विराटनगर । मोरङ व्यापार संघले यसपटकदेखि आफ्नै नामको ब्राण्डमा एक्स्पो अर्थात उद्योग व्यापार मेला आयोजना गर्दैछ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा शुक्रबारदेखि मोरङ व्यापार संघ एक्स्पो–२०२३ (एमबीएस एक्स्पो–२०२३) सुरु हुने भएको हो । एक्स्पोको नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहका बीच उद्घाटन गर्ने तयारी भइरहेको जनाइएको छ ।
संघले विसं २०५३ मा कोशी महोत्सव आयोजना गरेयता विभिन्न नाममा महोत्सव तथा एक्स्पोहरु गर्दै आएको थियो । संघले पूर्वाञ्चल औद्योगिक व्यापार मेला (२०५७), विराट महोत्सव (२०६२), विराट महोत्सव (२०७०), विराट ट्रेड एक्स्पो–२०१८ (२०७५), विराट ट्रेड एक्स्पो–२०२२ (२०७८) सफलतापूर्वक आयोजना गरिसकेको छ ।
संघका अध्यक्ष नवीन रिजालले मुलुकको आर्थिक मेरुदण्ड रहेका उद्योग/व्यवसायको हकहित, संरक्षण एवं औद्योगिक क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि यस पटकदेखि संघकै नामबाट एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
उनले मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यले विगतकै अनुभव र सिकाईहरुलाई प्रयोग गर्दै यस पटक पनि मध्य विराटनगरमा अन्तर्राष्ट्रियस्तरको एक्स्पो आयोजनाको सवै तयारी पूरा भएको जानकारी दिए । पुस १६ समेतसम्म आयोजना हुने एक्स्पोमा स्वदेशी उत्पादनहरुसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवर्द्धन र विकासलाई जोड दिइएको जनाइएको छ ।
‘आर्थिक गतिविधिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य राखेर ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएका छौं’ अध्यक्ष रिजालले भने, ‘मेला, महोत्सव र एक्स्पोहरुले स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धन, नेपाल व्यापार रणनीति निर्माण र कोशी प्रदेशमा उत्पादित वस्तुहरुको अन्तर प्रादेशिक उत्पादन प्रवर्द्धन पनि हुने आपेक्षा छ, त्यसका लागि सवै तयारी पूरा भएको छ, सम्माननीय प्रधानमन्त्रीले उद्घाटन गर्नुहुँदैछ ।’
एक्स्पोले कोशी प्रदेशकै पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसारमा पनि महत्वपूर्ण योगदान गर्ने उनले बताए । मोरङ–सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन तथा अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने मुख्य उद्देश्यले एक्स्पो आयोजना भएको रिजालको भनाइ छ ।
एक्स्पोका संयोजक एवं संघका उपाध्यक्ष अनिलकुमार साहले ३० हजार वर्ग फिटको नेपालकै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङ्गर प्रयोग गरेर स्टलहरु निर्माण गरिएको बताए । करीव ४ करोडको लागतमा एक्स्पोको तयारी भइरहेको जानकारी दिए ।
१० करोड बढीको कारोबार हुने अपेक्षा लिइएको साहले बताए । उनले महोत्सवलाई आकर्षक बनाउन प्रवेशद्वारमा पशुपतिनाथ र स्वयम्भू झल्किने प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार निर्माण गरिएको जनाइएको छ ।
त्यसैगरी एक्स्पो स्थलभित्र फ्रान्सको पेरिस शहरमा रहेको आइफिल टावरको झल्को दिनेगरी ५५ फिट अग्लो आइफिल टावर निर्माण गरिएको छ । एक्स्पोमा उन्नत जातका माछाका भुरादेखि भारतबाट ल्याइएको मुर्रा भैंसीसमेत प्रदर्शनमा राखिने जनाइएको छ ।
अवलोकनकर्ताहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती कमाएका कलाकारहरुले साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु दिने जनाइएको छ । त्यसका साथै सेल्फीजोन, किड्स जोन पनि आकर्षणका रुपमा रहने संयोजक साहले बताए ।
खानाका पारखीहरुलाई इटहरीस्थित पाँचतारे सोल्टी होटलको खाद्य परिकारको स्वाद एक्स्पो स्थलमै प्रदान गरिनेछ । त्यसैगरी बंगुरको मासुको डामेको परिकार समेत राखिने जनाइएको छ ।
एक्स्पोमा नेपाली उद्योगी व्यवसायीहरुका साथै भारत, बंगलादेश, पाकिस्तान लगायतबाट उत्पादनहरुको प्रदर्शन र विक्री वितरण हुने जनाइएको छ ।
दैनिक रुपमा सुप्रसिद्ध कलाकारहरुको प्रस्तुति राखिएका कारण दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।
एम्स्पोको सह–आयोजकमा कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिका रहेका छन् । डायमण्ड स्पोन्सरमा महासैन दी हट्टी (एमडीएच) मसला, श्री कृष्ण ट्रेडर्स विराटनगर रहेको जनाइएको छ ।
गोल्ड स्पोन्सरमा खुकुरी रम, नेपोभिट टायल्स्, टुपीएम स्न्याक्स नुडल्स्, सेन्चुरी स्पाईसेस एण्ड स्न्याक्स र डेल्डा टायर एण्ड ट्युब्स् रहेका छन् । सिल्भर स्पोन्सरमा रिजालको सीपीभीसी, पीभीसी, एचडीपीई पाईप, म्याजिक फुटवेयर र राठी एफआरएलएस केवल रहेका छन् ।
एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएसन, नेपाल घरेलु तथा साना उद्योग महासंघ, विराट व्यापार संघ र प्याब्सन विराटनगरले समेत सहयोग गरेको जनाइएको छ ।
View : 141
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved