भोटेकोशी बाढी :
विराटनगर । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका जलविद्युतका कर्मचारी र कामदारहरूको उद्धारको प्रयास जारी राखेको छ ।
सुरुङभित्र फसेकाहरूको जीवितै उद्धार सम्भव रहेका कारण सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ । तर, पर्याप्त प्राविधिक जनशक्ति र उपकरणको अभावमा उद्धार प्रयास सोचे अनुसार अघि बढ्न सकेको छैन । शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने काम अघि बढेपनि अनेकौं प्राविधिक जटिलताले चुनौती भइरहेको छ ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र पनि कर्मचारी र कामदार फसेका छन् । शनिबार खोज तथा उद्धारमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका पर्वतारोही तथा सिम्रिक हेलिकप्टरको टोलीले सुरुङभित्र पुगेपनि छातीसम्म हिलो भरिएका कारण उद्धार प्रभावित भएको जनाएको छ ।
टोलीले सुरुङभित्रको अवस्थाको निरीक्षण गर्दा गहिरो हिलो, माटो तथा लेदोले सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।
डोरीको सहायताले सुरुङको १३० मिटरभित्रसम्म पुगेको तर छातीसम्म आउने हिलोका कारण अघि बढ्न कठिन भएपछि उद्दार प्रभावित भएको जनाइएको छ ।
लेदो भरिएको ठाउँमा मोटर पम्पबाट प्रयोग गरी जतिसक्दो छिटो लेदो हटाउन सकियो त्यति धेरै उद्धार प्रयास सफल हुने टोलीले जनाएको छ ।
सुरुङभित्र मानिसहरू फसेको सूचना लगातार आए पनि त्यहाँसम्म यातायात पहुँच पूर्ण रुपमा अवरुद्ध हुँदा सवै कुरा हेलिकप्टरबाट पुर्याउन कठिन भइरहेको छ ।
त्रिशुली–३ ‘ए’ मा सुरुङको मुख नै पुरिएका कारण मुख खोल्ने काममा नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका गरी २० जना सुरक्षाकर्मी संलग्न ८२ सदस्यीय संयुक्त टोली निरन्तर खटिएको छ । तर प्रतिकूल मौसम, उपकरण अभाव लगायतका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।
सुरुङभित्र फसेका मानिसहरूलाई सकुशल उद्धारको प्रयासस्वरुप शनिबार मात्रै भारत र चीनको प्राविधिक विशेषज्ञ टोली त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गरेपश्चात अवस्थाको मूल्याङ्कन गरेको जनाइएको छ ।
६ सदस्यीय चिनियाँ सुरुङ विशेषज्ञ टोली पनि माथिल्लो त्रिशुली–१ (२१६ मेगावाट) को सम्पर्कमा पुगेको छ । उक्त टोलीले शनिबार सुरूङको प्राविधिक पक्षबारे जानकारी लिएको जनाइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका मध्ये हालसम्म २७९ जनाको उद्धार गरिएको दाबी प्रस्तुत गरेका छन् । उनले नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको जानकारी दिएका छन् ।
भोटेकोशी बाढीका कारण भोटेकोशी करिडोरका ११ जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९८ जना कर्मचारी तथा कामदार अहिलेसम्म पनि सम्पर्कविहीन रहेको सरकारी निकायकै भनाइ छ ।
निजी विद्युत् उत्पादकहरूको संस्था इप्पानका अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली–१ मा कार्यरत ५७६ जना कर्मचारी सम्पर्कविहीन छन् ।
रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना बेपत्ता रहेका छन् । रसुवा–भोटेकोशी जलविद्युत् आयोजनामा चार जना र लाङटाङ खोला जलविद्युत आयोजनाका ४२ जना बेपत्ता छन् । चिलिमे हाइड्रोमा आठ जना र मेलुङ खोला जलविद्युत् आयोजनामा सात जना वेपत्ता रहेको इप्पानले जनाएको छ ।
उता, नुवाकोटतर्फ सबैभन्दा धेरै मानिस माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजनामा बेपत्ता छन् । यस आयोजनाका १२२ जना बेपत्ता रहेको जनाइएको छ ।
माथिल्लो त्रिशूली ३ ‘ए’ का ४२ जना सम्पर्कविहीन छन् । मिडिल त्रिशूली गंगामा दुई जना, त्रिशूली जलविद्युत् आयोजना र देविघाट जलविद्युत एक–एक जना बेपत्ता रहेको इप्पानले जनाएको छ ।
अपर त्रिशूली–१, अपर त्रिशुली–३ ‘ए’ र ३ ‘बी’ को सुरुङमा मात्रै ३०० जना फसेको इप्पानले जनाएको छ । जसमध्ये त्रिशूली ३ ‘बी’ आयोजनाबाट भने ९१ जनाको जीवित उद्धार भइसकेको छ ।
View : 52
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved