ स्रोतले भन्यो ‘फार्मेसीका लागि सटर भाडामा दिने नोबेलले त्यहीँ व्यवसाय गर्नेलाई पक्राउ गराएको हो ।’

नोबेलका मालिक शर्मा र चौधरीको निकट सम्पर्कमा रहेका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीको सहयोग लिएर मानिस पक्राउ गराइएको स्रोतको दाबी छ ।

प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयबाट पक्राउ गर्न आएको सुरक्षाकर्मीलाई जिल्लाको टोलीले सहयोग गरेको हो । पक्राउ पर्नेमा क्याप्सुल फार्मेसीका सञ्चालक नगेन्द्र यादव, रोयल केयर फार्मेसीका दाजुभाइ सञ्चालक दिपेन रौनियार र मुस्कान रौनियार, सुपर केयर फार्मेसी, सेफवे फार्मेसी, आहान मेडिकललगायतका कर्मचारी छन् । 

औषधि ब्यवसायी अजय पासवानले चिनजानका बिरामीलाई शøयामै औषधि लगि दिएर सहयोग गर्नेहरु पक्राउ परेको बताए ।

औषधि ब्यवसायी संघ मोरङका अध्यक्ष देशवन्धु ढकाल पक्राउ परेकाहरु औषधि ब्यवसायी संघ र औषधि ब्यवस्था विभागमा दर्ता भएको र संघको हितमा रहेको भए उनीहरुको पक्षमा वकालत गरिने बताउँछन् । 

‘संघलाई बद्नाम गराउने खालका मानिस छन् भनें कारवाहीको पहल गरिन्छ, निर्दोष भए उनीहरुको रिहाइको पहल गरिन्छ’ उनले भने । उनीहरुको पक्राउबारे संघलाई औपचारिक जानकारी भने नआएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई पनि प्रभावमा पारी बाहिरको औषधि खरिद गर्न लगाएको र चिकित्सकहरुबाट कमिशन खाएर अस्पतालभित्र औषधि लैजाने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा राखिएको बताएका छन् ।

औषधि ब्यवसायीका अनुसार अस्पतालका चिकित्सकले पसलबाट नभई औषधि सिफारिस गरे बापत औषधि कम्पनीबाट कमिशन पाउने गरेका छन् ।

View : 170

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved